काठमाडौं । आज बुधवार देशभरका नेवार समुदायले योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् ।
नेवार समुदायले प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन योमरी (विशेष प्रकारको रोटी) पकाएर खाई योमरी पुन्ही मनाउँछन् । आजकै दिनलाई काठमाडौं उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ‘ज्यापु दिवस’का रुपमा पनि मनाउँछन् ।
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मंसिर महिनाको शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ। नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी भन्ने हुन्छ । विशेष प्रकारले बनाइने यो रोटीभित्र चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो राखिन्छ । नेवार समुदायमा अन्य पूर्णिमा जस्तो यो पूर्णिमामा भोज खाइँदैन । यस दिन बरु योमरी नै खाइन्छ । यो दिन नियमित जस्तो खाना खान नहुने नेवार समुदायको विश्वास छ ।
चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । प्राय त्रिकोण आकारमा योमरी बनाउने गरिन्छ । वर्षको पहिलो धानको चामलबाट पिठो तयार गरी योमरी बनाइन्छ । आजै नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ।
नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि छ । मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया