काठमाडौं । यस साता दोस्रो बजारमा दिनाहुँदिन नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । कारोबार रकमको उछाल, परिसूचकमा देखिएको बुलिस ट्रेण्डले लगानीकर्तालाई नयाँ उत्साह थप्दै गएको छ ।
गत साताको विहीवार १८९३.२४ अंकको विन्दुमा बन्द भएको बजार यस साताको अन्तिम कारेबार दिन बिहीवार २०५५.४६ अंकको विन्दुमा बन्द भएको छ ।
यस साताको ५ कारोबार दिनमध्ये ४ दिन शेयर बजारमा हरियाली छाएको थियो भने १ दिन शेयर बजारमा रातो पोत्तिएको थियो । ४ दिन बढेर १ दिन घटेको बजारमा नेप्से परिसूचक १६२.२२ अंकले उकालो लागेको छ ।
यस साता नेप्से २००० अंकको विन्दुलाई पार गर्दै अगाडी बढिरहेको छ । नेप्से परिसूचकमा त नयाँ नयाँ किर्तीमान बन्ने क्रम जारी नै रहेको छ । साथै, कारोबार रकमले पनि परिसूचक लाई साहायता पुर्याईरहेको छ । यस सातको ५ कारोबार दिनमा ४० अर्ब ९८ करोड ८७ लाख २४ हजार ४ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
शेयर संख्याका आधारमा पनि एकै साता १० करोड कित्ता भन्दा धेरैको कारोबार भएको छ । यस साता १० करोड ११ लाख ६७ हजार ३ सय ९४ कित्ता शेयरको खरिदबिक्री भएको छ ।
बजार पूँजीकरण पनि हालसम्मकै उच्च विन्दुमा रहेको छ । यस साताको अन्तिम कारोबार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण पनि २७ खर्ब ५५ अर्ब ०६ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ कायम भएको छ ।
कुन दिनको कारोबार कस्तो ?
आईतवार
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको थियो । गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आइतबार ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको थियो । सेन्सेटीभ परिसूचक पनि १८ दशमलव ७६ अंकले बढेर ३ सय ८३ दशमलव ९३ अंकमा बन्द भएको थियो । कारोबार रकमले पनि अहिले सम्मकै नयाँ किर्तिमान कायम गरेको थियो । दिनभर २ सय कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिद विक्री भएको थियो । पछिल्लो समय शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका थिए । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ । कारोबारमा आएका समूह मध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका थिए । त्यस बाहेकका सबै समूह बढेका थिए । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका थिए । बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको थियो ।
सोमवार
सोमवार पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको थियो । सोमवार शेयर बजार परिसूचक नेप्से २८.७९ अंकले बढेर १९९७.०६ अंकमा बन्द भएको थियो । प्रि ओपेनिङ्ग सेसनमा २ हजारको विन्दु पार गरेको परिसूचक अन्त्यमा १.४६ प्रतिशतको वृद्धिसँगै बन्द भएको थियो । त्यस्तै सेन्सिटिभ इन्डेक्स १.६३ अंकले बढेर ३८५.५७ अंकको विन्दुमा सोमवारको बजार बन्द भएको थियो । करिब डेढ प्रतिशतले बढेको बजारमा ४ समूहको परिसूचक भने घटेका थिए । बाँकि ९ समूहको परिसूचक भने उकालो लागेका थिए । सोमवार विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०८ प्रतिशतले घटेको थियो भने म्यूचल फन्ड समूहको परिसूचक १.१० प्रतिशतले घटेको थियो । बैंकिङ र वित्त समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले घटेको थियो । सोमवार १ सय ९८ कम्पनीको ८३ हजार ५ सय ६८ पटकको कारोबारमा २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८१ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको थियो । सोमवार कारोबारमा आएका कम्पनी मध्ये ११० कम्पनीको शेयर मूल्य बढेको थियो भने ५६ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
मंगलवार
मंगलवार शेयर बजारमा धेरै उतारचढाव देखिएको थियो । मंगलवार परिसूचक अधिकत्तम २०२२ अंक सम्म पुगेको थियो भने न्युनतम १९६५ अंकको विन्दुसम्म कारोबार भएको थियो । अन्तमा शेयर बजार परिसूचक नेप्से ३.३५ अंकले बढेर २०००.४० अंकको विन्दुमा मंगलवारका लागि बजार बन्द भएको थियो । अन्य दिनको तुलनामा सामान्य ३.३५ अंकले बढेको बजारमा सेन्सिटिभ परिसूचक भने १.७७ अंकले घटेको थियो । मंगलवार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको थियो । उक्त कम्पनीको ३ हजार ९ सय २७ पटकको कारोबारमा ६५ करोड ७९ लाख ८८ हजार १ सय २ रुपैयाँ बराबरको कारोबार हुँदा उक्त कम्पनीको शेयर मूल्य पनि ९.९७ प्रतिशतले वृद्धि भएको थियो ।
मंगलवार १ सय ९७ कम्पनीको ६७ हजार ३ सय ५५ पटकको कारोबारमा १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ताको खरिदबिक्रीहुँदा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ६ रुपैयाँ ५४ पैसा बराबरको करोबार भएको थियो । मंगलवारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण २६ खर्ब ८१ अर्ब ९९ लाख ७३ हजार ७ सय १० रुपैयाँ ५ पैसा कायम भएको थियो ।
बुधवार
बुधवार एकैदिन नेप्से परिसूचक ७०.६२ अंकले बढेको थियो । शेयरबजार बुलिस हुँदै गर्दा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछाल आइरहेको थियो । बुधवार लघुवीत्त समूहमा देखिएको उछालसँगै नेप्से परिसूचक २०७१.०३ अंकको विन्दुमा कारोबार बन्द भएको थियो । त्यस्तै सोन्सिटिभ परिसूचक पनि बुधवार दोहोरो अंकले बढेको थियो । सोन्सिटिभ परिसूचक १२.२५ अंकले उकालो लाग्दै ३९६.०५ अंकको विन्दुमा बजार बन्द भएको थियो । ३.५३ प्रतिशतले बढेको बजारमा ११ समूहको परिसूचक बढेको थियो भने एउटा समूहको परिसूचक मात्र घटेको थियो । घट्ने समूहमा व्यापार समूहको परिसूचक ०.७१ प्रतिशतले घटेको थियो भने बाँकि सबै समूहको परिसूचकमा वृद्धि देखिएको थियो । बुधवार २०१ कम्पनीको ६१ हजार ६ सय ३६ पटकको कारोबारमा १ करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९ सय ७१ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको थियो । बुधवारको कारोबार बन्दाहुँदा नेप्सेको बजार पूँजीकरण २३ खर्ब ६७ अर्ब ८० करोड ७० लाख ५ हजार ३ सय ३७ रुपैयाँ कायम भएको थियो । बुधवार कारोबारमा आएका कम्पनी मध्ये ११७ कम्पनीको शेयर मूल्य बढेको थियो भने ४१ कम्पनीको शेयरमूल्य घटेको छ बाँकि १५ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको थियो ।
बिहीवार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीवार भने दोहोरो अङ्कले ओरालो लागेको थियो । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको थियो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको थियो । नेप्से आरोलो लागे पनि कारोवार रकम बिहीवार आठ अर्ब माथि रहेको थियो । कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भयो । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा आज गिरावट आएको अनुमान गरिएको थियो । कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया