पाथिभरा आगलागी अपडेट : एक हप्तापछि बल्ल नियन्त्रणमा

लोकपथ
0
Shares

काठमाडौं । ताप्लेजुङ्गस्थित पाथिभरा मन्दिर रहेको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । गत शुक्रवारबाट लागेको आगो आज (बिहीवार) नियन्त्रणमा आएको हो ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका थिए भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरेका थिए ।

“आगो नियन्त्रणमा आइसक्यो, अब कोइला र माटोमा रहेको आगो निभाउन लागेका छौंँ ।”  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

पाथिभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग पनि गरिएको थियो ।

७ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन नसक्दा दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) को बासस्थान समेत डढेर खरानी भएको छ । वन पैदावार लगायत जंगली जनावरको बासस्थानमा निकै ठूलो नोक्सानी भएको छ ।

डढेलोका कारण विशेषगरी त्यस क्षेत्रमा पाईने रेडपाण्डाको चरन र बासस्थान खरानी बनाएको छ । धेरै रेडपाण्डा मरेको हुनसक्ने भए पनि अनुगमनमा जान नसकिएको संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

पा थिभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान छ । ती बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न सकिएको छैन ।

पाथिभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए ।  डढेलोले पाथिभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिएको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेको भनाइ छ । पाथिभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।

 

यो पनि पढ्नुहोस् :  पाथिभरा मन्दिर रहेको जंगलमा आगलागी, नियन्त्रणमा लिन कठिन
                         

अझै नियन्त्रणमा आएन पाथिभरा मन्दिर क्षेत्रको वनमा लागेको आगो

अपडेट : नियन्त्रणमा आएन ४ दिनदेखी लागेको आगो, पाथिभरा मन्दिर क्षेत्र प्रहरीले जोगायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?