काठमाडौं । लगानी गरेको लामो समयसम्म पनि बैंकको ऋण नतिरेपछि कृषि विकास बैंक कर्जा असुलीमा खरो उत्रिएको छ ।
लामो समयदेखि लगानीमा रहेको बैंकको करिब २ अर्ब रुपैयाँ उठाउन नसकेपछि धितो लिलामी गरेर बैंकले ऋण असुल उपर गर्न लागेको हो । कर्पाेरेट ऋण अन्तर्गत लगानी भएका ठूला दुई ऋणहरु उठाउन नसकेपछि बैंकले धितो तिलामी गरी ऋण उठाउने प्रक्रिया शुरु गरेको हो । बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालिको नाममा रहेको होटल माउन्टेन प्रालिसहित धितोमा रहेको १ अर्ब ३५ करोड रुपैयाँ बराबरको धितो लिलामी गरेको हो । त्यसैगरी, बैंकले बिएन सुपरमार्केट प्रालिको धितो पनि लिलामीमा राखेको छ । यस प्रालिले पनि लामो समयसम्म बैंकको ऋण तिरेको थिएन ।
बैंकले विएन सुपर मार्केटको नाममा रहेको ऋण उठाउन ५१ करोड २६ लाख रुपैयाँ बराबरको घरजग्गा लिलामीमा राखेको छ ।
ल्याण्डमार्क अपाट्मेन्ट र होटल माउन्टेनका सञ्चालक रविन्द्रमान मल्ल र उनकी श्रीमति मिनर्भा मल्ल दम्पत्तिले बैंकलाई ८७ करोड ८५ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी छ ।
सो ऋण लामो समयसम्म नतिरेपछि बैंकले धितो लिलामी गर्नुपरेको जनाएको छ । उनीहरुले २०७२ सालमै बैंकलाई ६२ करोड २७ लाख ६५ हजार रुपैयाँ तिरिसक्नुपर्ने थियो । तर उनीहरुले सो रकम नतिरेपछि त्यसको साँवा ब्याज गरेर अहिले ८७ करोड ८५ लाख रुपैयाँ पुगेको हो ।
मल्लकी श्रीमती मिनर्भा र छोरा सार्थकले ग्राण्ड बैंकबाट लिएको १७ करोड रुपैयाँ पनि तिरेका छैनन् । उनीहरुले २०६४ सालमा ग्राण्ड बैंकबाट सो ऋण लिएका थिए । अहिले ग्राण्ड बैंक समस्या ग्रस्त भएर प्रभु बैंकमा गाभिइसकेको छ । मल्ल दम्पती बैंकको ऋण नतिरेका कारण यसअघि नै कर्जा सूचना केन्द्रको कालो सूचीमा परिसकेका छन् ।
मल्लले सर्वसाधारणबाट पनि पैसा उठाएर नतिरेका कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयलमा समेत उजुरी परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया