कमला अर्याल /काठमाडौँ –लामो समयदेखि चर्चामा आएको बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्चेन्ज (नेप्से) बीच जुहारी चलेको छ ।
सेबोन र नेप्सको जुहारीका कारण पूँजी बजारका लागि बहुप्रतिक्षित मानिएको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तुइने अवस्थामा पुगेको छ ।
धितोपत्रसम्बन्धी ऐन अनुसार हाल धितोपत्र दोस्रो बजारमा खरिद–बिक्री सेवाको पहुँचलाई देशव्यापी बनाउन बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने गरी अर्थ समितिले बोर्डलाई निर्देशन समेत दिएको थियो ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अर्थ समितिले एक उपसमिति बनाएर अध्ययन पनि गरेको थियो ।
सांसद रामकुमारी झांक्रीको संयोजकत्वमा बनेको सो उपसमितिले बोर्डलाई अध्ययन प्रतिवेदन समेत बुझाइसकेको छ ।
सो अध्ययन प्रतिवेदनमा बोर्डले के गर्ने ? नेप्सेले के गर्ने ? भन्ने विषयमा प्रष्ट पारिएको छ । तर पनि बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अझै शुरु भएको छैन ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अर्थ मन्त्रालयले पनि अनुमति दिएको थियो । तर सेबोन र नेप्से गैर जिम्मेवारी भएका कारण ब्रोकर लाइसेन्सको विषयम ओझेलमा परेको छ ।
झाँक्रीको संयोजकत्वमा बनेको सो उपसमितिले दिएको प्रतिवेदनमा विभिन्न ११ बुँदामा बैंकलाई ब्रोकर लाइसेन्स दिन उचित भएको उल्लेख गरिएको छ । तर सेबोन र नेप्सेको जुहारीका कारण बैंकले ब्रोकर लाइसेन्स प्राप्त गर्ने विषय सेलाएको छ ।
के भन्छन् सरोकारवाला निकाय ?
रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको कमिटले प्रतिवेदन बुझाएको पनि छ महिना बितिसकेको छ । तर यस विषयमा सेबोनले हेलचक्र्याँई गरेको बोर्डकै कर्मचारीले बताउँदै आएका छन् । तर सेबोनको त्यस्तो कुनै मनशाय नभएको प्रवक्ता निरज गिरीको भनाइ छ ।
सेबोन सधै बैंकलाई ब्रोकरको लाइसेन्स दिने पक्षमा रहेको उनको भनाइ छ । तर त्यसका लागि नेप्सेले सिफारिस गर्नुपर्ने भएकाले त्यसैमा काम अड्केको प्रवक्ता गिरीले बताए ।
‘‘बैंकलाई ब्रोकर लाइसेन्स दिन नेप्सले सिफारिस पठाउनुपर्छ तर अहिलेसम्म नेप्सेबाट सिफारिस नआएकाले प्रक्रिया अगाडि बढेको छैन,’ उनले भने ।
प्रवक्ता गिरीका अनुसार सेबोनको वर्तमान ऐन अनुसार ब्रोकर र डिलरका लागि नेप्सेले सिफारिस गर्नुपर्ने व्यवस्था छ । नेप्सेले सिफारिस नगरेकै कारण प्रक्रिया अड्किएको उनले बताए । ‘नेप्सेले सिफारिस नगरी हामीले अनुमति दिन मिल्दैन,’ उनले भने ।
बैंकलाई ब्रोकर लाइसेन्स दिन सबै निकाय सहमत छन् सबै काम सकिएको छ । अब सिफारिस पठाउ भन्ने व्यहोराको निर्देशन सेबोनबाट नेप्सेलाई जानुपर्छ ।
सेबोनको निर्देशन बिना नेप्सेले पनि सिफारिस गर्न सक्दैन । तर त्यस्तो निर्देशन सेबोनले अहिलेसम्म नदिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले बताए । ‘बोर्डको निर्देशन नआएसम्म हामी प्रक्रिया अगाडि बढाउँदैनौँ,’ उनले भने ।
सिफारिस मात्रै होइन नेप्सेले यस अघि नै निवेदन नै आह्वान गरेको थियो सिईओ साउदको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया