दम्पती मृत फेला प्रकरण : यी ‘क्लू’का कारण शंकाको सुई सोझियो सुदिक्षातर्फ !

काठमाडौं । गत शुक्रवार (२०७७ पुस २४) काठमाडौं टोखा नगरपालिकाको ग्रान्डी भिल्लामा दम्पती मृत अवस्थामा फेला परेको घटनामा विभिन्न अनुमानहरु भइरहेका छन्।

‘पहिले श्रीमान् को हत्या गरेर पछि आफैले पासो लगाइन् !’

‘कस्तो निर्मम हत्या गर्न सकेको सिलौटोले हानेर’

दम्पती कै शव भेटिएकोले कोही तेस्रो मान्छे आएर यो घटना गराएको हुनुपर्छ ।

‘कसैसँग रिसिइबी थियो होला अनि घटना घट्यो ।’

दम्पतीको शब भेटिएपछि बाहिरिएको समाचारको आधारमा सामाजिक सञ्जालमा मानिसहरुले आ-आफ्नै कोणबाट व्यक्त गरेका विचार मात्रै हुन् यी ।

धेरैले अनुमान गरेजस्तै कसैको रिसिइबीकै कारण हत्या भएको हो त ? भन्ने लोकपथको  प्रश्नमा अपराध अनुसन्धान माहाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने, ‘अनुसन्धानबाट त्यस्तो केही खुलेको छैन। यो घटनाको सामाजिक विषय भयो । जसमा हामीले मृतकका परिवार साथीभाइ ईष्टमित्रहरुसँगको अनुसन्धान गरिरहेका छौँ अहिलेसम्म त्यस्तो रिसिइबीको कुरा खुल्न आएको छैन।’

घटनाको ‘टेक्निकल म्यानुअल इन्भेस्टिगेसन’को आधारमा घटनामा तेस्रो व्यक्तिको संलग्नता छैन । अनुसन्धान गरिरहेको प्रहरीले घटनामा ३ मुख्य कारण औँल्याएको छ । जसका कारण सुदिक्षातर्फ शंकाको सुई तेर्सिएको छ ।

पहिलो कारण :  घटना आफैमा स्पष्ट छ । घटना भएको घरका सबै कोठा भित्रबाट बन्द थिए । बाहिरबाट मान्छेको प्रवेश सम्भव छैन । बाहिर सेक्यूरिटी गार्डको इन्ट्रीमा कसैको पनि ‘इन्ट्री’ गरेको देखिँदैन ।

दोस्रो कारण :  मृतक भेटिएको घर सबै भित्रैबाट ‘लक’ थियो । मृतक सुदिक्षाकी दिदी शर्मिला गिरीले घरको पछाडिको ढोका खोलेकी थिइन् । तर घटना देखिसक्दा पनि शर्मिलाले प्रहरीलाई घटनाको बारेमा किन ढिला जानकारी दिइन् ? भन्ने कुराबारे भने अनुसन्धान भइरहेको छ । घटनाबारे एक प्रहरी अधिकारी भन्छन् – ‘घर सम्पूर्ण रुपमा भित्रबाट बन्द भएकाले कुनै तेस्रो व्यक्तिको संलग्नता नरहेको हामीले बुझेका छौँ । तर मिहीन ढंगले अनुमान भइरहेको छ ।’

तेस्रो कारण : प्रारम्भिक रिपोर्टका आधारमा उनीहरुको मृत्यु केही घण्टाको बीचमा भएको छ । क्राईम सिनका आधारमा पनि शंका मृतक सुदिक्षातर्फ नै सोझिएको हो ।

सबैभन्दा पहिले घटनाबारे थाहा पाउने शर्मिला गिरी (मृतकको दिदी) कसरी बताउँछिन् घटनालाई ?

”बुधवार उमेश केसी र पत्नी सुदिक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीवार भने सुदिक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि लागेको थिएन,”  शर्मिलाले प्रहरीलाई बयानमा भनेकी छिन्, ”त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसेँ अनि बहिनी झुन्डिएको अवस्था र ज्वाईँको शव गन्हाएको अवस्थामा भूईँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।”

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको भनाइ छ । बहिनी र ज्वाईँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले प्रहरीसँगको बयानका क्रममा बताएकी छन् ।

घटनामा तेस्रो पक्षको संलग्नता

उमेशका दाजु हिमेशले भाइबुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरेका छन् । ‘सुदिक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनको भनाइ छ ।

उमेशले अमेरिका जानका लागि तयार पारेका कागजातहरू प्रहरीले फेला नपारेपछि उमेशले भाइबुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरेका हुन् । उनीसँग नागरिकता, पासपोर्टलगायत अमेरिका जना चाहिने आवश्यक कागजात नभेटिनुले पनि हत्या भएको संकेत मिल्ने परिवारको दाबी छ ।

‘अमेरिका जानका लागि आवश्यक पर्ने कागजात उसँगै थियो घटना स्थलमा ती कागजात भेटिएन । ती कागजपत्रहरू कहाँ गए ?’ हिमेशले प्रश्न गरेका छन् ।

यस्तो थियो ‘क्राईम सिन’ 

घटना उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको टाउकोको देब्रेतर्फको भागमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । सुदिक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतवार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने अस्पतालले जनाएको छ ।

चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०-१२ घण्टापछि सुदिक्षाको मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।

घटनाको रहस्य थाहा पाउनसक्ने ‘अन्तिम क्लू’

घटना स्थलमा न त कुनै नोट भेटियो न त कुनै ‘डकुमेन्ट’ नै । प्रहरीले घटनाको प्रकृति हेरेर र पोस्टमार्टमको प्रारम्भिक रिपोर्टका आधारमा सुदिक्षाले श्रीमानको हत्या गरेर पछि आफूले पासो लगाएको बताएको छ ।

साथै, प्रहरीले घटनास्थलबाट उमेश र सुदिक्षाको मोबाइल बरामद गरेको छ । मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मोबाइलबाट कुनै न कुनै ‘क्ल्यू’ मिल्ने प्रहरीको भनाइ छ ।

के भन्छ प्रहरीको पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट ? 

उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिनु र सुदिक्षाको शव सलले पासो लगाइएको अवस्थामा फेला पर्नुले उमेश निदाएको बेलामा सुदिक्षाले सिलौटो प्रहार गरी उमेशको हत्या गरिन् ।

प्रहरीले घटनास्थलमा रगत लागेको सिलौटो पनि भेटाएको थियो। जसलाई सुदिक्षाले हतियारको रूपमा प्रयोग गरेकी थिइन् । उमेशको टाउकोको बाँयापट्टि प्रहार गरिएको थियो  भने शरीरको अन्य कुनै पनि भागमा चोट पटक लागेको छैन । एकपटकको प्रहारमा नै उमेशको मृत्यु भयो । किनभने टाउकोमा लागेको चोटको अवस्था हेर्दा एक पटक मात्र प्रहार गरेको देखिन्छ । ‘इन्टरनल ब्लिडिङ’का कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

उमेशको मृत्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले जनाएको छ । प्रहरी पुग्दा उमेशको शव गलिसकेको थियो भने सुदिक्षाको शब आहालै अवस्थामा थियो । अनुसन्धानका अनुसार सुदिक्षाले पहिले उमेशको हत्या गरेर पछि आफैले पासो लगाएको खुल्न आएको छ ।

प्रहरीले घटनापछाडिको कारणहरू पनि खोज्न थालेको छ । दुबै जनाको मृत्यु भएको कारण  भेटाउन कठिन भएको जनाएको छ ।

आफ्नै निवासमा दम्पतीको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यसँग पनि सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?