‘अन्डरकभर’ भएर पत्रकारले गरे खुलासा विद्यार्थीलाई जञ्जिरले बाँध्ने विद्यालयमा शंकास्पद मृत्युसम्म

“भिडियो सार्वजनिक गरेसँगै मेरो सुरक्षाको चिन्ता भयो”

जब मैले अहमदलाई पहिलो पटक भेटेँ तब उसलाई एउटा कोठामा जञ्जिरले बाँधेर एक्लै राखिएको थियो । उसको शरीरभरि नीलडाम थियो । उसलाई आफ्नै उमेरसमेत थाहा थिएन । त्यस्तै १० वर्ष जतिको देखिन्थ्यो ऊ ।

मैले उसलाई भेटेको विद्यालय सुडानको खल्वा नामक २३ वटा शैक्षिक संस्थानमध्ये एउटा थियो जहाँ मैले २ वर्ष ‘अन्डरकभर’ रहेर भिडियो खिचेको थिएँ ।
त्यहाँ म धेरै बालबालिकाहरुको भोगाइको साक्षी भएँ जसमा ५ वर्षका कलिला केटाकेटीहरु पनि थिए । विद्यालयका इन्चार्ज, शेख, धार्मिक व्यक्तिहरुले ती बालबालिकाहरुलाई निर्मम तरिकाले पिट्ने, बाँधेर राख्ने, खानापानी नदिइ थुन्ने गर्थे । यी सबै कुराहरुलाई समेटेर मैले वृत्तचित्र पनि तयार पोरेको छु । सो वृत्तचित्रमा देखानपरेका कतिपय बालबालिकाहरुले आफू बलात्कृत भएको, यौन शोषणमा परेको कुरा पनि खुलाए ।

बिबिसी

सुडान सरकारका अनुसार त्यहाँ ३० हजार भन्दा धेरै खल्वाहरु छन् । जसले सरकार वा निजी दाताहरुबाट पैसा पाउँछन् । यहाँ बालबालिकाहरुलाई कुरान याद गराइन्छ । निशुल्क हुने भएकाले कतिपय परिवारले खल्वालाई मूलधार शिक्षाको विकल्पका रुपमा लिन्छन् विशेषतः विकट गाउँहरुमा जहाँ सरकारद्वारा सञ्चालित विद्यालयहरु छैनन् । यहाँ भर्ना भएका विद्यार्थीहरु विदामा मात्रै घर जान पाउँछन् ।

पुस्तौंदेखि सञ्चालित यस्ता विद्यालय सुडानीहरुका लागि सांस्कृतिक बिम्ब हो जसलाई उनीहरु राष्ट्रिय पहिचानका रुपमा लिन्छन् ।

यद्यपि, केही वर्षदेखि यहाँ विद्यार्थीहरुलाई निमर्म तरिकाले कुटेको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको छ । केही स्थानीय सञ्चार माध्यमहरुमा यहाँका बालबालिकाहरु शेखदुवारा बलात्कृत हुने गरेको कुरा पनि बाहिरिएको छ । तर, सञ्चार माध्यम, सरकार र मानव अधिकारकर्मीहरु समेत यस विषयमा मौनता साँधेर बसेका छन् ।

मलाई यहाँ हुने अपराधको व्यापकता र गहिराइ सबैका सामू ल्याउनु थियो । पीडित बालबालिकाहरुलाई आवाज दिनु थियो जसमार्फत् उनीहरुले आफ्ना भोगाइको कथा भन्न सकून् ।

मसँग आफ्नै अनुभवका कथाहरु पनि थिए किनकी किशोरावस्थामा म आफै पनि खल्वामा बसेको थिएँ । हरेक दिन शिक्षकको पिटाइबाट बच्नलाई एक किसिमको अदृश्य युद्ध नै लड्नुपर्ने हुन्थ्यो ।

मलाई थाहा थियो कि यो अनुसन्धान गर्दैगर्दा मैले मेरा परिवार र साथीभाइको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । तर, मलाई जसरी भएपनि यथार्थ बाहिर ल्याउनु थियो । भलै ममाथि ‘धार्मिक शिक्षालाई हमला गर्न खोज्ने पश्चिमी षड्यन्त्रको हिस्सा’ भन्ने आरोप नै किन नलागोस् ।

