काठमाडौं । अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको कोभिड १९ विरुद्धको खोप बेलायतमा स्वीकृत भएको छ ।
बेलायतको औषधि नियमन निकायले खोप स्वीकृत गरेको हो । यसको अर्थ खोप सुरक्षित साथै प्रभावकारी पनि हुनु हो ।
खोप स्वीकृत भएसँगै बेलायतले उत्पादक कम्पनी एस्ट्राजेनेकासँग ५ करोड जनतालाई पर्याप्त हुनेगरी १० करोड डोज खोप मगाइसकेको छ ।
अक्सफर्ड एस्ट्राजेनेका भ्याक्सिनको निर्माण सन् २०२० को शुरुवाती महिनाहरुमा भइसकेको थियो भने व्यक्तिमा यसको पहिलो परीक्षण अप्रिलमा भएको थियो । त्यसपछि हजारौं व्यक्तिहरुमा परीक्षण गर्दै यसले विभिन्न क्लिनिकल ट्रायलहरु पार गरेको हो ।
फाइजर बायोएनटेक पश्चात् बेलायतमा स्वीकृत गरिएको यो दोस्रो खोप हो । बेलायतमा अहिलेसम्ममा ६ लाख भन्दा बढी व्यक्तिहरुले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।
अक्सफर्ड एस्ट्राजेनेका तुलनात्मक रुपमा सस्तो र एकैपटकमा धेरै उत्पादन गर्न सकिने किसिमको भएकाले यसको स्वीकृतिले विश्वव्यापी कोरोना खोप अभियानमा ठूलो मद्दत पुग्ने आशा गरिएको छ ।
(एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया