काठमाडौं । वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । हिन्दू धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख,शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस लेखमा वास्तु शास्त्र अनुसार छतमा पानीको ट्याङकी कुन दिशामा राख्दा राम्रो हुन्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ ।
शहर बजारमा आधुनिक घर निर्माण गरि पानी ट्याङ्की घरको छतमा राख्ने परम्परा रहेको छ । कतिपय मानिसले पानी ट्याङकी राख्ने समयमा वास्तुशास्त्र अनुसार उचित ठाउमा राख्दछन् भने कतिपयले कुन दिशामा ट्याङ्की राख्ने भनेर धेरै विचार पुर्याएको पाइँदैन । तर वास्तुशास्त्रका अनुसार पानीको ट्याङ्कीले वास्तुलाई निकै प्रभावित गर्दछ । पानी ट्याङकी उपयुक्त दिशामा नहुँदा घरमा बस्ने मानिसमा आर्थिक वा पारिवारिक समस्या आईरहन्छ । उन्नती प्रगतीमा पनि बाधा अवरोध आउछ भने घरमा बस्ने मानिसको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दछ ।
त्यसैले पानीको ट्याङ्कीलाई घरमा राख्नु अघि वास्तुलाई विशेष ध्यान पुर्याउनै पर्ने हुन्छ । वास्तु विज्ञानका अनुसार घर भित्र पानी राख्नका लागी उत्तर र पूर्वी दिशा उत्तम मानिएको छ । यी दिशामा घरभित्र पानीको भाडा,घैंटो,वाटर प्युरिफाएर,जलपात्र हुनु निकै शुभ मानिन्छ । तर यही दिशामा छतमा पानीको ट्याङ्की राख्दा भने वास्तु दोष उत्पन्न हुन्छ । यसले व्यापारमा नोक्सान,घरमा बस्ने व्यक्तिको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने र आकस्मिक दुर्घटनाको सम्भावना बढाउछ ।
वास्तु शास्त्र अनुसार छतमा पानीको ट्याङ्की दक्षिण पश्चिम अर्थात नैऋत्य कोणमा ठाउ बनाएर राख्नु पर्दछ । यसरी राख्दा घरमा समृद्धी र उन्नती आउछ भने लामो समय सम्म सुख शान्तीको अनुभव गर्न सकिन्छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया