मुख्यमन्त्री शाहीद्वारा शुभकामना सन्देश

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिएका छन् ।

‘कोभिड‑१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता’ भन्ने मूल राष्ट्रिय नारासहित मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली प्रदेशवासी एवं समस्त नेपाली नागरिकमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, “नेपालको राजनीतिक परिवर्तनका लागि अपाङ्गता हुनुभएका दाजुभाई दिदीबहिनीले गरेको योगदानको स्मरण गर्दै उनीहरुप्रति सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु, संविधानले अपाङ्गता भएका नागरिकलाई अन्य नागरिक सरह राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सम्पूर्ण अधिकारको सुनिश्चित गरेको छ, विभिन्न कारणले अपाङ्गता भएका कर्णाली प्रदेशवासी सबै नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, पुनःस्थापना, न्याय तथा सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।”

अपाङ्गता भएका व्यक्तिमा अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सङ्घीय र स्थानीय तहका सरकारसँगको समन्वयमा आवश्यक नीति, योजना, कार्यक्रम र बजेट निर्माण गरी कर्णाली प्रदेश तथा समग्र राष्ट्रको विकासको मूलप्रवाहमा समेट्न प्रदेश सरकार तत्पर रहेको जनाएका छन् ।

कोभिड‑१९ ले सिर्जना गरेको असहज परिस्थितिका कारण यो दिवसलाई सामूहिक भेला भई मनाउन सक्ने अवस्था नभएकाले वैकल्पिक माध्यमको प्रयोग गरी अपाङ्गतासम्बन्धी सामाजिक सचेतना निर्माण गर्ने, अपाङ्गता भएका नागरिकको हक अधिकारका लागि विचार विमर्श एवं पैरवी कार्यमा लाग्न सबैलाई आग्रह गरेका मुख्यमन्त्री शाहीले यो दिवसले अपाङ्गता भएका नागरिकलाई हेला होचो र हेयका दृष्टिले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउने प्रेरणा मिलोस भन्ने शुभेच्छा प्रकट गरेका छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?