नबिल बैंकद्वारा कुलेश्वर फलफूल बजारमा क्यूआर कोडको शुरुवात, डिजिटल भुक्तानीमा अर्काे फड्को

लोकपथ
0
Shares

काठमाडौँ – नबिल बैंकले कुलेश्वर फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी सेवा शुरु गरेको छ ।

सेवाको शुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।

डिजिटल भुक्तानीको यो प्रविधीको उद्घाटन गर्दै गभर्नर अधिकारीले ‘क्यूआर कोड’बाट कारोबार गर्दा विभिन्न छुट पाउनुका साथै पैसा मुलुक बाहिर नजाने बताए ।

क्यूआर कोर्डबाट कारोबार गरौँ, यसबाट कारोबार गर्दा पैसा मुलुकबाहिर जाँदैन ।’ गभर्नर अधिकारीले भने ।

उनले नगद कारोबारले विकृति ल्याउने भन्दै त्यसलाई न्यूनिकरण गर्न सम्पूर्ण कारोबारलाई नगदरहित बनाउने प्रयास गरेको बताए ।

कृषिजन्य कारोबारका लागि राष्ट्र बैंकले विभिन्न सहुलियत दरमा कर्जा समेत दिएको भन्दै गभर्नर अधिकारीले सो सुविधा लिन पनि आग्रह गरे ।

‘तपाईहरु पूर्वाधार तयार गर्नुस्, हामी लगानी गर्न हतारिएका छौँ ।’ गभर्नर अधिकारीले भने ।

सो कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पोडेल, प्रमुख कार्यकारी अधिकृत सीईओ अनिलकेशरी शाह तथा स्थानीय निकायहरुको उपस्थिति थियो ।

राष्ट्र बैंकले नगद कारोबारलाई न्यूनिकरण गर्दै डिजिटल भुक्तानीलाई बढवा दिँदै आएको छ । पछिल्लो समय कयूआर कोडको प्रयोगलाई राष्ट्र बैंकले अभियानकै रुपमा अगाडि बढाइरहेको छ ।

यसअघि सानिमा बैंकले नक्साल तरकारी बजारबाट क्यूआर कोडमार्फत् कारोबारको शुरुवात गरेको थियो ।

त्यस्तै,नख्खु,कालीमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोडबाट भुक्तानी सेवा सुरु भइसकेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको नेतृत्वमा काठमाडौँ उपत्यकाका ठूला तरकारी तथा फलफूल बजारमा क्यूआर कोडलाई अभियानका रुपमा विस्तार गरिरहेको छ ।

डिजिटल युगको शुरुवात नै नबिलबाट

नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो छैन । यसको इतिहास केलाउने हो भने सबै भन्दा पहिले नीजि स्तरको वाणिज्य बैंक नबिल बैंकबाट डिजिटल कारोबारको शुरुवात भएको देखिन्छ ।

यस बैंकले नेपालमा डिजिटल भुक्तानीको अवधारणाको सुरुवात गरेको थियो । नबिलले सन् १९९० मा क्रेडिट कार्डको माध्यमबाट डिजिटल भुक्तानी सुरुवात गर्दै नेपालमै पहिलो पटक डिजिटल कारोबारको थालनी गरेको थियोे ।

त्यसपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि विस्तारै बैंकिङ कारोबारलाई डिजिटल प्रणालीमा लैजान थालेको देखिन्छ ।

नबिल बैंकको डिजिटल भुक्तानी क्रेडिट कार्डदेखि क्यूआर कोडसम्म पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?