काठमाडौं । कोरोना महामारीका कारण चालु आर्थिक वर्षको कार्तिक महिनामा बैंकहरुको नाफा घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको कार्तिक महिनामा गत आवको यसै अवधिको तुलनामा २ अर्ब रुपैयाँले नाफा घटेको हो । यो गत आर्थिक वर्षको तुलनामा यो नाफा ९ प्रतिशतले कमि हो ।
चालु आवको कार्तिक सम्ममा बैंकहरुले कुल १८ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको कार्तिकसम्ममा बैंकहरुले २० अर्ब ७५ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।
तर चालु आवको असोजको तुलनामा भने कार्तिकमा बैंकहरुले ४ अर्ब रुपैयाँले नाफा बढाएका छन् । राष्ट्र बैंकका अनुसार चालु आवको असोजसम्ममा बैंकहरुले १४ अर्ब ६० करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
यस अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा गरेको छ । बैंकको चालु आर्थिक वर्षको कार्तिकसम्ममा १ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जनता बैंक गाभेको यो बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ४५ करोडले बढी हुन आएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै यस अवधिमा नबिल बैंकले १ अर्ब ३६ करोड, एनआईसी एशिया बैंकले १ अर्ब २८ करोड, प्राइम बैंकले १ अर्ब २३ करोड, प्रभु बैंक १ अर्ब १३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९ करोड र एनएमबि बैंकले १ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । ७ बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् भने १० बैंकको नाफा ५० करोडभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक कृयाकलाप खुम्चिन पुग्यो । जसको कारण बैंकको नाफामा कमि आएको हो । तर लकडाउन तथा निषेधाज्ञाका कारण बैंकहरुको आम्दानीमा भने कम असर पुगेको प्रक्षेपण गरिएको छ ।
कोरोना महामारीका कारण समस्यामा परेको आफ्ना ऋणीहरुका लागि बैंकले उपलब्ध गराएको सहुलियतका कारण बैंकहरुको कर्जा असुलीमा कमि आएको थियो । पछिल्लो समयमा बैंकिङ्ग प्रणालीमा अधिक तरलताका कारण ब्याजदर समेत घट्दो क्रममा रहेको छ ।
कोरोना महामारीको असर अझै कायम रहेकाले बैंकहरुको आर्थिक गतिविधि पहिलेको जसरी चल्न सकिएरहेका छैनन् । जसका कारण बैंकहरुले कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । त्यसैको कारण बैंकको नाफामा कमि आएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया