कमला अर्याल/ काठमाडौँ – चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरुले नाफा घटाएका छन् ।
कोरोना महामारीका कारण राम्रो कारोबार हुन नपाएपछि बैंकहरुको नाफामा गिरावट आएको हो । हालसम्म संचालनमा रहेका कुल २७ वटा बैंकहरुमध्ये २६ वटा बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
जसमा १६ वटा बैंकहरुको नाफामा गिरावट आएको छ ।
त्यस्तै आज (विहिबार) मात्रै १७ वटा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा १३ वटा बैंकको नाफा घटेको बैंकको वित्तीय विवरणले देखाएको छ ।
नाफामा गिरावट आउने बैंकहरुमा नबिल , माछापुछ्रे, इन्भेष्टमेन्ट, नेपाल बैंक, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, हिमालय लगायत रहेका छन् ।
हेरौँ कसको कस्तो प्रगति :
स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै,बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि घटाएको छ । यस अवधीमा बैंकले खुद ब्याज आम्दानी ३७.२८ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकले सञ्चालन मुनाफा ४०.६९ प्रतिशतले घटाएको छ । बैंकले निष्कृय कर्जा पनि बढाएको छ । यस अवधीमा बैंकको निष्कृय कर्जा १.५४ प्रतिशत रहेको छ । गत वर्ष यसै अवधीमा निष्कृय कर्जा ०.१७ प्रतिशत थियो ।
नबिल बैंक :
यस अवधीमा नबिल बैंकले पनि नाफा घटाएको छ । पुस समान्तसम्म नबिलले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधीमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र संचालन आम्दानी पनि घटेको छ ।
यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, सञ्चालन आम्दानी २२ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।
बैंकको खराब कर्जा भने बढेको छैन । यस अवधीमा बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको छ ।
हिमालय बैंक :
हिमालय बैंकले पनि यस अवधीमा नाफा घटाएको छ । बैंकले गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा ६२.५० प्रतिशतले नाफा घटाएको छ । बैंकले यस अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस्तो नाफा १ अर्ब ७४ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानी पनि घटेको छ । यस अवधीमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब ७५ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाख रुपैयाँबाट घटेर १ करोड ९३ लाख रुपैयाँमा समिति भएको छ । बैंकले यस अवधीमा खराब कर्जा पनि बढाएको छ । बैंकको खराब कर्जा बढेर १.२८ प्रतिशतबाट २.१३ प्रतिशत पुगेको छ ।
एनआईसी एशिया बैंक :
एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१९ प्रतिशत बढी हो । बैंकले गत वर्षको यसै अवधीमा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकले यस अवधीमा खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पु-याएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ । बैंकले यस अवधीमा निष्कृय कर्जा सामान्य घटाएको छ । गत वर्ष ०. ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस अवधीमा ०.४३ प्रतिशतमा झरेको छ ।
प्राइम बैंक :
प्राइम कमर्शियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात् ३९.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधीमा बैंकले खुद ब्याज आम्दानी ७५ करोड ४ लाख रुपैयाँ बढेर २ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पु-याएको छ । बैंकको सञ्चालन मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ बढेर २ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुगेको छ । बैंकले यस अवधीमा निष्क्रिय कर्जा भने घटाएको छ । गत वर्ष १.४५ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा यस अवधीमा १.०८ प्रतिशतमा झरेको छ ।
माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले २।३२ प्रतिशत नाफा घटाएको हो । गत आर्थिक वर्ष बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधीमा बैंकको खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । बैंकले यस अवधीमा निष्कृय कर्जा बढाएको छ । गत आर्थिक वर्ष यसै अवधीमा ०।४५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस अवधीमा ०.७६ प्रतिशत पुगेको छ ।
एभरेष्ट बैंक :
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै,बैंकले यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब १ करोड १७ लाख रुपैयाँ घटाएर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झारेको छ । बैंकको सञ्चालन मुनाफा ७८ करोड ३० लाख रुपैयाँ घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा झरेको छ । बैंकको खराब कर्जा गत आर्थिक वर्ष ०.१६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस अवधीमा ०.१९ प्रतिशत पुगेको छ ।
नेपाल बैंक लि. :
पुस मसान्तसम्ममा नेपाल बैंकले पनि नाफा घटाएको छ । बैंकले गत आर्तिक वर्षको पुस मसान्तको तुलनामा बैंकको ०.१५ प्रतिशतले नाफा घटाएको छ । यस अवधिमा बैंकको खुद नाफा १९ लाख रुपैयाँले घटेर १ अर्ब ३५ करोड ४ लाख रुपैयाँमा झरेको छ ।
गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ कमाएको छ । गत आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४ करोड ५० लाख रुपैयाँ थियो ।
कृषि विकास बैंक :
त्यस्तै,कृषि विकास बैंकले पुस मसान्तसम्म १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ५८ करोड थियो ।
ग्लोबल आइएमई बैंक :
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात् ३७.३२ प्रतिशत बढी हो । गत वर्ष बैंकले १ अर्ब ६८ करो ड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधीमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा १।२० प्रतिशत रहेको निष्कृय कर्जा अहिले १.७२ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैंक :
सिदार्थ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ११ करोडले घटाएको छ । बैंकले यस अवधीमा ९१ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष यसै अवधीमा बैंकको नाफा १ अर्ब २ करोड थियो ।
बैंक अफ काठमाडौँ
बैंक अफ काठमाडौंको नाफामा गिरावट आएको छ । बैंकले गत वर्षको तुलनामा यस अवधीमा १७ करोड ५३ लाख रुपैयाँले कम नाफा कमाएको छ । बैंकले यस अवधीमा कुल नाफा ७० करोड ८५ लाख ११ हजार १५ रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधीमा बैंकको नाफा ८८ करोड ३८ लाख १६ हजार ७२७ रुपैयाँ थियो । गत वर्ष यसै अवधीमा बैंकको खराब कर्जा १.५४ प्रतिशत थियो । अहिले १.५२ प्रतिशतमा सीमित छ ।
सानिमा बैंक :
पुस मसान्तसम्ममा सानिमा बैंकको नाफा ७.३८ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालू आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४६ लाख रुपैयाँले घटेर १ अर्ब ६ करोड २७ लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको पुस मसान्तमा २ अर्ब १६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो भने यस अवधीमा ७.९८ प्रतिशतले ब्याज आम्दानी घटेर १ अर्ब ९९ करोड ५० लाख रुपैयाँमा झरेको छ । यस अवधीमा बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधीमा बैंकको खराब कर्जा ०.४१ प्रतिशत रहेकोमा यस अवधीमा ०.५८ प्रतिशत पुगेको छ ।
प्रभु बैंक :
प्रभु बैंकले पुष मसान्तसम्ममा करिब ४० प्रतिशतले नाफा बढाएको छ । बैंकले यस अवधीमा ४३ करोड २९ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ कमाएको छ । गत वर्ष १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको ब्याज आम्दानीमा ९.७२ प्रतिशतले वृद्धि भएकोे छ । गत वर्ष २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा २ अर्ब ६९ करोड ६० लाख रुपैयाँ पुर्याएको छ । बैंकले यस अवधीमा खराब कर्जा अनुपात १.०६ प्रतिशतले घटेकोे छ । गत आवको पुस मसान्तमा ३.१२ प्रतिशत थियो । यस अवधीमा २.०६ प्रतिशतमा झरेको छ ।
कुमारी बैंक :
कुमारी बैंकले पुस मसान्तसम्ममा ५१.५० प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले यस अवधीमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । बैंकले ब्याज आम्दानीमा ३७.०२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधीमा २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । बैंकले खराब कर्जा ०.०२ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तमा १.०४ प्रतिशत खराब कर्जा अहिले १.०६ प्रतिशत पुगेको हो ।
एनएमबि बैंक :
चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा एनएमबी बैंकले १ अर्ब ६१ करोड रुपैयाँ खुद मूनाफा कमाएको छ । गत वर्षको यसै अवधीमा यो नाफा ४७ प्रतिशतले बढि हो ।
सनराइज बैंक :
सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधीमा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जा सामान्य घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको निष्कृय कर्जा यस अवधीमा १.०६ प्रतिशतमा झरेको छ ।
नेपाल बङ्गलादेश बैंक :
नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधीमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । सञ्चालन मुनाफा १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत १.९२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा यस अवधीमा २.३७ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया