कमला अर्याल /काठमाडौँ – कोरोना भाइरस ‘कोभिड – १९’ को प्रभावका कारण कर्जा लगानीमा सुधार आउन सकेको छैन ।
गत चैत महिनादेखि नै कोरोना भाइरसका कारण कर्जा लगानी प्रभावित भएको थियो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले चैत्र ११ गतेदेखि विभिन्न पटक लकडाउन तथा निषेधाज्ञा गरेको थियो । लकडाउनका कारण लामो समयसम्म उद्योग, कलकारखाना, व्यापार व्यवसाय, होटल, पर्यटन लगायतका विभिन्न क्षेत्र पूर्ण रुपमा ठप्प भए । त्यसले गर्दा एकातिर यी क्षेत्रबाट हुने आम्दानी प्रभावित भएको थियो भने अर्कातिर यी विभिन्न क्षेत्रमा जाने कर्जा पनि उत्तिकै मात्रामा प्रभावित भएको थियो ।
बैंकिङ प्रणालीमा २ सय अर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको थियो । तर लगानी ठप्प थियो ।
लामो समय उद्योग व्यवसाय, यातायात, पर्यटन क्षेत्र आदि बन्द हुँदा अर्थतन्त्रमा ठूलो संकट पर्ने भन्दै विभिन्न क्षेत्रबाट व्यापक विरोध भएपछि अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सबै क्षेत्र खोल्ने निर्णय गरेको थियो । सो बेलादेखि लगानी केही मात्रामा बढ्न थाल्यो । बैंकले लगानीका लागि नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्न थाले । विशेष गरी ठूला र नयाँ कर्जा नगएपछि बैंकहरु घरजग्गा तथा सवारी कर्जामा केन्द्रित भएर लगानी विस्तार गरिरहेका थिए ।
अहिले सर्वसाधारणले कोरोनाको प्रभाव कम भएको महशुस गरेका छन् । कोरोनासँगै जिउने र काम गर्ने बानी सर्वसाधारणमा परिसकेको छ । जसका कारण कोरोनाका विरामी बढिरहेको भएपनि सर्वसाधारण प्रवाह नगरी आर्थिक क्रियाकलापमा लागिरहेका छन् । जसका लागि कर्जाको माग पनि भइरहेको छ ।
नेपाल बैंकर्स संघको गत शुक्रबारसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने ३७ खर्व १५ अर्व रुपैँया निक्षेप संकलन भएको छ भने ३१ खर्व २३ अर्ब रुपैँया कर्जा लगानी भएकोे देखिन्छ । यो तथ्यांक हेर्दा कर्जा लगानी त्यति प्रभावित भएको देखिन्न ।
संघका प्रमूख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार निरन्तर जाने कर्जा प्रभावित नभए पनि नयाँ कर्जा अझै पनि प्रभावित भएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको देखिन्छ । नीजि क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतले,विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको देखिन्छ । गत कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । लकडाउन खुकुलो भएपछि केही मात्रामा मात्रै नयाँ कर्जाको माग आउने गरेको नबिल बैंकका डेपुटी सिइओ विनय रेग्मीले बताए । तर कर्जाको माग त्यति सन्तोषजनक भने नभएको उनको भनाई छ ।
यतिबेला बैंकिङ प्रणालीमा १ खर्व २० अर्ब रुपैँया अधिक तरलता छ । बजारमा बढी तरलता भयो भन्दै राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तरलता बजारबाट खिचिसकेको छ । यति हुँदाहुँदै पनि बैंकमा अझै प्रशस्तै तरलता रहेको देखिन्छ । यसको मतलब नयाँ कर्जाको माग भएको छैन । कोरोनाको प्रभाव नरोकिएकाले अझै पनि लगानीकर्ता डराइरहेकाले नयाँ कर्जाको माग हुन नसकेको संघका सिइओ शर्माको भनाई छ ।
‘लगानीकर्ता अझै विश्वस्त हुन नसकेकाले नयाँ कर्जा बढ्न सकेको छैन ।’ सिईओ शर्माले लोकपथसँग भने ।
बैंकहरुले लगानी विस्तार नगर्ने हो भने बैंकको नाफामा गिरावट आउँछ । अहिले लगानी बढाउन बैंक सञ्चालकहरुले बैंकका सिइओहरुलाई दबाब दिन थालेका छन् । बैंकका संचालक,सिइओ तथा कर्मचारी सबै लगानी बढाउन केन्द्रित देखिन्छन् ।
पहिले ऋण दिन ग्राहक स्वयम् बैंकमा धानिनुपर्ने अवस्था थियो भने अहिले बैंकले ग्राहक खोजी खोजी ऋण उपलब्ध गराउने गरेका छन् ।
कोरोना भाइरसको संक्रमण सकिएको छैन । विश्वका विभिन्न स्थानमा यसको खोप बन्नुका साथै खोप परिक्षण पनि भइरहेको छ । एकातिर पूर्ण रुपमा यसैको उपचार नभइरहेको अवस्थामा पुनः अर्को नयाँ कोरोना भाइरस देखिएको र यसले बढी मात्रामा युवाहरु संक्रमित भएका सामाचारहरु आइरहेका छन् । यस आधारमा हेर्ने हो भने कोरोनाको प्रभाव कहिले सकिन्छ भन्ने कुनै यकिन छैन। जसले गर्दा नयाँ नयाँ व्यवसायका लागि कर्जाकोे मागमा कमी आउँछ । बैंकहरुको नाफा घट्नुका साथै कमजोर बन्दै जान सक्ने अवस्था हुन्छ ।
अहिले नेपालका बैंकहरु पूँजीगत रुपमा थप ठूला र बलिया बनिरहेका छन् । अहिले वाणिज्य बैंकहरु २० अर्ब रुपैयाँ हाराहारीका बन्दैछन् । पूँजीगत रुपमा ठुला भएसँगै व्यवसाय पनि त्यहि रुपमा विस्तार गर्नुपर्ने हुन्छ । तर कोरोनाका कारण अझै पनि लगानी नबढ्ने तथा नयाँ लगानी प्रभावित भइरहेने हो भने बैंकहरु थप प्रभावित हुने आँकलन बैंकर्सहरुले नै गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया