काठमाडौँ – वाणिज्य बैंकहरुमा नम्बर वान बैंकको रुपमा रहँदै आएको नबिल बैंक आक्रामक रुपमा उत्रिएको छ । तर त्यति हुँदाहुँदै पनि बैंकका केही आन्तरिक र बाह्य समस्याहरु पनि उत्तिकै टट्कारो रुपमा देखिएका छन् ।
आन्तरिक समस्या :
- कोरोनाको महामारीका समयमा संस्थाको मानव संशाधन सुरक्षा कायम गर्दै समान्य ढंगले संस्था संचालन गर्ने चुनौती
- परिवर्तित समयको मागलाई परिपूर्ति गर्ने किसिमका नयाँ सेवा तथा सामाग्रीको उत्पादन र वितरणका लागि वैकल्पिक माध्यम अन्वेषण गर्ने चुनौती
बाह्य समस्या :
- विश्व अर्थ व्यवस्थामा परेको व्यापक प्रभावले बैंक तथा वित्तीय संथाहरुलाई प्रभावित बनाएको छ । त्यसैले सो प्रभावको तत्काल आँकलन गर्न सकिने अवस्था छैन ।
- त्यसैगरी ब्याजदरमा आइरहने उतावचढावलाई व्यवस्थापन गर्न पनि उस्तै चुनौतीपूर्ण छ ।
आन्तरिक र बाह्य समस्या र चुनौतीका बाबजुद बैंकले पूँजी वृद्धिको योजनालाई पनि उत्तिकै महत्वपूर्ण एजेण्डाका रुपमा अघि बढाएको छ । हालसम्म नम्बर वान रहेको बैंकलाई अब सोही अवस्थामा रहन चुनौतीपूर्ण देखिन्छ । किनकी यसअघि नै ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्ज भएर सबैभन्दा ठूलो बैंक बनिसकेको छ । ग्लोबल आइएमई बैंक अहिले १९ अर्ब भन्दा बढी पूँजी भएको बैंकको रुपमा पहिचान बनाइसकेको छ ।
बिग मर्जरका कारण पहिल्लो समय बैंकको पूँजी २० अर्ब पु-याउनु पर्ने चुनौती बैंकहरुसँग छ । त्यसकारण पनि नबिलले पूँजी वृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाउनु जरुरी थियो । अहिले नबिल बैंकको पूँजी १० अर्ब ९७ करोड ७४ लाख ६४ हजार छ । पूँजी वृद्धि गरेर कसरी नम्बर वान बन्न सकिन्छ भन्ने दाउमा छ – नबिल बैंक । डेपुटी सिइओ विनय रेग्मी भन्छन्, ‘बैंकको कारोबारको आधारमा बैंकको पूँँजी बढाउँदै जाने योजना हो ।’
पूँजी वृद्धि गर्दै गर्दा मर्जरको विषय जोडदारका साथ अगाडी आउँछ । तर नबिलले भने अहिलेसम्म उपयुक्त जोडी नपाएको भन्दै मर्जरप्रति त्यति ध्यान दिएको थिएन । राष्ट्र बैंकलाई हामी मर्जरमा जान तयार छौँ भन्ने विश्वास दिलाए पनि अहिलेसम्म त्यसतर्फ नबिल कुनै प्रगति देखिँदैन । जब नबिल बैंक नम्बर वानबाट तल झ-यो तब मात्रै बैंकको पूँजी वृद्धि गर्ने विषयमा खरो उत्रिन थाल्यो ।
मर्जरका लागि बैंकले उपयुक्त वित्तीय संस्था खोजिरहेको डेपुटी सिईओ रेग्मीले बताए ।
मर्जरका लागि धेरै प्रक्रिया पु-याउनुपर्ने भएकाले विस्तारै त्यसतर्फ काम गर्दै जाने उनको भनाई छ । ‘मर्जरका लागि हामी तयार छौँ,उपयुक्त पार्टनर भेटिनुप-यो ।’ रेग्मीले भने ।
बैंकले आफ्ना लगानीकर्तालाई ३५.२६ प्रतिशत लाभांश वितरण गरेर बजारमा आफ्नो उपस्थिती आक्रामक रुपमा रहेको देखाएको हो । बैंकले बैंकले लगानीकर्तालाई बोनस ३३.५ र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगदसहित ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश घोषणा गरेसँगै शेयरका लगानीकर्तामा नबिल बैंककै चर्चा छ । नबिलको शेयर मूल्य उच्च रुपले बढेको छ । यसले शेयर बजारमा उतारचढाव देखिन थालेको छ ।
गत फागुन देखि नै बैंक तथा वित्तीय संस्थाहरुमा कोरोनाको प्रभाव पर्न थालिसकेको थियो । कोरोनाको जोखिम न्युनिकरण गर्न सरकारले गरेको पटक पटकको लकडाउन र निषेधाज्ञाका कारण बैंकको कारोबार निकै प्रभावित भएको थियो । कोरोनाका कारण आम्दानी घटेपछि बैंकले प्रशासनिक खर्च पनि धान्न नसक्ने अवस्था आएको भन्दै हारगुहार गरिरहेका थिए । तर नबिल बैंकले भने राम्रै प्रगति गरेको छ ।
गत वर्ष बैंकका अधिकांश सूचकहरु सकारात्मक नै देखिन्छन् । बैंकले गत वर्ष ३ अर्ब ४० करोड रुपैँया नाफा कमाएको थियो । सोही नाफाबाट लगानीकर्तालाई लाभांश दिएको हो । लकडाउनको असर तीन महिना मात्रै परेको र बाँकी नौ महिना राम्रै कारोबार भएकाले पनि लगानीकर्तालाई राम्रै प्रतिफल दिन संभव भएको बैंकका डेपुटी सिइओ विनय रेग्मीले बताए ।
बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पनि १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैँया नाफा कमाएको छ । गत वर्षको सोही अवधीको तुलनामा भने बैंकले नाफा घटाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा १ अर्व १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ थियो ।
गत वर्ष बैंकले राम्रो प्रगति गरेपनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भने कोरोनाको प्रभाव बैंकको कारोबारमा देखिएको छ । कोरोनाले पूर्ण रुपमा प्रभावित बनाएको भनिए पनि त्यसको सामाना गर्दै नबिल प्रगतिको पथमा निरन्तर लागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया