काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोली माघ १ गते देखि खुल्दै छन् ।
यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । चलचित्रको प्रदर्शनका बारेमा सोधेको एक प्रश्नमा नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलायमान हुने बताए । हामीले नायक एवं निर्माता श्रेष्ठलाई यस्तो कठिन पस्थितिमा सिनेमा किन बनाउनु भयो भनेर सोधेका छौँ ।
तपाइलाई धेरै धेरै शुभकामना तथा बधाइ, यो विषम परिस्थितिमा सिनेमा लिएर आउनुभयो ?
हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडी आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडी आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।
कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र ?
जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँ सम्म आएका हौं । म आफैं बिगत ४० वर्ष देखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तब्य सम्झेर पनि आएको हुँ ।
अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथाबस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ ?
‘एउटा यस्तो प्रेम कहानी’को कथावस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका ब्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौं । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल बिधामा बनेको छ । खासमा गजब बनेको छ ।
फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र ?
यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्ष देखि दिएका माया र विश्वासलाई कर्तब्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनु पर्छ । मेरो फिल्म हेर्न दर्शक हल सम्म आउनुहुन्छ । कोरोनाको कारण घर भित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।
अन्तिममा,यो सिनेमाको प्रदर्शनसँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ ?
यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउले वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केहि रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया