धरहराको काम धमाधम: ५० फिट अग्लो पानीको फोहोरा, एक हजार क्षमताको पार्किङ (भिडियो)

काठमाडौं– ‘काठमाडौंको ९ तले धरहरा…’ भन्ने गीत धेरैले सुन्नु भएको होला । तर अहिले काठमाडौंमा २२ तलाको धरहरा बन्दैछ ।

मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । त्यसपछि सो धरोहरालाई नौतले बनाइएको थियो ।

तर, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले उक्त ९ तले धरहरा पनि भत्कियो । धरहरा भत्किएको करिव १० महिनापछि सरकारले २०७२ फागुन ४ गतेको ’ऐतिहासिक धरोहर पुनर्निर्माणमा संकल्प’ घोषणा गर्‍यो । उक्त घोषणा कार्यक्रममार्फत  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गरेका थिए । नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोेष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब ६१ हजार ८ सय २० रुपैयाँ पुनर्निर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गरेका थिए । यसपछि विभिन्न संघसंस्था र व्यक्तिले धरहरा पुनर्निर्माण कोषमा रकम जम्मा गरेका थिए ।

यसरी क्षतिग्रस्त भएको धरहराको तीन वर्षपछि पुनःनिर्माण सुरु भएको थियो । यस धरोहराको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

यस्तो सुविधा सम्पन्न बन्दैछ धरहरा

अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर अर्थात् २५७.४ फिट अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्र २२ तला हुनेछन् । तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरा सम्बन्धी  संग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।

धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ् हुनेछ । त्यस्तै परिसरमा बगैंचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहरा थप चौडा हुनेछ । यहाँ दुई लिफ्ट रहने छन् । साथै एउटा परम्परागत भ¥याङ पनि हुनेछ । आगन्तुकले दुईमध्ये एक रोजेर प्रयोग गर्न सक्छन् । ४२  रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङस्थल, रेष्टुराँ र व्यापारिक पसलसमेत हुनेछन् ।

पहिले गोश्वारा हुलाक भएको स्थानमा उद्यान बन्ने छ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली चौर र चमेनागृह हुनेछ । यहाँ पढ्न, ध्यान गर्न या आरामसँग बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । धरहराको १८ औँ तलामा अवलोकन कक्षसहित सङ्ग्रहालय, फोहरा, बगैंँचा र खाजाघर पनि रहने छन् ।

धरहराको पुननिर्माण सकिएपछि यसलाई बसन्तपुरसँग जोडेर पर्यटन व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ ।

पुनर्निर्माण ५० प्रतिशत पूरा

धरहरा पुनर्निर्माणको ठेक्का रमन कन्स्ट्रक्सनले पाएको छ । पुनःनिर्माणका लागि ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागत अनुमान गरिएको छ ।

निर्माणाधीन धरहराको अहिले बीसौँ तलाको ढलान गर्ने काम भइरहेको छ । दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि सोही अनुरुप काम हुन नसकेको सरोकारवालाहरु बताउँछन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले शुरुआती चरणमा तीव्र रुपमा निर्माणको काम भए पनि पछिल्लो समय सोहीअनुरुप काम अघि बढ्न नसक्दा थप गरिएका समयमा पनि काम सकिन्छ भन्नेमा शङ्का उब्जिएको बताए । पुन:निर्माण प्राधिकरणका इन्जिनियर बिशाल दाहालले भने धरहरा पुनर्निमाणको काम धमाधम भइरहेको र हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको बताए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले ९ महिना समय थपेको थियो ।

प्रस्तुत छ, धरहरा पुनर्निर्माणको विषयमा तयार पारिएको भिडियो रिपोर्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?