काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राजनीतिक रुपमा विभाजनमा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुनैपनि पक्षमा आफू नरहेको र अबका दिनमा पनि नरहने बताएका छन् ।
नेकपा विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको आरोप लगाउँदै राष्ट्रिय सभा सदस्य गौतमले नेपाली राजनीति अत्यन्तै कठिन परिस्थितीमा रहेको समेत बताए ।
आज राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैपटक सम्झाएको र पार्टी फूटमा जान नदिन अविश्वासको प्रस्ताव पुगेपछि स्वविवेकले राजीनामा दिन सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गरेको समेत बताए ।
के – के भने उनले ?
‘मैले अल्पमतमा परेपछि पार्टी जोगाउनको निम्ति राजीनामा दिनुपर्छ समेत भनेको थिएँ । उहाँ मेरो सहयोद्धा भएको कारण पनि अविश्वासको प्रस्ताव आएपछि राजीनामा दिनुपर्छ भनेँ। उहाँले मान्नुभएन । मैले धेरैपटक सोचेँ पनि । म भएको भए के गर्थे भनेर ? तर ओलीजीले त्यसो गर्नुभयो ।
उनले थपे “प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।”
‘सर्वोच्चमा परेका रिट संवैधानिक ईजलासमा लगेपछि असंवैधानिक हुन् भन्न मिल्दैन त्यसैले म चुप लागेको हुँ ।’
‘हामीलाई वाक स्वतन्त्रता छ । मौलिक अधिकार छ । बोल्न मिल्छ तर त्यो सर्वोच्चमा छ । मदन भण्डारीपछि सबैभन्दा धेरै प्रशिक्षण दिने मै हुँ हामीले संविधानको सर्वोच्चतालाई मान्छौँ । भनेका छौँ । संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा बदनाम गर्नु हुन्न भन्ने लाग्छ । तर आज त्यहि भएको छ । आज हाम्रो पार्टी राजनीतिक रुपमा दुई समूहमा छ । किनभने मैले विचार गरेँ यो तिन वर्षमा पार्टी विभाजन गर्नुपर्ने थियो भने एकता किन गरेको ? पार्टीमा अन्तरपार्टी संघर्ष हुन्न भन्नु बेतुकको कुरा हो । कुनैपनि राजनैतिक पार्टीमा अन्तरसंघर्ष हुन्छ नै । अन्तरसंघर्षबाटै नयाँ जीवन दिनुपर्नेमा राजनीतिक रुपमा विभाजित छ कानूनी रुपमा के हुन्छ थाहा छैन ।’
अन्तिममा निकै आशावादी सुनिएका उनले एकताको लागि लामो समय प्रयत्न गरेको र सफल भएको कारण एकता गराउन सकिन्छ कि भनेर अझै पनि आफूलाई लागिरहेको बताए ।
”मलाई लाग्छ पार्टीको बीचमा एकता अपरिहार्य छ । मुख्य दुई नेता यसरी उत्रनुभएको छ कि सभ्यता लाज लाग्नेगरी लागिरहनुभएको छ ।”
यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि आफूलाई थाहा नदिएको उनले बताए । “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए । यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।” पहिलोपटक राष्ट्रिय सभामा उभिएर बोल्दै गर्दा आफू खुसी हुन नसकेको समेत उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया