काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभिभारा एकातिर पन्छाएर अनेकन बखेडा झिकेर पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु बाटोमा गएर ‘यहाँ छौँ’ भन्दै बसेका कारण भगौडासँग दन्तबजान गर्ने फुर्सद आफूहरुलाई नभएको टिप्पणी गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीले बेरोजगारी, सुकुम्बासी समस्या, लालपूर्जा, नाका सुरक्षा, एअरपोर्ट , सडक सुविधा , सिँचाई, सुख्खा बन्दरगाह, पर्यटनको विकासका लागि द्रुत गतिमा काम भइरहेको र निकट भविष्यमा नै बन्ने प्रष्ट पारे ।
उनले थपे, ‘यहाँका जनताको चाहनाअनुसार नै मेडिकल कलेज र मेडिकल विश्वविद्यालय, छाङरु सम्म जाने बाटो तयार, बैतडीमा उद्योग खानी (फस्फोरस) उद्योगको प्रयोग गर्ने काम भइरहेको छ । पश्चिम सेती जलविद्युत् आयोजना मन्त्रालयले राम्ररी अगाडी लैजान नसकेको कारण काम ढिलो गतिमा भए । अब पश्चिम सेती जलविद्युत् आयोजना अगाडी बढाइनेछ । निकट भविष्यमा त्यसलाई तयार गरिनेछ ।’
सरकार सुशासन ल्याउने र भ्रष्टाचारको अन्त्य गरी समृद्ध नेपाल बनाउन अभिभारा पूरा गर्न व्यस्त रहेकोले प्रचण्ड माधव कुमार नेपाल झलनाथ खनाल लगायतका भगौडासँग दन्तबजान गर्ने समय नभएको समेत सुनाए ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासको लागि कृषिमा आधुनिकीकरण लगायतका आधारभुत कामहरु बाँकी रहेको र त्यो पूरा गर्ने अभिभारा आफ्ना सामून्ने रहेको भन्दै अश्लिल नारा लगाएर हामी यहाँ छौँ भन्दै सडकमा बस्नेतिर हेर्ने फूसर्दसम्म नभएको टिप्पणी गरे ।
‘हामी हराभरा देशमा आयात निर्मूल पार्ने काममा लागेका छौँ । उद्योग बनाउने, निर्यात गर्ने, विदेशी मुद्रा आर्जन गर्ने लगायतका काममा हामी अघि बढेका छौँ । ‘कोभिड – १९’ ले व्यवधान गरेतापनि बाटो निर्माण भइरहेको छ । पूर्वाधार निर्माण र विकासको लागि हामी प्रभावकारी ढंगले काम गरिरहेको छौँ ।’
केन्द्रिय संघीय सरकारका तर्फबाट बजेट कमि हुन नदिने दोहोर्याउँदै सालघारी मासेर आफू सप्रिन खोज्ने तत्वहरुलाई मैले हटाएँ भन्दै उनले थपे, ” देशमा संकटजस्तो स्थिती देखा परेको छ । संघियता जाने भयो भन्दै हल्ला भएको छ । ५० वर्षअघि गणतन्त्रको लागि १४ वर्ष जेल बसेको मै हुँ । उहाँहरु (प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल) ३ करोड मानिसमा उहाँहरुसँग २६५ जना जानुभयो । नुहाउँदा पनि २ /४ वटा केश झरेर जान्छ । ५४ सालमा पनि त्यस्तै भयो । म चुनौति दिन्छु । २ अंकमा सिट ल्याएर देखाउनुहोस् । १० वटा सिट ल्याएर देखाउनुहोस् । काम नै गर्न नदिएका कारण मैले ताजा जनादेशमा जाने निर्णय लिनुपरेको हो । तसर्थ व्यवस्था नै हट्छ वा अरु केहि अर्थमा यसमा भ्रममा नपर्नुहोला ।’
सम्बोधनको क्रममा उनले भने : छुट्टीएर गएपछि उहाँहरुको भन्नुभयो ‘पार्टी हाम्रो हो ।’ यो पार्टी जनताको पार्टी हो छोरी र बुहारी अनि परिवारको पार्टी होईन । देश बनाउने जनताको पार्टी हो । त्यसकारण उहाँहरुले बेतुकका गफ नगरे हुन्छ । बरु तपाईहरुका आँखा कमाउनेतिर होईन देश विकास गर्नेतिर लगाउनुहोस् । ध्यान कता छ उहाँहरुको ? काम लाग्छ कि ! भनेर प्रचण्डलाई पार्टीमा ल्याएका थियौँ । प्रचण्डतर्फ संकेत गर्दै उनले भने, ‘अध्यारोमा चहार्ने बानी भएकाहरु उज्यालोमा टिक्न सक्दैन ।’
प्रतिनीधि सभा विघटन असंवैधानिक हो भन्ने हल्लाको पछि नलाग्न भन्दै उनले थपे, काम गर्न दिएनन् ताजा जनादेशमा जान्छु भनेपछि अर्को विकल्प छैन ।
केपी ओलीले चुनाव गर्न सक्दैन/ गर्दैन भनेको टिप्पणीमा उनले भने, ‘चुनाव समयमा नै हुन्छ । तयारीमा लाग्नुस् । तर खराब तत्वलाई गाउँमै ठेगान लगाउनुहोस् माथि गए हैरान बनाउँछन् । त्यस्ता व्यक्तिलाई जिताएर पठाउनुहोस् । जो जनताको सेवामा खटिओस् । हाम्रो भूमि दाबी गरेर नक्शा सामेल गरेर अघि बढाएपछि केहि मान्छेहरु आत्तिएका छन् । मिलेर गए सजिलोसँग देश बनाउन सकिन्छ । उहाँहरुलाई मिल्नै नसक्ने के पर्यो ? माधव कुमार नेपाल मसँग चुनाव हार्नुभयो । चुनाव नगरी १५ बर्षसम्म पार्टी चलाउनुभयो । त्यसपछि म जितेर आएको हुँ ।
अन्तिममा रुवाण्डामा जातिय युद्ध भएको र नरसंहार भएको घटना सुनाउँदै उनले भने, ‘यस्तो झुटको राजनीतिबाट जोगिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया