काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आज (मंगलवार) काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवम् खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।
सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पारेका छन् । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए । हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिलेही नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे । उनले भने “लडाईमा नहार्ने देश यत्रा यत्रा डल्ला संग किन हार्ने ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने रु सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ? ” अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने “संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो,हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।”
उनले जीतका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उनले भने “चाहिएको कपडा-सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ । ”
नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिए । खर्चको कमि भयो भनेर सहभागीता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उनले सुझाव दिए । उनले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिएका छन् ।
उनले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै उनले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताए । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताए । आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताए । प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताए । केही कठिनाई भएपनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पुर्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिए । खेलकुदहरु सामान्य र विशिष्टिकृत भएको उल्लेख गर्दे उनले राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताए ।
कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताए । हरेक जनताको बीचमा खेलकुद पुर्याउनु आवश्यक रहेको भन्दै उनले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताए । उनले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताए ।
प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा उनले सातै प्रदेशमा एक -एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताए । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पारे ।
मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उनले ‘दुई बर्ष भईसक्यो अझै भएको छैन रु भन्दै अनविज्ञता देखाए ।
कर्मचारी बढुवा तथा नया भर्नाका सम्बन्धमा भने उनले आवश्यकता अनुसार नया दरबन्दी श्रृजना गरी नियुक्ति दिने बताए । अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिए । त्यसबारे रिपोर्ट आएपछि आफुले निर्णय गर्ने उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया