काठमाडौँ – ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने व्यवस्था छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकता अनुसार राष्ट्र बैंकले निष्कासन गर्ने गर्छ ।
उद्देश्य
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउनु यो बिलको उद्देश्य हो ।
निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि : ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि प्रयोग गरिन्छ ।
बोल कबोल : ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ ।
बोल कबोलको माध्यम : ट्रेजरी बिलको बोलकबोल अनलाईन बिडिङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ ।
डिस्काउण्ट दर : ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ ।
डिस्काउण्ट दर : डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
बोलकबोलमा सहभागिता : नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक टे«जरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी सम्बन्धी व्यवस्था : ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकम मात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन ।
प्रतिस्पर्धी
बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई टे«जरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
अर्नेष्ट मनी
ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नुपर्दछ । राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र टे«जरी बिल आवेदन खातामा जम्मा गरी भौचर राष्ट्र बैंकमा पेश गर्नु पर्दछ । साथै बोलकबोलमा सफल भएपछि बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्र ऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो खातामा मौज्दात कायम गर्नु पर्दछ ।
बोलकबोलमा असफल
राष्ट्र बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।
सरकारी ऋणपत्रको बोलकबोलमा मूल्य वा ब्याजदर कोट गरी प्रतिस्पर्धात्मक रूपमा बोल गर्ने बोलकर्ता । सरकारी ऋणपत्रको बोलकबोलमा मूल्य वा ब्याजदर कोट नगरी माग रकम मात्र उल्लेख गर्ने बोलकर्ता ।
बोल रकम
ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ ।
बोलकबोल, निष्कासन र परिणाम
ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बोलकबोलको परिणामको जानकारी पनि मंगलबार नै दिने गरिन्छ ।
बाँडफाँड
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म टे«जरी बिलको बाँडफाँट गरिन्छ ।
हिसाब मिलान
बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।
भुक्तानी
ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम भुक्तानी गरिन्छ ।
प्रयोग
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा टे«जरी बिलको प्रमाणपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।
दोस्रो बजार कारोबार
ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया