प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै हो ।
आजको कान्तिपुर दैनिक लेख्छ–२०७१ भदौ २६ गते आठराई–४ र ५ को १ सय १० रोपनी जग्गा मालपोत कार्यालय संक्रान्ति बजार तेह्रथुमले केपी शर्मा ओली ट्रस्टको नाममा पास गरिदिएको थियो । जबकि भूमि ऐन, २०२१ ले कुनै व्यक्ति या संस्थाले काठमाडौंबाहिरका पहाडी क्षेत्रको जग्गा ७० रोपनीभन्दा धेरै राख्न नपाउने स्पष्ट व्यवस्था गरेको छ ।
प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य संरक्षक तथा अध्यक्ष रहेको ट्रस्टले आठराई–४ र ५ को जग्गा खरिद गरेको थियो । सात सदस्यीय ट्रस्ट सञ्चालक समितिमा अरू पदाधिकारी भने परिवार र नातागोताबाहिरका छन् । मालपोत कार्यालय संक्रान्ति बजारले दिएको जग्गाधनी पुर्जामा ‘केपी शर्मा ओली ट्रस्टको कार्यालय बालकोट–४ भक्तपुर’ उल्लेख छ । प्रधानमन्त्री ओलीको निजी निवास पनि बालकोटमै छ ।
२०७१ मा ओलीको स्वास्थ्य अलि बिग्रिएको थियो । त्यतिखेरै आफ्नो नाममा ट्रस्ट खोल्ने र ट्रस्टबाट सामाजिक सेवा गर्ने उनको इच्छाअनुसार ट्रस्ट दर्ता गरिएको हो । ट्रस्टकै लागि भनेर ओलीले आफ्ना बुबाले बेचेको घरजग्गा पनि त्यतिखेरै फिर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया