कोरोना बीमाका ४ हजार बढी फाइल स्वास्थ्य सेवा विभाग पठाइयो

काठमाडौं । बीमा समितिद्वारा बुधवारसम्म ४ हजार १२५ वटा कोरोना बिमाका फाइल स्वास्थ्य सेवा विभाग पठाइएको छ ।

बीमा समितिका अनुसार बुधबारसम्ममा कागजात पूरा भएका दाबी संख्या १७ हजार २३५ वटा पुगेको छ भने ८ हजार १४५ जनाको बीमा रकम भुक्तानी गरिसकिएको समितिले जनाएको छ । प्रक्रिया नपुगी पुनःनिर्जीवन बीमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या एक हजार १३६ वटा रहेको छ भने सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या ९ हजार ९० वटा रहेको छ ।

कागजपत्र जाँचमा भएको ढिलाइका कारण कोरोना बिमाको रकम भुक्तानीमा ढिलाइ भएको बीमा समितिले जानाएको छ । अर्थ मन्त्रालयले तीन दिनमा बीमा रकम भुक्तानी गरिसक्न निर्देशन दिएतापनि बीमा समितिले प्रमाणीकरण गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लागेको स्पष्टीकरण दिएको छ ।

कोरोना बिमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भए नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा नआईपुगेकाले ढिलाइ भएको समितिले जनाएको छ ।

बीमा रकमको दाबी भुक्तानी चाँडो गराउन समितिले गृहकार्य तीव्ररुपमा अगाडि बढाएको छ । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

कोरोना बीमा मापदण्डअनुसार कोरोना बिमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुन्छ । यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने भएकाले कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पठाउनु पर्दा केही समय लाग्ने भएको समितिले जनाएको छ ।

समितिका अनुसार गत असोज र कार्तिक महिनामा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारी एवम् बीमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएकोले दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?