धर्म र पर्यटनलाई जोड्दै देवघाटधाम

लोकपथ
0
Shares

काठमाडौं । नवलपुर, तनहुँ र चितवनको सिमानास्थित धार्मिक महत्वको स्थल देवघाटधाममा माघ लागेसँगै दिनानुदिन पर्यटक पुग्ने गरेका छन् । माघ मात्र नभई यहाँ साउन महिनामा पनि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्छन् । विशेष चाडपर्व र तिथिका साथै पछिल्ला वर्षमा धार्मिक रुपमा मात्र नभई पर्यटकीय रुपमा समेत देवघाटधाम आकर्षक गन्तव्य बनेको छ ।

देवघाटधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि स्थानीयवासी त लागेका छन् नै, पछिल्ला वर्षमा पनि सरकारले पनि यहाँको विकासलाई चासो दिँदै आएको छ ।

कोरोना कहरले शिथिल पर्यटनलाई पुनरुत्थान गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशमा पर्यटनसम्बद्ध सङ्घसंस्थाले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाएका छन् । देवघाटको धार्मिक पर्यटकीय महत्व उजागर गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवम् नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गत मङ्सिर अन्तिम साता यस क्षेत्रको प्रवद्र्धनात्मक भ्रमणसमेत गरिएको थियो ।

ऐतिहासिक एवम् धार्मिक महत्वको देवघाटधामलाई राज्यले पर्यटकीय रुपमा समेत उपयोग गर्न सक्ने नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए ।

“देवघाटधाम यस क्षेत्रको अतिप्राचीन महत्वको धार्मिकस्थल हो”, उनले भने “आन्तरिक पर्यटनलाई चलायमान बनाउन देवघाटधाम जस्ता धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास अपरिहार्य छ ।” यहाँ माघे सङ्क्रान्ति, साउने सोमवार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्छ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास छ । नेपालको आदिप्रयाग तथा हरिहर क्षेत्र मानिने यहाँ अधिकांश मठमन्दिर शिव तथा विष्णुका छन् भने अन्य देवीदेवताका मन्दिर तथा सत्तल समेत छन् ।

धार्मिक महत्व
देवघाटधामलाई हिन्दू धर्मग्रन्थ तथा पुराणमा सबै तीर्थको श्रेष्ठ तथा अन्य तीर्थलाई पनि पवित्र पार्ने स्थलका रुपमा वर्णन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए । उनका अनुसार ‘वराहपुराण’, ‘स्कन्दपुराण’ आदिमा यहाँको महत्व उल्लेख छ । ‘वराहपुराण’मा यहाँ देवताहरू प्रातः कालमा स्नान गर्न आउने भएकाले यस क्षेत्रलाई देवघाट भनेर उल्लेख गरिएको हो । देशका विभिन्न क्षेत्रका मानिस जीवनको उत्तराद्र्धमा देवघाट आएर कल्पवास बस्दै बाँकी जीवन बिताउँछन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेसँगै यहाँ मकर स्नान शुरु हुन्छ । मकर स्नानका समयमा देवघाटका सबै मठ, मन्दिरमा भक्तजन पूजाआजा, भजनकीर्तन, दानपुण्य आदिमा व्यस्त रहन्छन् । यहाँ स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए । मकर स्नानका लागि सम्पूर्ण देवतासमेत यहाँ आउने जनविश्वासअनुसार हिन्दू धर्मावलम्बी देवघाटधामको वेणी सङ्गममा आउने गरेको उनको भनाइ छ ।

घिमिरेका अनुसार ‘स्कन्द पुराण’मा परापूर्वकालमा समुद्रमन्थनका बेला दैत्य र देवताबीच अमृत प्राप्त गर्न भएको युद्धका क्रममा अमृतको थोपा खस्दा विनाशको आरम्भ हुन थाल्यो । समस्याको निवारणका लागि सबै देवीदेवता महादेवको शरणमा पुगे । त्यसपछि अमृतको थोपा खसेका ठाउँमा स्वयं महादेवले नै एउटा ज्योतिर्लिङ्गको आकार लिए र स्थापित हुनुभयो जुन देवघाटको सङ्गमस्थलमा छ ।

धार्मिकस्थल

देवघाटधाममा गलेश्वर आश्रमको पश्चिमतर्फ कालीगण्डकी किनारमा वशिष्ठ ऋषिको गुफा छ । त्रेता युगमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले सो तपोभूमिमा तपस्या गरेको किंवदन्ती छ । यहाँ वशिष्ठको मूर्तिसमेत देख्न सकिन्छ । वशिष्ठ ऋषिको गुफा रहेको केहीमुनि सीता गुफा रहेको । राम वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास छ । रामले सीतालाई त्यागेपछि सीता पृथ्वीमा विलय भएको गुफाका रुपमा समेत यसलाई चिनिएको छ ।

गलेश्वर आश्रम परिसरबाट पूर्वतर्फ प्राचीन र ऐतिहासिक चक्रेश्वर मन्दिर छ । यहाँ चक्रैचक्र भएको ठूलो शिला छ । पाल्पाका राजा मणिमुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए । एक दिन स्नान गर्न जाँदा चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापना गरेकाले उनकै नामबाट मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए ।

मन्दिरका वरपर चार ठाउँमा मन्दिरका भग्नावशेष छन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर थिए भन्ने भनाइ छ । चितवन र तनहुँतर्फको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुलबाट पूर्वतर्फ केदारनाथको मन्दिर छ । सुन्दर फराकिलो सो मन्दिरको पहिलो तलामा शिव पाञ्चायन देवताका मूर्ति स्थापित छन् । देवघाट र नारायणगढको मध्यमार्गस्थित जङ्गलमा ऐतिहासिक वागीश्वरी मन्दिर छ । नारायणी नदीतर्फ फर्किएको बाघका दुई कलात्मक मूर्ति छन् । अन्य शिला मूर्ति भग्नावशेषका रूपमा छन् । मूर्तिको अध्ययन गर्दा पन्ध्रौँ शताब्दीतिरको भएको अनुसन्धानकर्ताको जिकिर छ ।

विभिन्न आश्रम
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न यहाँ महेश सन्न्यास आश्रम स्थापना गरिएको छ । विसं २०५० मा डा स्वामी आत्मानन्द गिरीद्वारा स्थापित आश्रममा नेपाल संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि स्नातकोत्तर तह (आचार्य) सम्म संस्कृत विषयको पठनपाठन हुने गरेको छ । यहाँबाट धेरै विद्यार्थी दीक्षित भएका छन् । यहाँ अध्ययन गर्नेले निःशुल्क अध्ययन तथा आवासको सुविधा पाउँछन् । एक हजार भक्तजन अट्ने गरी निर्मित हरिहर सन्न्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्म अध्यापन हुँदै आएको छ ।

आवासीय सुविधासहित वटुकहरू यहाँ निःशुल्क अध्ययन गर्छन् । त्यस्तै यहाँको गलेश्वर आश्रममा ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर छ । एक सय ५० रोपनी क्षेत्रफलमा पैmलिएको आश्रममा गायत्रीको ऐतिहासिक महत्वका चुतुर्भुजी नारायण, लक्ष्मी र अन्य देवताका मन्दिर छन् । माध्यमिक तहसम्म संस्कृतको अध्ययन हुँदै आएको छ । देवघाटधाममा रहेको अघोरी आश्रम अरुभन्दा पृथक र आश्चर्यजनक छ । नदी तटमा अवस्थित आश्रमका संस्थापक पगला९पागल० बाबा हुन् भनिन्छ छ ।

उनले कुनै यज्ञमा आफ्नो औँला काटी चढाएको पनि किंवदन्ती रहेको समितिका निवर्तमान अध्यक्ष पौडेलले बताए । तामसिक विचारधाराका अघोरीहरूले भुतप्रेतको साधना गरी उनीहरुलाई खुशी बनाउँछन् भन्ने पनि सुनिन्छ । सधैँ कालो वस्त्र धारण गरी बस्ने अघोरीहरू देवघाटमा लामो समयदेखि बसोबास गर्दै आइरहेको उनले बताए । संसारकै एक मात्र ठाउँमा पाइने विष्णुको स्वरुप मानिने शालिग्राम यही नदीमा पाइन्छ । मुक्तिनाथ ९दामोदरकुण्ड०बाट बग्दै आएको काली देवघाटधाममा नै आएर त्रिशूलीमा समाहित भइ नारायणी नदीको रुप लिएको छ ।

विष्णुपादुका मन्दिर
चक्रवर्ती मन्दिरको नजीकै रहेको सो मन्दिरमा लक्ष्मीनारायणको पाउको चिह्न रहेको स्थानीयवासी बताउँछन् । पत्थरमा रहेको यो चिह्न प्राकृतिक रहेको विश्वास छ । यो शिला अलौकिका साथै रहस्यमयी रहेको स्थानीयवासीको भनाइ छ ।

देवघाटधाम क्षेत्रमा रहेका दर्जनौँ मन्दिर, देवालय आदिले यहाँको महत्व बढाएको छ । देवघाट क्षेत्र विकास समितिको क्षेत्रभित्र पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा मौलाकालिका मन्दिरसमेत छ ।

वैदिक सभ्यतादेखि हिन्दू धर्मग्रन्थमा उल्लिखित विभिन्न विषयलाई प्रत्यक्ष अनुभूति गर्न सकिने देवघाटधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिएमा यसको गरिमा र महत्व अझै बढ्ने नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङ बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?