ब्रोकर कमिशन घट्दा पनि यसकारण बढेन बजार

कमला अर्याल / काठमाडौँ – शेयर बजारमा लगानीकर्ता आकर्षित गर्न ब्रोकर कमिशन घटाए पनि बजारमा आकर्षण देखिएको छैन ।

यसको एउटै मात्रै मुख्य कारण भनेको नै ब्रोकर कमिशनसँग कारोबारको कुनै सम्बन्ध नहुनु हो । शेयर बजारमा कारोबारको आकार जुन रुपमा बढ्दै गइरहेको छ । त्यस आधारमा ब्रोकरको कमिशन घटाउँदै लैजानुपर्छ भन्ने हिसाबले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिशन घटाएको थियो ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ब्रोकरको कमिशन घटाउँदैमा बजार बढ्ने भन्ने कुरामा कुनै यथार्थता छैन । ‘ब्रोकरको कमिशन घटाउँदैमा कारोबार बढ्छ भनेर कहाँ भनिएको छ र ?’ प्रवक्ता गिरीले लोकपथसँग भने ।

सामान्यतया बजारमा ब्रोकर कमिशन घटाएसँगै शेयर बजारमा सकारात्मक सुधार आउने आँकलन गरिएको थियो । तर बजारमा सुधार आउन वा बजार बढ्न राम्रो र मजबुद कम्पनीको शेयरको कारोबार हुनुपर्छ । त्यसका साथै शेयर मूल्य पनि बढ्नुपर्छ । अथवा लगानीकर्तालाई आकर्षित गर्ने कुनै न कुनै कारण हुनुपर्छ । कारोबार बढ्नु र नबढ्नुमा लगानीकर्तामा भर पर्ने कुरा भएकाले ब्रोकरको कमिशन घट्नुले कुनै अर्थ नराख्ने प्रवक्ता गिरीको भनाई छ । ‘शेयरको मूल्य घट्यो भने पो बजार पनि घट्छ ।’ उनले भने ।

उनले कम्पनीको अवस्था हेरेर लगानीकर्तालाई शेयर खरिद गर्न बेला बेलामा सुझाइरहेको पनि बताए । कम्पनीहरुले लाभांश दिने भन्दाभन्दै पनि बजार बढेन भने त्यतिबेला बजार किन बढेन भन्ने प्रश्न उठ्न सक्छ । तर ब्रोकर कमिशनले कारोबारमा कुनै फरक नपार्ने भएकाले यसको असर कारोबारसँग दाँज्न नमिल्ने उनकोे भनाई छ ।

यस्तो छ ब्रोकर कमिशन घटेपछिको कारोबारको अवस्था : 
सेबोनले कारोबारको आकारका आधारमा ३३ प्रतिशत ब्रोकर कमिशन घटाएको थियो । ब्रोकर कमिशन घटेपछि खुलेको शेयर बजारमा सन्तोषजनक कारोबार भएको छैन । आइतबार र सोमबार सेयर बजारमा निराशाजनक कारोबार भएको देखिएको छ ।

आइतबार ४ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबारको कारोबार अझै घटेको छ ।

सोमबार ३ अर्व ८५ करोड रुपैँया बराबरको मात्रै कारोबार भएको छ । यस दिन ७४ लाख ९७ हजार भन्दा बढी शेयर किनबेच भएको छ । बजार ८.५७ विन्दुले मात्रै बढेको छ । त्यस्तै बजार २०००७. २९ अंकमा आएर रोकिएको छ ।

सोमबार बैंकिङ, होटल, हाइड्रोपावर, फाइनान्स कम्पनी, जीवन तथा निर्जीवन बीमा कम्पनी, उत्पादन जन्य कम्पनीहरु, लघुवित्त तथा म्युचुअल फण्ड लगायतका कम्पनीको कारोबारमा सुधार आएको छ भने ट्रेडिङ, विकास बैंक लगायतका कम्पनीहरुको कारोबारमा गिरावट आएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफको ३५ करोड, नागरिक लगानी कोषको ३२ करोड, एनआइसी एसिया बैंकको ३० करोड, नबिल बैंकको २४ करोड र शिवम् सिमेन्टको २१ करोड रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?