जुन मन्दिरमा पुरुषलाई प्रवेश निषेध छ !

काठमाडौं । हामीले बिभिन्न कारणले मन्दिरमा प्रवेश गर्न नमिलेका खबरहरु त सुन्दै आएका नै छौँ । हामीमा मन्दिर प्रवेशका लागि आवश्येक शर्त पालना गर्नु पर्नाले कहिलेकाँहि मन्दिर प्रवेश गर्न पाईदैन ।

त्यो त बाध्यता र मन्दिरको नियम भयो तर संसारमा यस्ता पनि मन्दिरहरु छन् जहाँ पुरुषलाई प्रवेश निषेध गरिएको छ । तपाईलाई यो खबर सुनेर पक्कै पनि अचम्म लाग्यो तर वास्तवमै संसारका केहि मन्दिरहरुमा पुरुषलाई प्रवेश गर्न दिइदैन ।

हाम्रै छिमेकी देश भारतमा केहि त्यस्ता मन्दिरहरु छन्, जहाँ पुरुषलाई प्रवेश रोक लगाइएको छ। ति मन्दिरहरुमा मात्र महिलाले नै प्रवेश गर्न पाउँदछन् ।

भारतीय मिडियाका अनुसार त्यस्ता मन्दिरमध्ये केरलाको अत्तुकल भगवती मन्दिर पनि एक हो । जहाँ महिलाको पूजा हुन्छ । त्यो मन्दिरमा ३० लाख महिलाले एकसाथ धार्मिक पूजा गरी यसअगाडि नै विश्व रेकर्डसमेत राखिसकेका छन् । उक्त कीर्तिमानी मन्दिरमा पुरुष प्रवेश गर्न पाउँदैनन् ।

त्यसैगरी, केरलामै चक्कुलाथुकावु मन्दिर छ । यस मन्दिमा पनि पुरुषलाई छिर्न दिइँदैन । उक्त मन्दिरमा नारीपूजा नामक वार्षिक अनुष्ठान नै हुने गरेको छ । उक्त पूजामा १० दिनदेखि व्रत गरिरहेका महिला भक्तजनको पाउ धोइन्छ । उक्त पूजाका बेला मन्दिरभिमत्र महिला मात्रै जान पाउँदछन् ।

पुरुष छिर्न नपाउने अर्को मन्दिर भारतको राजस्थानस्थित पुष्करमा रहेको छ । उक्त मन्दिरको नाम ब्रह्मा मन्दिर हो । यस मन्दिरलाई विश्वको एकमात्र ब्रह्मा मन्दिर पनि मानिन्छ । आजभन्दा करिब ४ सय वर्ष अगाडि बनेको उक्त मन्दिरमा विवाहित पुरुषलाई छिर्न दिइँदैन ।

त्यस्तै, भारतको तमिलनाडुस्थित कन्याकुमारी सहरमा रहेको भगवती मन्दिर पनि पुरुष छिर्न नपाउने मन्दिर हो । यस मन्दिरमा सन्यासी पुरुष मात्रै मन्दिरको ढोकासम्म जान पाउँछन् । तर, भित्र छिर्न भने निषेध हुन्छ ।

त्यसैगरी, बिहारको मुजफ्फरपुरुमा रहेको माता मन्दिरमा पनि पुरुष प्रवेश गर्न पाउँदैनन् । महाराष्ट्रको नासिकमा रहेको त्रयम्बकेश्वर मन्दिर र भारतकै आसाममा रहेको कामरूप कामाख्या मन्दिरमा पनि पुरुषलाई छिर्न दिइँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?