बीबीसीलाई जानकारी गराउनु भन्दा केही महिना अघिदेखि नै मैले आफ्नै हिसाबले अनुसन्धान शुरु गरिसकेको थिएँ । मैले भ्रमण गरेको पहिलो खल्वा थियो, हज एल–डली जहाँ शंकास्पद गतिविधिहरु हुन्छ भन्ने खबर बाहिरिएको थियो ।

म अरु सँगसँगै दिउँसो प्रार्थना गर्न खल्वाको मस्जिदमा छिरेँ । यसो गर्दैगर्दा मैले लुकाएर आफ्नो मोबाइल फोनको क्यामेरामार्फत् त्यहाँको दृश्य पनि कैद गरिरहेको थिएँ ।

प्रार्थना गर्न झुकेको मात्र के थिएँ मैले अनौठो आवाज सुनेँ । मेरो मुटुले ठाउँ छोडिसकेको थियो । टाउको उठाएर हेर्दा देखेँ मेरा अघि लस्करै लागेर आइरहेका विद्यार्थीहरुका पाउ जञ्जिरले बाँधिएका थिए, जनावरजस्तै ।

बिबिसी

प्राथर्ना सकिएपश्चात् विद्यार्थीहरु गए । म पनि निस्किनलाई उठेको मात्र के थिएँ मैले हिंसात्मक रोदन र चिच्याहट सुनेँ । आवाज पछ्याउँदै जाँदा म एउटा अँध्यारो अध्ययन कोठामा पुगेँ जहाँ मैले एकजना बालकलाई रुँदै गरेको अवस्थामा भेटेँ । उसका पाउहरु सँगै बाँधिएका थिए । मैले त्यो दृश्य पनि लुकेर खिचेँ । त्यस बालकको नाम अहमद रहेछ । उसले घर जान मनलागेको कुरा मलाई बतायो । उसलाई सान्तवना दिँदादिँदै मैले शेखहरु त्यतैतिर आउँदै गरेको अनुभव गरेँ र तुरुन्तै क्यामेरा बन्द गरेर खल्वाबाट निस्किएँ ।

भोलिपल्ट पनि त्यसैगरी खल्वाभित्र पसेँ म । त्यहाँका गतिविधिहरुको अझै विस्तृत अध्ययन गर्नु थियो मलाई ।

जब म त्यहाँका विद्यार्थीहरुसँग कुरा गर्दै भिडियो लिन थालेँ मैले एकजना विद्यार्थीले मलाई ध्यानपूर्वक हेरिरहेको अनुभूति गरेँ । ऊ तत्काल त्यहाँबाट गयो र केही समयपश्चात् विद्यालयको शेख इन्चार्जलाई लिएर त्यहाँ आयो । ती शेखले मलाई भिडियो किन खिचेको भन्दै कराउन थाले । म हतारहतार त्यहाँबाट भागेर सडकमा निस्किएँ ।

त्यसपछि हज एल–डलीको व्यवस्थापन समितिले बीबीसीसँग कुरा गर्दै नयाँ इन्चार्ज राखेको र विद्यार्थीसँगको दुव्र्यवहार पनि बन्द भएको बतायो ।

आफ्नै खल्वाका अनुभवहरु

म विक्षिप्त अवस्थामा घर फर्किएँ । यदि शेखहरुसँग भएको साक्षात्कारका बारेमा कुरा बढेको भए मलाई जस्तोसुकै अवस्थामा पनि पु¥याउन सक्थे उनीहरुले भन्ने चिन्ता त छँदै थियो तर, त्यहाँको अवस्था देखेर मलाई झनै तनाव भयो । ती दृश्यहरुले मलाई आफ्नै खल्वामा बितेका दिनहरु सम्झाए । हरेक दिन जोडसँग कुटाइ खानु सामान्य थियो । तर, हामीलाई बन्धी जस्तो गरी बाँधिदैन थियो ।

म १४ वर्ष हुँदा खल्वामा पहिलो पटक भर्ना भएको थिएँ । मलाई अझै याद छ त्यस दिन म कति उत्साहित थिएँ नयाँ जलाबियाँ (पारम्परिक पहिरन) लगाउन पाउँदा । कहिले बिहान होला जस्तो भएको थियो । जब म त्यहाँ पुगेँ मलाई केही न केही गलत भइरहेको छ जस्तो लागिहाल्यो । अरु विद्यार्थीहरुलाई शिक्षक र शेखहरुसँग खुबै डराएको देखेँ मैले ।

बिबिसी

प्राय साँझको समयमा शारीरिक यातना दिइन्थ्यो । निन्द्रा लागेर आँखा चिम्लियो मात्र भने पनि हामीलाई कोर्राले हानिन्थ्यो । कुटाइबाटै बिउँझिन्थ्यौँ हामी । म कुटाइ सहँदै खल्वामा करिब १ महिना बसेँ होला । जब म घर फर्किएँ मैले आफ्ना मातापितालाई आफूलाई फर्केर जाने मन नै नभएको कुरा बताएँ । त्यहाँ सहनुपरेको निमर्म पिटाइका बारेका चाहिँ भन्ने आँट नै आएन । उहाँहरु मैले त्यसरी बीचमै पढाइ छाडेकोमा खुशी त हुनुभएन तर, मलाई फर्केर जान दबाव पनि दिनुभएन ।

***

हज एल–डलीका शेखसँग त्यस दिन भएको टकराबपछि मलाई फेरि अन्य खल्वामा गएर भिडियो लिने आँट नै आएन । मैले मसँग भएका प्रमाण खोजमूलक पत्रकारितामा अरबियन पत्रकार नामक पत्रकारहरुको समूहमा पेश गरेँ । जसले मलाई बीबीसी अरबिकसँग भेट गराइदियो । त्यस बिन्दूदेखि सबैकुरा परिवर्तन भयो । लन्डनमा भएका मेरा सम्पादकले मेरो भेट ममदउ अकबिक नामक सिरियाली निर्मातासँग गराइदिए । भलै हामी दुवैजना अरबी भाषा नै बोल्थ्यौँ तर, हाम्रो लवज, शैली बेग्लै थियो । यसका बावजुत हाम्रो कामका तालमेल छिट्टै मिलिहाल्यो ।

त्यसपछि हामीले खल्वाहरुको सूची तयार पा-यौं, प्रमाण जुटायौँ तर, यस अनुसान्धानको ‘टर्निङ प्वाइन्ट’ भने मैले पाएको रहस्यमयी अडियो सामाग्री बन्यो जसले मेरो कामलाई निरन्तरता दिन मलाई झनै उत्प्रेरित ग-यो ।

सुडान हिमाल, रेड सी, फराकिला समथर मरुभूमि समेट्ने एक व्यापक देश हो । यस अनुसन्धानको क्रममा मैले ३ हजार माइल्स सम्म भ्रमण गरेँ त्यो पनि सार्वजनिक सवारीमा ।

भ्रमण गर्दैगर्दा मैले ती परिवारहरुलाई भेटेँ जसका छोराहरु खल्वामा दुव्र्यवहारमा परेका छन्, जसले यातना भोगेका छन् । कतिपय अवस्थामा त उनीहरुको खल्वामै शंकास्पद मृत्युसमेत भएको छ ।

आफ्नो समुदायमा शेखहरु यति शक्तिशाली हुन्छन्, उनीहरुको पहुँच यति उच्च हुन्छ कि सामान्य परिवारले उनीहरुको विरुद्धमा मुद्दा दायर गर्ने आँट नै गर्न सक्दैनन् । केही गरी मुद्दा दायर भएर अदालतसम्म पुग्यो भने पनि त्यो मुद्दा यति लामो समयसम्म तन्काइन्छ कि पीडित परिवार दिक्क भएर अन्त्यमा आफ्नो मुद्दा फिर्ता लिने वा क्षतिपूर्ति लिएर त्यहीँ सुल्झाउने निर्णय लिन पुग्छन् ।

बिबिसी

हाम्रो वृत्तचित्रमा देखाइएका परिवारहरुले शेखका विरुद्ध लडेको युद्ध अपवाद हुन् । किनकी यहाँ धेरै परिवारहरुको यही मान्यता छ कि शेखहरुले जे गर्छन् त्यो आफ्ना विद्यार्थीहरुको भलाइका लागि नै गर्छन् । र यदि यस क्रममा केही गल्ती हुन्छ भने त्यो ‘अल्लाहको मर्जी’ हो ।

मेरो आफ्नै परिवारले पनि यही विश्वास गर्ने भएर आफ्नो अनुसन्धानलाई मैले उनीहरुबाट लुकाएर राख्नुपरेको थियो । यसो गर्न गाह्रो तब भयो जब म अनुसन्धानका क्रममा आफ्नै पुरानो गाउँ, नर्थ डार्फरमा अवस्थित एक खल्वा पुगेँ । त्यहाँ मेरा निकै आफन्तहरुको बरोबास रहेको थियो ।

वृत्तचित्र प्रशारण भइसकेपछि मलाई हाम्रो परिवार तथा आफन्तहरु भएको ह्वाट्स एप ग्रुपबाट निकालियो । मैले सोचेको थिएँ उनीहरुले कम्तीमा मलाई प्रश्न गर्नेछन् या मसँग यस विषयमा विवाद गर्नेछन् तर उनीहरुले त मसँग अपरिचित जस्तो व्यवहार पो गरे । यद्यपि, मेरा मातापिताले मलाई फोन गरेर मलाई सान्त्वना दिँदै आफूहरु मेरै समर्थनमा रहेको बताउनुभयो । उहाँहरुलाई मेरो सुरक्षाको भने चिन्ता थियो । कम्तीमा परिवार मेरो पक्षमा छ भन्ने कुराले मलाई केही राहत महशुस भयो ।

वृत्तचित्रले पाएको प्रतिक्रिया

यस वृत्तचित्रले सुडानमा ठूलो प्रभाव पा-यो । डकुमेन्ट्रीमा देखिएका परिवारहरुले स्थानीय समुदायदेखि विश्वभरिबाट आर्थिक, कानूनी र भावनात्मक सहयोगहरु पाएपछि उनीहरुको खुशीको सीमा नै रहेन ।

सामाजिक सञ्जालमा खल्वा बन्द गरिनुपर्छ भन्ने अभियानै चल्यो । कसैले भने यस वृत्तचित्रलाई इस्लाममाथि सोझो आक्रमण हो भन्दै बीबीसीलाई इस्लामविरोधी अभियानमा जुटेको आरोप समेत लगाए ।

विश्वभरि यस विषयमा विचारविमर्श भइरहेका वेला एउटा निकाय भने मौन रहेको छ : सुडान सरकार ।

हाम्रो वृत्तचित्रमा सुडानका धार्मिक मामिला मन्त्री नस्रिद्दिन मुफ्रेले ‘अबदेखि खल्वामा कुट्ने, पिट्ने, यातना दिने वा मानव अधिकार तथा बालबालिका अधिकार हनन नहुने’ बताएको भएपनि उल्लेख्य परिवर्तन देखिएको छैन ।

वृत्तचित्र प्रशारित भएपछि सुडानी सरकारले फिल्ममा देखाइएका सबै विद्यालयहरुमाथि मुद्दा दायर गर्ने घोषणा ग-यो । शैक्षिक संस्थानमा विद्यार्थीहरुलाई पिट्न नपाइने कानून लागू समेत गरियो र, सम्पूर्ण खल्वाको समीक्षा नगरुन्जेलसम्मलाई सरकारबाट कुनै आर्थिक सहयोग नहुने निर्णय लिइयो ।

यी सबै कुराहरुले यही प्रष्ट्याउँछ कि सुडान सरकार यस परिस्थितिसँग जुध्दै छ । तर, हजारौं कलिला बालबालिकाहरुलाई बन्धी जस्तै गरी बाँधेर यातना दिइएको दृश्यले भने अझै पनि सुडानवासीहरुलाई झसङ्ग बनाइरहन्छ ।

(गोपनियताको लागि यसमा प्रस्तुत केही नामहरु परिवर्तन गरिएका छन्)

(फतेह अल रहमान अल हम्दानीको लेख भावानुवाद गरिएको)

फतेह अल रहमान अल हम्दानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?