काठमाडौं । विलियम्स वर्ड्सवर्थले आफ्नो कविता ‘माइ हार्ट लिप्स अप वेन आइ बिहोल्ड’मा भनेका छन् ‘चाइल्ड इज द फादर अफ द म्यान’ । अर्थात् बालक नै वयस्कको पिता हो । सुन्दै विरोधाभाषपूर्ण लाग्ने यो वाक्यले भन्न खोजेको के हो ?
यसको आशय भनेको उमेरका हिसाबले वयस्क व्यक्ति बालकको पिता हुने भएतापनि एउटा जिम्मेवार, परिपक्व व्यक्ति बन्न आवश्यक गुणहरु बालापनमै सिकिन्छ भन्ने हो ।
हुन पनि हामीले बालापनमा देखेका, सुनेका, जानेका, बुझेका, सिकेका कुराहरुले नै हामीलाई आकार दिइरहेका हुन्छन् । हामी कस्तो मानव बन्छौं भनेर सङ्केत दिइरहेका हुन्छन् । एउटा बाबुले आफ्ना छोराछोरीलाई कसरी नैतिक, सामाजिक पाठ सिकाउँछ त्यसैगरी हामीलाई मानव बन्ने पाठ पढाइरहेको हुन्छ बालापनले ।
अनि भएन त ‘बालक’ एक वयस्कको पिता ?
यसै पनि सिक्ने, सिकाउने भन्ने कुराको कुनै सीमा नै हुँदैन । जोबाट, जहाँ, जसरी, जहिले पनि नयाँ कुरा सिक्न सकिन्छ । यसमा उमेर, लिंग, पेशा, भूगोल, जात आदिको केही छेकबार नै हुँदैन । यही विचारधारालाई अंगीकार गर्ने हो भने हाम्रा वरिपरि हामीले ज्ञानको अथाह भण्डार भेट्टाउन सक्छौं । तिनै भण्डारको एउटा स्वरुप हो बालबालिका पनि ।
यस अर्थमा हेर्दा साना, कोमल, अवोध लाग्ने केटाकेटीहरुबाट हामीले धेरै जीवनोपयोगी कुराहरु सिक्न सक्छौं । त्यस्ता केही कुरा हामीले यहाँ उल्लेख गरेका छौंः
बच्चाजस्तै मुस्कुराउने
साना केटाकेटीले मुस्कुराएको नियालेर हेर्नुभएको छ ? यदि छ भने तपाइले वास्तविक खुसी के हो देख्नुभएको छ । उमेरसँगै मान्छे तनाव लिन थाल्छ, अनेक झमेलामा फस्छ त्यसपछि ऊ खुलेर मुस्कुराउनै सक्दैन । फेरि खुलेर हास्नु अस्वभाविक हो कि ? समाजले उत्ताउलो त भन्दैन ? भन्ने जस्ता दुविधाले पनि मान्छेलाई हाँस्नबाट रोकिरहेको हुन्छ । त्यसैले, उमेर बढोस् तर, मान्छेले खुसी हुन भुल्नु भएन । मुस्कुराउन छोड्नु भएन ।
अरुको चिन्ता नलिने, अरुको मामिलामा हस्तक्षेप नगर्ने
बालबालिकालाई अरुले के खायो, के लायो, के ग-यो, कोसँग हिँड्यो खासै मतलब हुँदैन । उनीहरुलाई आफ्नो मात्र चासो हुन्छ । विनाकारण अरुको चिन्ता लिने, अरुलाई हस्तक्षेप गर्ने बालबालिकाको प्रवृत्ति नै होइन । त्यसैले पनि उनीहरुको मन सधै प्रसन्न भइरहन्छ ।
खुलेर रुने
कहीँ लडियोस् या आमाले गाली गर्नुहोस्, साथी सँग भाँडाकुटी खेल्दा झगडा परोस् या आफूलाई मनपरेको खेलौना नपाइयोस् बालबालिकाहरु बेपर्वाह रोइदिन्छन् । यही बानीले गर्दा उनीहरुको मनमा लामो समयसम्म पीडा रहिरहँदैन ।
ठूलो भएपछि मान्छेले आफ्ना भावनालाई दबाउन सिक्छ । रुनु कमजोर हुनु हो भन्ने सोच्न थाल्छ । जसले गर्दा उसका संवेगहरु भित्रभित्रै उकुसमुकुस हुन्छन् । अनि ऊ खुसी हुनै सक्दैन ।
इगो नराख्ने
मान्छे विचित्रको हुन्छ । सानासाना कुराहरुमा चित्त दुखाउँछ । कसैले आफूलाई आदर गरेन, कसैले आफूलाई सोधेन, आफ्नो कुरामा सहमति जनाएन भनेर रिसाउँछ । त्यो व्यक्तिसँग भित्रभित्रै ‘इगो’ लिन्छ । ‘पख् तँलाई कुनै न कुनै तरिकाबाट यसको बदला लिन्छु’ भनेर षड्यन्त्र रच्छ । यसले जोसँग रिसाइएको हो त्यस व्यक्तिलाई खासै केही फरक पर्दैन बरु जो रिसाएको हो ऊ आफैलाई पिरोल्छ । बालबालिकाहरु त्यस्ता हुँदैनन् । उनीहरुलाई सबै राम्रा लाग्छन् । सबै सच्चा लाग्छन् । त्यसैले उनीहरुको आत्मा सधै शान्त भइरहन्छ ।
गल्ती भए माफी माग्नु
साना केटाकेटीहरु एकदिन साथीसँग झगडा गर्छन्, भोलिपल्ट उसैलाई आफ्नो ‘बेस्ट फ्रेन्ड’ भन्छन् । उनीहरुका बीचमा रिस, ईष्र्या लामो समय टिक्दै टिक्दैन । ‘सरी’ भनेर होस् या अनेक नुस्का अपनाएर उनीहरु आपसी विवाद सुल्झाइ हाल्छन् ।
यता हुर्किएका, चेत पलाएका हामीलाई ‘माफी’ भन्ने शब्द जति सरल लाग्छ त्यसको प्रकृति उति नै जटिल लाग्छ । त्यसैले त कसैसँग माफी माग्नु प¥यो भने हाम्रो पसिना छुट्छ । पहिलो कुरा त मान्छेले आफ्नो गल्ती कहिल्यै स्वीकार्दै स्वीकार्दैन । उसलाई आफू सधै सही भन्ने नै लाग्छ । दोस्रो कुरा, यदि आफ्नो गल्तीको अनुभूति भयो भने पनि उसलाई अरुका सामू माफी माग्नु उनीहरुका अघि झुक्नु हो, सानो हुनु हो जस्तो लाग्छ ।
लामो समय रिस नलिनु
रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । क्रोधले चुर भएको वेला मान्छेले गलत निर्णय लिन सक्छ, नगर्नु पर्ने काम गर्न सक्छ, नभन्नु पर्ने कुरा भन्न सक्छ । लामो समयसम्म एउटै कुरामा रिसाइरहनुले हाम्रो मस्तिष्कलाई पनि असर गर्दछ । साथै त्यही रिस हाबी भएर कहिलेकाहीँ हामीबाट अपराधिक घटना पनि हुन सक्छ ।
त्यसैले, साना बालबालिकाबाट हामीले आफूलाई चाँडै शान्त पार्ने कला सिक्नैपर्छ ।
कुरा नकाट्नु
बालबालिकाहरु ‘यसले यसो ग¥यो÷उसो ग¥यो’ भनेर पोल लगाउँछन् तर, कसैको कुभलो चिताएर उसको कुरा काट्ने काम कहिल्यै गर्दैनन् । अर्काको जीवनमा चियोचर्चा गर्ने अनि कमजोरी पाउनासाथ कुरा काट्ने, कसैको अगाडि राम्रो व्यवहार गर्ने अनि अरुसँग उसकै बारेमा नानाभाँति कुरा भन्दै विष ओकल्ने दुष्ट प्रवृत्तिका हुँदैनन् बालबालिका ।
त्यसैले, ‘माइन्ड ओन बिज्नेस’ अर्थात् अर्काको भन्दा आफ्नो जीवनमा बढी ध्यान दिने भन्ने कुरा बालबालिकाले सिकाउने महत्वपूर्ण पाठ हो ।
बाँडेर खानु वा साझेदारी मन पराउनु
उमेर ढल्किदै जाँदा हामी झन्झन् व्यक्तित्ववादी बन्दै जान्छौं । ‘म, मेरो, आफ्नो’ देखि वाहेक अन्य विषय हामीलाई गौण लाग्छन् । अनि हामी बिर्सिन्छौं– हामी सामाजिक प्राणी हौं ।
यता केटाकेटीहरु भने बडो अवोध हुन्छन् । उनीहरु कसैले आफूलाई मनपर्ने खानेकुरा खाएको देखे भने तुरुन्तै माग्छन् । अनि आफ्नो खानेकुरा पनि साथीभाइसँग बाँडेर मात्र खान्छन् । उनीहरुलाई केहीको लोभ, मोह हुँदैन । समूहमा बस्न, खान, खेल्न मनपराउने प्रवृत्तिका हुन्छन् ।
त्यसैले, मान्छे बन्न केटाकेटीबाट पो पाठ सिक्ने कि ?
जिज्ञासु रहने
जति ठूलो भयो हामी आफूलाई उति नै बुद्धिमान ठान्छौं, आफूले पर्याप्त सिकिसकेको सोच्छौं, ज्ञानको भोकलाई त्यसै मार्दिन्छौं । यदि जिज्ञासा छ नै भनेपनि कसैलाई सोध्न हिच्किचाउँछौं । लजाउँछौं । अथवा सोध्नु भनेको आफू नजान्ने भएको हो भन्ने अनुभव गर्छौं ।
तर, त्यसो गर्नुहुँदैन । मान्छेको सिकाइ जीवनभर चलिरहन्छ । हरेक क्षेत्र, हरेक व्यक्ति, हरेक समयले मान्छेलाई केही न केही नयाँ कुरा दिइरहेको हुन्छ । आफूले लिनसक्नु पर्छ ।
नपत्याए केटाकेटीलाई नै हेर्नुहोस् न । उनीहरु एकदिनमा कति प्रश्न सोध्छन् होला ? यो कहाँबाट आयो, कसरी हुन्छ, किन हुन्छ ? कहिलेदेखि ? हरेक कुरालाई बडो चाख मानेर सुन्छन् । यही जिज्ञासाले उनीहरुलाई सिर्जनात्मक बनाउँछ ।
त्यसैले आजैदेखि प्रश्न गर्न बालबालिकाबाट सिक्ने कि ?
सकारात्मक सोच र आशावादी रहने
हरेक बालबालिकालाई ‘भविष्यमा के बन्ने ?’ भन्ने प्रश्न गर्नुस् उनीहरुको उत्तरमा तपाइले महत्वकांक्षी लक्ष्यहरु पाउनु हुनेछ । डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, पत्रकार, चित्रकार, अभिनेता आदिजस्ता रंगीन सपना देख्छन् उनीहरु । भलै जीवन जिउने क्रममा ती लक्ष्य परिवर्तन होलान् तर, त्यसो होला भनेर उदास भने रहिरहँदैनन् ।
अहिलेका युवा तथा वयस्कहरुमा यही समस्या छ । उनीहरु नयाँ नयाँ सपना देख्दैनन् । ससाना हारबाट निराश हुन्छन् । हरेस खान्छन् ।
त्यसैले, यदि जीवनमा नकारात्मक सोच, नैराश्यता हाबी हुन थाल्यो भने एकपटक बालबालिकाहरुको माझ गएर समय बिताउनु होला । छुट्टै उर्जा थपिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया