काठमाडौं – के तपाई टिकटक चलाउनुहुन्छ ? कि अरुको जथाभावी भिडियो अपलोड गरेर अपराध गरिरहनुभएको छ ? अथवा आफ्नो ‘अकाउन्ट’ बनाएर अरुको टिकटकमा मज्जा लिइरहनुभएको छ ?
त्यसो हो भने सावधान !
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएपछि नेपाल प्रहरीले निगरानी बढाएको छ ।
रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदाङ्गो भइरहेको ठहर गर्दै प्रहरीले शंकास्पद र विवादास्पद भिडियोमाथि निगरानी बढाएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने, अनेकन भिडियोका ‘टुक्रा’जोडिदिने प्रवृत्ति बढेको छ।
साइबर ब्यूरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा टिकटकले घ्यू थपेको छ । यसअर्थ प्रहरीले संभावित दुर्घटनालाई मध्येनजर गर्दै निगरानी बढाएका हौँ । सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यवस्थित गर्न सकिने आवश्यक कानून निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ।
यद्यपी प्रयोगकर्ता भने दिनदिनै बढीरहेका छन् ।
एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।
टिकटक चलाउनुहुन्छ भने यो महत्वपूर्ण जानकारी समेटिएको सामाग्री पढ्नुहोस् :
‘टिकटक’ बाट हुनसक्छन् यस्ता नोक्सानी
टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो ।
कतै घुम्न जादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।
नेपालमा टिकटकको ट्रेण्ड पहिला फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटक लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झन्डै १० करोड भन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।
टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिक–टकले प्रमाणित गरिदिएको छ ।
टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथको जरुरी छैन् भन्ने टिकटकले पुष्टि गरेको छ ।
नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टराई , अमृता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरु मात्र हुन् ।
त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।
कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।
युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ । टिकटकमा धेरै समयमा क्रियटिभिटी देखाउन सकिने र आफ्ना फ्यानहरुको वाह–वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।
नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, बर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर हुँदै गएको छ ।
कलाकारिताको मिनी थिएटर भएको छ ‘टिक–टक’ ।
टिकटक एउटा सोसल मिडिया एपिलकेशन हो जस्को माध्यमबाट छोटो छोटो भिडियो बनाएर शेयर गर्न सकिन्छ ।
‘बाइट डान्स’ नामक कुन देशको कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।
गुगल प्लेमा टिक–टकको परिचय ‘short videos for you ’ भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ : टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।
टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।
टिकटकको रमाइलो तथ्य
– टिक टकबाट भिडियो बनाउँदा आफ्नो आवाजको प्रयोग गर्नु पर्दैन । केवल भिडियोमा आवाज अनुसार ओठ चलाए (लिपसिङ्क) गर्दा हुन्छ ।
-जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।
– जसलाई ‘अरेन्ज टिक’ प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।
टिकटकबाट आम्दानी
टिकटकको केही फाइदा पनि छ । खासगरी गाउँ र स–साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ ।
कतिपय मानिस टिकटककोे माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच ।
यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।
टिकटकले फलोअरको आधारमा पैसा दिने गरेको छ । त्यसको साथै टिकटकमा विभिन्न च्यालेन्ज पनि भइरहेका हुन्छन् । सबै भन्दा बढि भिउज र लाइक पाउनेहरु उक्त च्यालेन्जको विजेता हुन्छन् र उनीहरुले रकम पाउँछन् ।
टिकटकको आम्दानीको श्रोत के ?
विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउने गरेका छन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर छन्, कमेडी गर्छन् अनि गाउने तथा नाच्ने कला पनि आओस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त गर्छन् ।
साथै संघर्षको शुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा समावेश गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको पनि राम्रो प्रचारप्रसार भइरहेको हुन्छ ।
यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउदछ वा कुनै स्याम्पुको बोतल देखाउदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय गरिएको हुन्छ ।
विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दै जान्छ ।
फाइदा मात्र होइन, बेफाइदा पनि छ
भनिन्छ, सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मकर र नकारात्मक । त्यसैगरि टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।
गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ भने बच्चाहरुको नाममा पनि टिकटक अकाउण्ट भएको पाइन्छ ।
गोपनीयताको कुरा गर्ने हो भने टिकटक निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।
– यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुमति लिनुपर्छ ।
-टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।
– टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ ।
विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।
टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्याधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो । तर पनि टिकटकमा अश्लील सामाग्री अपलोड गर्न भने रोकिएको छैन् ।
कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिदैनौँ । केवल Accept तथा Allow मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले के मा प्रयोग गरिरहेको छ ? त्यो विषयमा हामीलाई केही थाहा हुँदैन ।
आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डिलिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया