लगानी गर्ने हो ? सस्तोमै पाइन्छ चाहिएजति ऋण !

कमला अर्याल / काठमाडौँ – के तपाईंलाई कुनै व्यवसाय गर्नुछ ? घर बनाउन वा अन्य काम गर्नको लागि पैसाको आवश्यकता छ ? त्यसो हो भने यतिबेला बैंकबाट कर्जा लिन सुनौलो अवसर छ ।

बैंकहरुले यतिबेला विगत चार वर्ष यताकै सस्तोमा कर्जा दिने भएका छन् । सस्तो कर्जाका लागि बैंकहरुले अहिले ग्राहकलाई बोलाई बोलाई कर्जा उपलब्ध गराइरहेका छन् । अहिले बैंकिङ प्रणालीमा १ खर्ब २० अर्व भन्दा बढी तरलता (लगानी योग्य पूँजी) रहेको छ । ९० अर्ब तरलता नेपाल राष्ट्र बैंकले खिचिसकेको छ ।

बैंकमा प्रशस्त तरलता भएपछि बैंकहरुले कर्जा सस्तो बनाएका हुन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुले आधार व्याजदर १.८७ प्रतिशतले घटाएका छन् ।

बैंकहरुले ब्याजदर घटाएसँगै कर्जा सस्तिएको छ । लकडाउनका बेला बैंकमा निक्षेप आएको तर कर्जा लगानी नहुँदा तरलता बढेकाले अहिले बैंकहरु सस्तोमा कर्जा दिन बाध्य भएको बैंकर्स संघका प्रमूख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

कोरोना भाइरस ‘कोभिड १९’ का कारण लगानी प्रभावित भएपनि अहिले केही मात्रामा कर्जा लगानी बढेको उनको भनाई छ । तर नयाँ कर्जा भने अझै प्रभावित नै छ ।

प्रणालीमा प्रशस्तै तरलता छ । त्यसकारण तत्काल निक्षेप तथा कर्जाको ब्याजदर नबढ्ने बैंकर्स संघको आँकलन छ ।

कोभिड–१९ का कारण उद्योग व्यवसाय, होटल, पर्यटन, यातायात लगायत सम्पूर्ण क्षेत्र ठप्प हुँदा बैंकमा निक्षेप पनि घट्ने आँकलन गरिएको थियो । तर त्यसको ठिक उल्टो भयो ।

यसको एउटै मात्र कारण हो विप्रेषण (रेमिट्यान्स) बढ्नु ।

बैंकमा निक्षेप मात्रै होइन रेमिट्यान्स पनि घट्ने आँकलन थियो । तर जुन रुपमा रेमिट्यान्स घट्ने आँकलन गरिएको थियो, सोही रुपमा रेमिट्यान्स नघटेका कारण बैंकमा निक्षेप थुप्रियो । निक्षेप त थुप्रियो तर लगानी भएन ।

लकडाउनका बेला त बैंकिङ प्रणालीमा २ खर्ब भन्दा बढी तरलता थुप्रिएको थियो । बैंकहरु लगानी गर्न नपाएर तनावमा थिए ।

जब सरकारले लकडाउन खोल्यो, त्यसपछि बिस्तारै कर्जा लगानी हुन थाल्यो । कर्जा लगानीका लागि बैंकहरुले नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्न थाले ।

संघका अनुसार गत शुक्रबार सम्मको तथ्यांकलाई हेर्ने हो भने ३७ खर्व १५ अर्व रुपैँया निक्षेप संकलन भएको छ भने ३१ खर्ब २३ अर्ब रुपैँया कर्जा लगानी भएकोे देखिन्छ । यो तथ्यांक हेर्दा कर्जा लगानी त्यति प्रभावित भएको देखिन्न ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ प्रतिशतले बढेको थियो । त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको देखिन्छ ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.९ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.५ प्रतिशतले घटेको देखिन्छ ।

गत कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर – कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विशेष गरी ठूला र नयाँ कर्जा नगएपछि बैंकहरु घरजग्गा तथा सवारी कर्जामा केन्द्रित भएर लगानी विस्तार गरिरहेका थिए । त्यसैले लगानी विस्तार गर्न बैंकहरुले कर्जा सस्तो बनाएका हुन् ।

अहिले नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लगायतले कर्जा तथा निक्षेपको ब्याजदर घटाएका छन् । नबिलले ७.५० प्रतिशत र नेपाल इन्भेष्टमेन्टले ७.२५ प्रतिशत निक्षेपको ब्याजदर कायम गरेका छन् । अन्य बैंकहरुले पनि धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेका छन् भने कतिपयले सार्वजनिक गर्ने क्रममा छन् ।

अहिले बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेकाले सस्तोमा कर्जा दिन बैंकहरु बाध्य छन् । यतिबेला बैंकका संचालकहरुले प्रमूख कार्यकारी अधिकृत (सिइओ) हरुलाई लगानी बढाउन दबाब दिइरहेका छन् ।

बैैंकका संचालक, सिइओ तथा कर्मचारी सबै कर्जा लगानीमा केन्द्रित भएका छन् । तर बढी तरलताका कारण ब्याजदरमा अहिले जुन गिरावट आइरहेको छ ।

त्यो गिरावटले निरन्तरता पायो भने कसरी बैंकलाई नाफा कमाउने भन्ने चिन्ताले सताएको छ ।

प्रणालीमा अझै केही समय यसरी नै तरलता रहिरहने हो भने अझै एक डेढ वर्षसम्म पनि ब्याजदर बनढ्ने हो कि भन्ने चिन्ताले बैंकर्सको टाउनको देखेको छ ।

ब्याजदरमा कस्तो परिवर्तन आउँछ भन्ने त बजार नै निर्धारण गर्ने कुरा हो । त्यसैले केही समयमा परिवर्तन हुन पनि सक्छ । तर कोरोना भाइरसको संक्रमण नसकुन्जेल भने लगानी प्रभावित भइरहने र निक्षेप थुप्रिरहन सक्छ ।

यस्तो अवस्था कायम भइरहे ब्याजदरमा परिवर्तन आउन गाह्रो छ । अहिले विश्वले कोरोनाको समस्याको उपचारको राम्रोसँग गर्न सकिरहेको छैन ।

‘कोभिड – १९’ को प्रभाव नसकिँदै पुनः नयाँ कोरोनाको भाइरसका कारण विश्व अर्थव्यवस्था अझै तरंगित हुने संभावना छ । यदि यस्तो भइरह्यो भने नेपाल पनि अछुतो रहन सक्दैन ।

जसका कारण अर्थव्यवस्थाको मेरुदण्डको रुपमा रहेको बैंकिङ क्षेत्र अझै प्रभावित हुँने आँकलन गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?