हङकङका एक स्थानीय वित्तीय कर्मचारी वाइ लि हतारहतार शहरकै सबैभन्दा व्यस्त मन्दिर वङ ताइ सिन जाँदै थिइन् । उनलाई आफ्नो भविष्यवाणी जो सुन्नु थियो ।
काउ चिम नामक भविष्यवाणी गरिने अभ्यास त्यहाँ अत्यन्तै प्रख्यात छ । यस अभ्यासमा एउटा बट्टामा बाँसका लौरीहरु, ‘फच्र्युन स्टिक’ लाई १ देखि १०० सम्मको अंक दिएर राखिन्छ र जोरले हल्लाइन्छ जबसम्म एउटा लौरी भूइँमा झर्दैन । हरेक लौरीसँग कुनै न कुनै कथा जोडिएको हुन्छ । भविष्यवाणी गर्न बसेकाहरुले झरेको लौरीको आधारमा व्यक्तिको भविष्य बताउँछन् ।
सोही अनुरुप लि पनि मन्दिरको प्रवेशद्वार अघि राखिएको चकटीमा घुँडा टेकेर बस्छिन्, आँखा बन्द गर्छिन् र ‘फच्र्युन स्टिक’ राखिएको बट्टा हल्लाउन थाल्छिन् । यसो गर्दैगर्दा उनी मनमनै ती प्रश्नहरु सोच्छिन् जसको उत्तर उनी चाहन्छिन् । केही मिनेटपछि २४ नम्बरको लौरी भूइँमा झर्छ । त्यसपछि त्यो लौरी लिएर उनी मन्दिरको भविष्यवाणी कक्षतिर जान्छिन् जहाँ उनको भेट २० वर्षदेखि भविष्यवाणी गरिरहेका मास्टर जोसेफसँग हुन्छ । जोसेफले लिको लौरीलाई उनको करियरसँग जोडेर व्याख्या गर्छन् । मास्टर जोसेफले लिलाई त्यस वर्ष कुनै किसिमको बढुवा वा तलब वृद्धिको आशा नराख्ने सल्लाह दिन्छन् र काममा केही तनावपूर्ण अवस्थाको सामना गर्नुपर्ने पनि बताउँछन् । समग्रमा लिको वर्ष औसत रहने बताउँछन् उनी ।
पहिला पनि त्यस मन्दिरमा नियमित गइरहने र यसअघिका भविष्यवाणीहरु पनि वास्तविक जीवनसँग ठ्याक्कै मेल खाने भएकाले लिलाई जोसेफको कुरामा विश्वास हुन्छ । उनी भन्छिन्, ‘वङ ताइ सिनले मलाई कहिल्यै निराश बनाएको छैन, यहाँको भविष्यवाणी सबै मिलिरहेको हुन्छ ।’
लि धार्मिक छैनन् तर, सो मन्दिरमा हरेक दिन आउने १० हजार भक्तजन जस्तै उनी पनि स्थानीय अन्धविश्वासी अभ्यासप्रति सकारात्मक धारणा राख्छिन् । ‘वास्तवमा हङकङका अधिकांश व्यक्ति कुनै न कुनै तरिकाले अन्धविश्वासी नै छन् । प्राय मानिसहरु कि राम्रो भाग्यका लागि या त नराम्रो भाग्यबाट बच्नका लागि तौरतरिकाहरु अपनाउँछन्,’ लि भन्छिन् ।
अन्धविश्वासकै कारण आफूले भर्खरै एउटा अपार्टमेन्ट खरिद नै नगरेको लि सुनाउँछिन् । भारी छुटमा उक्त अपार्टमेन्ट पाएतापनि त्यसको नम्बर १४०४ भएका कारण उनी त्यहाँ बस्न रुचाइनन् ।
‘४’ अंकसँग सम्बन्धित जेसुकैसँग टाढिन खोज्ने लि एकमात्र व्यक्ति भने होइनन् । अंक ४ सँगको यस्तो डरलाई भनिन्छ ‘टेट्राफोबिया’ । क्यान्टोनिज भाषामा ‘४’को उच्चारण मृत्यु शब्दसँग मिल्दोजुल्दो भएकाले अंक ४, १४, २४ लाई अशुभ मानिन्छ । अपार्टमेन्ट, कार्यालय, होटल साथै अस्पतालमा समेत ४ भएका अंकलाई कोठा नं का रुपमा प्रयोग नै गरिँदैन ।
‘यो एक प्रख्यात अन्धविश्वास हो,’ हङकङमा १० वर्षदेखि फेङ सुइ मास्टरका रुपमा कार्यरत जोन चोय भन्छन्, ‘म बस्ने अपार्टमेन्टमा पनि ४० देखि ४९ सम्मको अंक भएका कोठा नै छैनन्, ३९ देखि एकैचोटी ५० नम्बर आउँछ र ४, १४, २४, ३४ वा ५४ रुम नं पनि छैनन् ।’
अंकको अन्धविश्वास सँगै हङकङको भवन तथा घरहरुको बाहिर देखिने अर्को नजारा हो टु डि गंग मन्दिरहरुको । सामान्यतया घरको प्रवेशद्वार बाहिर हुने यो मन्दिर माटो र जमिनका देव भनेर चिनिने चाइनिज देवता टुडि गंगप्रति समर्पित गरिएको हो । जसले उनको जमिनलाई नकारात्मक उर्जा र भूतप्रेतबाट टाढा राख्दै त्यहाँ बस्ने परिवारको रक्षा गर्छन् भन्ने जनविश्वास रहिआएको छ ।
‘यहाँका धेरै मानिसहरु यो विश्वास गर्छन् कि भगवान तथा आत्माहरुमा दैविक शक्ति हुन्छ जसले मानिसको भाग्य बदल्न सक्छ,’ चोय अगाडि थप्छन्, ‘यहाँका धेरै पसलका प्रवेशद्वारहरुमा पनि टुडि गंग देख्न सकिन्छ जसले नकारात्मक व्यक्तिहरुलाई त्यहाँ छिर्नबाट रोक्छ भन्ने मान्यता छ ।’
चोयका अनुसार शहरमा अत्यन्तै प्रतिस्पर्धा बढेकाले गर्दा पनि मानिसहरु आफ्नो भाग्य अजमाउन खोज्छन् र अवसरको दायरा फराकिलो बनाउन चाहन्छन् ।
‘यस्तो प्रतिस्पर्धाको माहोलमा कसरी अरु भन्दा राम्रो गर्ने त ?’ चोय आफै उत्तर दिन्छन्, ‘फेङ सूइको मद्दतले आफ्नो भाग्य सुधारेर ।’
फेङ सूइको शाब्दिक अर्थ हो, ‘हावा र पानी’ । यो एक प्राचीन चिनियाँ अभ्यास हो जसमा विभिन्न उर्जाको प्रयोग गरेर व्यक्तिको वातावरण र उसमा तालमेल कायम गरिन्छ र उसको स्वास्थ्य र भाग्यलाई सुधार्ने प्रयास गरिन्छ । चीनमा यो अभ्यासमा रोक लगाएपछि त्यहाँका अधिकांश फेङ सूइ मास्टरहरु हङकङ आएको र केही ताइवान पनि पुगेको सुनाउँछन् चोय ।
अहिले हङकङमा यो अभ्यास निक्कै प्रचलित भएको र ४० प्रतिशत भन्दा बढी भवन निर्माण गर्नेहरुले आफूजस्तै फेङ सूइ मास्टरहरुसँग परामर्श लिने गरेको चोय बताउँछन् ।
फेङ सूइ प्रक्रियाद्वारा निर्माण गरिएका भवनका कारण कहिलेकाहीँ निकै विवाद पनि मच्चिन्छ । दि बैंक अफ चाइनाको गगनचुम्बी भवनको बनावट कुनै ब्लेडसँग मिल्न जाने र त्यसको नकारात्मक उर्जाले वरिपरिका अन्य भवनहरुको भाग्य काट्ने गरेको आरोप छ । अझ अचम्मको कुरा त के भने त्यसको छिमेकमा रहेको एचएसबिसीको भवनले सो उर्जाबाट बच्न आफ्नो छतमा दुईवटा तोपजस्तो संरचना बनाएको छ ।
सन् १९८९ मा बैंक अफ चाइनाको भवन निर्माण भइसकेपछि एचएसबिसीको शेयर मूल्य इतिहासकै कम भएको थियो । त्यसपछि नै बैंक अफ चाइनातिर फर्काएर तोप जस्तो संरचना बनाइयो र त्यस दिनदेखि एचएसबिसीको सधै प्रगति मात्र भइरहेको किस्सा प्रचलित छ ।
