काठमाडौँ- राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन तथा चुनाव घोषणा संविधानसम्मत भएको दावी गरेकी छन् । सर्वोच्च अदालतलाई जवाफ पठाउँदै राष्ट्रपति भण्डारीले यसविरुद्ध परेको रिट खारेज गर्न पनि माग गरेकी हुन् ।
‘नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटनगरी नेपाली जनता समक्ष मिति २०७७ साल वैशाख १७ गते शुक्रवार पहिलो चरण र २८ गते सोमवार दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचन गर्नेगरी मिति तोक्ने निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिश भएको उक्त सिफारिसका आधारमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने कार्य भएकोले सो कार्य संविधानसम्मत नै हुँदा निवेदकको रिट निवेदन खारेज गरिपाउँ,’ राष्ट्रपति कार्यालयबाट सर्वोच्चमा पेश गरिएको जवाफमा भनिएको छ ।
राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेलले हस्ताक्षर गरेको जवाफमा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिशमा काम गर्ने र मन्त्रिपरिषद्को सिफारिशकै आधारमा प्रतिनिधिसधा विघटन गरी नयाँ चुनाव घोषणा गरिएको उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतद्वारा दर्ता गरिएको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया