काठमाडौँ – मुलुककै प्रमुख कृषि बालीको रुपमा मानिएको धान उत्पादनमा यस वर्ष निकै सुधार आएको छ ।
किसानले धान रोप्ने र गोड्ने बेलामा रासायनिक मल तथा किटनाशक औषधीहरुको अभाव भएपनि उत्पादनमा भने सुधार आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले धान उत्पादनमा सुधार आएको देखाएको होे ।
मन्त्रालयका अनुसार यस वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ । यो उत्पादन गत वर्ष भन्दा ७० हजार ८३१ टन बढी हो । यस यस वर्षको धान उत्पादन हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ । यस वर्ष धानको उत्पादकत्व ३.८२ टन प्रति हेक्टर पुगेको छ ।
मन्त्रालयका अनुसार यो उत्पादकत्व अहिलेसम्मकै उच्च हो । गत वर्ष धानको उत्पादकत्व प्रति हेक्टर ३.८० टन थियो ।
यस कारण फल्यो धेरै धान
धान उत्पादनका लागि सबैभन्दा महत्वपूर्ण कुरा पानी हो । समयमा बढी मात्रामा पानी परेकाले धान उत्पादन राम्रो भएको हो । मन्त्रालयका अनुसार समयमा नै मनसुनी वर्षा शुरु भएका कारण गत वर्षको तुलनामा करीब एक तिहाई बढी वर्षा भएको, १ प्रतिशत भन्दा बढी खेतमा रोपाई बढेकाले धान उत्पादन बढेको हो । कृषिजन्य उत्पादनमा तराइका जिल्लाहरुको करिब ७० प्रतिशत योगदान रहेको छ । यसका साथै ती जिल्लाहरु भारतको सीमासँग जोडिएकाले किसानहरुले भारतबाट रासायकि मल ल्याएर प्रयोग गरेका कारण उत्पादनमा सुधार आएको मन्त्रालयको भनाई छ । त्यस्तै, धानको गुणस्तरीय तथा उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढाएको मन्त्रालयले जनाएकोे छ ।
मन्त्रालयका अनुसार यस वर्ष करीब १ खर्ब ५७ अर्ब रुपैँया बराबरको धान उत्पादन भएको छ । मत्रालयले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २ हजार ७३५ र मध्यमस्तरको धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ तोकेको थियो ।
कुल धान उत्पादनको ६० प्रतिशत मोटा र बाँकी मध्यम र मसिनो भएको अनुमान गर्दा यो परिमाण मूल्यमा धान उत्पादन भएको अनुमान मन्त्रालयले गरेको छ । सो मूल्यमा परालको मूल्य जोडिएको छैन ।
मन्त्रालयले देशैभरिका कृषिसम्बन्धित कार्यालयहरुले संकलन गरी पठाएको तथ्याङ्क, मनसुनी वर्षाको तथ्याङ्क, उन्नत तथा हाइब्रिड बीउबीजनको उपलब्धताको तथ्यांक, रोग किराको प्रभाव आदिको विश्लेषण गरी धान उत्पादनको तथ्यांक सार्वजनिक गरेको हो ।
हिमाली क्षेत्रको पर्यावरणका विषयमा अध्ययन गर्ने संस्था इसिमोडसँगको सहकार्यमा रिमोट सेन्सिङ विधिमार्फत भू उपग्रह तस्वीरको विश्लेषणले पनि धान उत्पादनको आँकडा निकाल्न सहयोग पुगेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष ५ असारमा भित्रिएको मनसुनी वर्षा यो वर्ष ३० जेठबाटै शुरु भएको थियो । गत सालको मनसुन अवधिका तुलनामा यो वर्ष ३१ प्रतिशत बढी वर्षा भएका कारण धान रोपाई छिटो र बढी क्षेत्रफलमा भएको थियो । छिटो धान रोपाई भएका कारण उत्पादन बढ्ने सम्भावना बढी हुन्छ ।
यस वर्ष १४ लाख ७३ हजार क्षेत्रफलमा रोपाई भएको मन्त्रालयले जनाएको छ । यो गत वर्षको तुलनामा करीब १४ हजार हेक्टर बढी हो ।
यो वर्ष सबैभन्दा धेरै प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार टन धान फलेको छ । त्यस्तै प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार टन तथा कर्णाली प्रदेशमा १ लाख ३७ हजार टन धान फलेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा १४.५ रहेको बीउ प्रतिस्थापन दर यस वर्ष २३.४२ प्रतिशत पुगेको छ ।
यस्तो छ धान उत्पादनको आँकडा :
आर्थिक वर्ष धान उत्पादन (मेट्रिक टन)
२०७७/७८ ५६ लाख २१ हजार ७१०
२०७६/७७ ५५ लाख ५० हजार ८७८
२०७५/७६ ५६ लाख १० हजार ०११
२०७४/७५ ५१ लाख ५१ हजार ९२५
२०७३/७४ ५२ लाख ३० हजार ३२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया