कोठामा हिटर बालेर सुत्दै हुनुहुन्छ ? होसीयार ! जान सक्छ ज्यान

लोकपथ
35
Shares

काठमाडौं – यतिबेला नेपालमा मध्य चिसो छ । चिसोबाट जोगिन धेरैले हिटर बालेर ताप्ने गरेका छन् । तर के यसको प्रयोग गर्दा सावधानी अपनाईरहनुभएको छ ? के तपाई कोठा थुनेर हिटर ताप्दै त हुनुहुन्न ? त्यसो हो भने तपाईले चनाखो हुने पर्छ र यसका कारण उत्पन्न हुने बेफाइदा र ज्यानै जानसक्ने जोखिमबारे तपाईले जान्नै पर्छ । यदि हिटर ताप्दा सावधानी अपनाईएन भने यसले अकल्पनीय दुर्घटना समेत निम्त्याउन सक्छ ।

डा. प्रेम पाण्डे भन्छन्, ‘चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ जोखिम पनि उत्तिनै हुन्छ। निकै सचेत हुनुपर्छ ।’

बन्द कोठाभित्र आगो बाल्दा वा हिटरको प्रयोग गर्दा हुने लापरबाहीले ज्यानै समेत जान सक्ने भएकोले बालबालिका, वृद्धवृद्धा, विशेष अवस्थाका मानिसले अझ बढी सावधान हुनुपर्छ ।

किन यस्तो हुन्छ ?
आगोबाट निस्कने धुवाँ र हिटरबाट कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ । जुन मानव स्वास्थ्यको लागि हानीकारक हुन्छ ।

कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ । यसैको प्रतिक्रियास्वरुप जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानी गर्छ ।

आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन । कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुनेबित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ। र यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरु मर्दै जान्छ । यसैकारण मानिसको मृत्यु हुन्छ ।

जाडो महिनामा यस्ता घटना किन दोहोरिरहन्छन् ?
डा. सूर्य पराजुलीका अनुसार जाडो महिनामा हावाको बहाव कम हुने, कोठा गुम्सिने, घर वा कोठामा हावाको प्रवाह कम हुने कारण यस्तो समस्या बढी देखिन्छ।

डा. पराजुलीका अनुसार यसरी हिटर र आगोमा बस्ने मानिसमा सुरुमा हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै जाँदा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ। समयमै थाहा नपाए मानिसको मृत्यु हुन्छ।

गत वर्ष मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे सुतेकै अवस्थामा बेहोस भेटिए। उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइयो। तर, अस्पताल ल्याउँदा उनीहरु सबैको मृत्यु भइसकेको थियो। त्यो घटना यहि कारण भएको हो ।

प्रहरीको अनुसन्धानबाट उनीहरु सुतेको कोठामा रातभरि हिटर बालिएको थियो। जाडो महिना सुरु भएदेखि देशका विभिन्न स्थानबाट यस्तै प्रकृतिका घटना बाहिर आइरहेका छन्।

त्यसैले सावधान चिकित्सकहरुका अनुसार झ्याल/ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो।

यदी यस्ता लक्षण देखिए तत्काल अस्पताल जानुहोस्
रिँगटा लाग्ने
टाउको दुख्ने
वाकवाकी लाग्ने तथा बान्ता हुने
मुटुको धड्कन बढ्ने हुने
अक्सिजन कमी हुने हुँदा श्वास फेर्न गाह्रो हुने
चक्कर लाग्ने /बेहोस हुने

जाडोमा यसरी बनाउन सकिन्छ न्यानो
हिटर प्रयोग गर्दा झ्याल ढोका खुला राख्नुपर्छ। हावाको ओहोरदोहोर हुन दिनुपर्छ ।

रातभरि हिटर बालेर नछाड्ने, हिटर नजिकै नबस्ने बरु हातखुट्टा तातेपछि हिटर बन्द गरेर ओच्छ्यानमा न्यानो बनेर बस्नुपर्छ ।

सुत्ने स्थान नजिकै आगो बालेर सुत्नुहुँदैन । बरु ओढ्ने ओच्छ्याउनेको राम्रो प्रवन्ध गर्नुपर्छ ।

हिटरको प्रयोग गर्दा जान्नै पर्छ यी कुरा :

हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।

मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।

लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।

सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।

आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?