ओलीले सिटी हल र ६ लेनको सडक शिल्यान्यास गरेपछि रेनु दाहाल आक्रोशित, के-के भनिन् ?

लोकपथ
0
Shares

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिएको भन्दै आक्रोश पोखेकी छिन् ।

चितवनमा शनिबार आयोजित कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको बताउँदै उनले संघीयताको खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर आज भरतपुर महानगरपालिकाको गौरवका आयोजना सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक महानगरलाइ थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको विचार व्यक्त गरिन् । उनले यस कार्यमा भरतपुर महानगरपालिकाको गम्भीर आपत्ति रहेको बताइन् । एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने बताउँदै उनले भनिन्, ‘भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको हो ।’

मेयर दाहालले हाल मुलुकको समृद्धि र विकासका साथै पूर्खाहरुले बलिदानीपूर्ण संघर्षबाट आर्जन गरेको व्यवस्थामाथि धावा बोलिएको बताउँदै समाज र व्यवस्थामाथि अपमान गर्ने त्यस्ता सन्की शासकले क्षमा पाउनै नसक्ने बताइन् । राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर दाहालले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

 

आयोजक संस्थाका अध्यक्ष चक्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले वीर बलभद्र कुँवरलगायतका विभूतिहरूको ऐतिहासिक योगदानले आधुनिक नेपाल सम्भव भएको बताइन् । उनले विभूतिहरुले दिएको योगदानको संरक्षण र सम्मान गर्नु नागरिक र राज्यको दायित्व भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?