फेङ सूइसँग परामर्श लिएर एचएसबिसीले सुरक्षा, सम्पत्ति र सम्मानको प्रतीक रुवरुप प्रवेशद्वारमै दुईवटा सिंहको मूर्तिसमेत बनायो । पैदलयात्रीहरु विश्वकै छैटौं ठूलो बैंकका रुपमा स्थापित एचएसबिसीका द्वारमा अवस्थित सिंहका नाक र पञ्जा मुसार्छन् यो आशमा कि आफूमा पनि त्यहाँको भाग्य सर्छ ।
चोयका अनुसार फेङ सूइले आशिर्वाद दिएको संरचना वा सामाग्री छुनु शुभ मानिन्छ ठिक त्यसैगरी जसरी भाग्यमानी व्यक्तिसँग संगत गर्दा अवसरका ढोकाहरु ख्ुल्छन् भन्ने विश्वास छ ।
हङकङको अन्धविश्वासले जीवित रहुन्जेल मात्र नभएर मृत्युपश्चात् पनि पछ्याउँछ । पूर्वजहरुप्रति सम्मान व्यक्त गर्न हरेक वर्षको अप्रिलमा मनाइने किङमिङ पर्वमा जोस पेपरलाई पैसा, कपडा, घर लगायत मोबाइल फोन, टिभी जस्ता ग्याजेटको प्रतिनिधि मानेर जलाइन्छ । त्यस्ता सामाग्री जलाउनाले मृतकको भावी जीवन सुखी र समृद्ध हुन्छ भन्ने मान्यता रहिआएको छ ।
‘हामीले आफ्ना पूर्वजहरुको मृत्युपश्चात् पनि ख्याल राख्यौं भने उनीहरुले पनि हामीलाई बदलामा आशिर्वाद दिन्छन्,’ चोय अगाडि थप्छन्, ‘मैले पनि मेरा बुबाको मृत्युपछि धेरै थोक जलाएँ । समाजको चालचलन त मान्नैप-यो नि ।’
यति विकसित र आधुनिक शहर हुनुका बावजुत हङकङमा यस्ता विभिन्न किसिमका अन्धविश्वासहरु इमान्दारीपूर्वक किन मनाइन्छ भन्ने रहस्य अझै पनि सुल्झिएको छैन । तर, १५० वर्षसम्म बेलायतको उपनिवेश रहेकाले हङकङले पूर्वीय र पश्चिमा दुवै समाजको संस्कृतिलाई अँगालेको छ जसकारण यहाँका बासिन्दाहरुले दुवैतिरको अन्धविश्वास मान्दै आएको हुनसक्ने अनुमान छ ।
उदाहरणका लागि हङकङका मानिसहरु सिँढीमुनिबाट हिँड्न रुचाउँदैनन्(पश्चिम समाजमा यसलाई अशुभ मानिन्छ) त्यसैगरी, उनीहरु घडीलाई उपहारका रुपमा दिँदैनन्(चीनमा यसो गर्नुलाई अशुभ मानिन्छ) ।
नेसनल यूनिभर्सिटी अफ सिंगापुरका प्रोफेसर यान झांगका अनुसार मानिसहरुले आफ्नो जीवन र परिवेशमा आफ्नो नियन्त्रण कायम गर्न चाहने भएकाले नै अन्धविश्वास मान्छन् । अन्धविश्वासी काम गर्दा उनीहरुलाई गरेको काम सफल नहुने जस्तो तनाव नै हुँदैन । ‘धर्म, अन्धविश्वास र विज्ञान यी तीन चीजले व्यक्तिलाई नियन्त्रण र सहजताको अनुभूति गराउँछ,’ झांग भन्छन्, ‘हङकङ धार्मिक स्थल नभएकाले यहाँ कि विज्ञान कि अन्धविश्वासमा विश्वास गर्नुप-यो ।’
यहाँको अन्धविश्वास जरैबाट हट्न अझै निक्कै समय लाग्ने कुरामा विश्वस्त छन् झांग । उनका अनुसार समयसँगै यस्ता विश्वास परिमार्जित हुँदै जान सक्छन् तर, पूर्ण रुपमा उन्मूलन हुन भने गाह्रै पर्छ ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया