काठमाडौँ– आज (शुक्रवार) आठौँ नेपाली टोपी दिवस मनाइएको छ । नेपालको पहिचान बोकेको नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक वर्ष जनवरी १ का दिन नेपाली टोपी दिवस मनाइदै आएको छ ।
विगतका वर्षहरू प्रभातफेरी कार्यक्रम गरी टोपी दिवस मनाउने गरिएपनि यस पटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुनै औपचारिक कार्यक्रम नगरिएको जागरुक युवा अभियानका अभियन्ता जनार्जन पौडेलले जानकारी दिए । “हामीले सधै सभ्य र भब्य तरिकाले टोपी दिवस मनाउँदै आएका थियौं” उनले भने, “यस पटक कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर हामीले भीडभाड हुने कुनै कार्यक्रम गरेनौं ।”
जागरुक युवा अभियान नेपालले स्वस्फूर्तरुपमा आफू जहाँ छौं त्यहिँ बसेर नेपाली टोपी दिवस मनाउन यस अघि नै अपिल गरेको थियो। यस दिवसमा नेपाली टोपीमा सजिएर सामाजिक संजालमा फोटो सार्वजनिक गर्ने गरिन्छ । अभियानले विगत ८ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको छ ।
०६८ सालमा तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाउने निर्णय गरेको थियो । जस अनुसार परम्परागत रुपमा कायम रहेका नेपाली राष्ट्रिय पोशाकहरु, दौरा सुरुवाल, गुन्यु चोली, ढाकाटोपी हाम्रो संविधानबाट हटाइएको छ । यसलाई यथावत कायम राखियोस भनेर सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
अभियानले गत वर्ष अहिलेसम्मकै ठूलो ढाकाटोपी सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया