विमान दुर्घटनामा परेकाको शव बङ्लादेश पुग्यो

ढाका, ५ चैत – नेपालमा केहीदिन अगाडी भएको विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश ल्याइएको छ ।स्वदेश फिर्ता ल्याइएका २३ ओटा शवको सामुहिक शवयात्रा गराउने तयारी भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट ल्याइएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।राजधानी ढाकामा रहेको सो विमानस्थलमा उक्त विमान स्थानीय समय अनुसार दिउसो ४.५ बजे अवतरण गरेको थियो ।विमानस्थलमा शव ल्याएका बेला सत्तारुढ दल अवानी लिग पार्टीका महासचिव तथा सडक यातायात मन्त्री ओबैडुल क्वेडर विमानस्थलमा पुग्नु भएको थियो ।ल्याइएका शवहरु मध्ये विमानका चालक अबिद सुल्तान, सहचालक प्रिथुला राशिद र टोलीका सदस्यहरू खवाजा हुसेन मोहम्मद शाफी र शर्मिन अक्टेर नाविलालगायतका रहेका छन् ।बङ्लादेशको निजी विमान कम्पनी युएस बङ्लादेश एयरलाइन्सको विमान यही मार्च महिनाको १२ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो । विमानमा कुल ७१ जना यात्रु रहेका थिए ।बङ्गलादेशको राजधानी ढाका स्थित सैनिक मञ्चमा शवहरू लगिएपछि सयौं आफन्त तथा सर्वसाधारणहरु दुःख व्यक्त गर्न भेला भएका थिए । सामुहिक शवयात्रापछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने भएको छ ।विमानमा रहेका ७१ जना मध्ये चार जना चालक दलका सदस्य र बाँकी ६७ जना यात्रु रहेका थिए । उनीहरु मध्ये ३२ जना बङ्गलादेशका नागरिक थिए भने ३३ जना नेपाली, एक एक जना चीन र माल्दिभ्सका नागरिक रहेका थिए ।शवहरुको पहिचान गर्नु पर्दा ढिला भएकाले दुर्घटना भएको लामो समयपछि मात्रै शवहरु स्वदेश ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?