के अब मास्क लगाउन पर्दैन ? सावधान! यस्तो सुझाव दिन्छन् विज्ञ

परिस्थिति सामान्य भएसँगै हेलचेक्र्याइँ गर्दैछन् मानिस

काठमाडौं । कोरोना भाइरसको त्रास विस्तारै कम हुँदै गइरहेको छ । आजभोलि सर्वसाधारण निष्फिक्री हिँडडुल गरिरहेका छन् । विद्यालयहरु पुनःसञ्चालन भइरहेका छन् । रोकिएका परीक्षा धमाधम भइरहेका छन् । कार्यालय तथा व्यापार व्यवसायले पनि आफ्नो ट्र्याक पक्रिएर गति लिइसकेका छन् । झट्ट हेर्दा जनजीवन सामान्य भइसकेको छ ।

यसरी हेर्दा कोरोना अघिको र अहिलेको समयमा शायदै केही फरक पाइएला ।

परिस्थिति सामान्य भएसँगै कोरोनाले सिकाएका केही जीवनोपयोगी पाठहरु पनि मान्छेले विस्तारै बिर्संदै गएको देख्न सकिन्छ ।
कोरोनाको महामारी शुरु हुँदै गर्दा मानिसहरु एकाएक स्वास्थ्यप्रति सजग भएका थिए । मास्कको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने, बाहिर हुँदा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, हाँच्छ्यू गर्दा अथवा खोक्दा मुख छोप्ने, खानपिनमा ध्यान पु-याउने, घरेलु औषधि, उपचारलाई प्राथमिकता दिने आदिजस्ता नियमहरु दैनिक रुपमा पालना गर्दै जाँदा यो धेरैजनाको जीवनशैली नै बनिसकेको थियो ।

अहिले दृश्य केही फेरिएको छ ।

बाहिर हिँड्दा मास्क प्रयोग गर्ने बानी विस्तारै हट्दै गएको देख्न सकिन्छ ।

मास्क प्रयोग नगरी हिँडेका केही सर्वसाधारणलाई लोकपथले प्रश्न गरेको थियो, ‘मास्क किन नलगाउनुभएको ?’

अधिकांशका उत्तरमा एउटै कारण देखियो, ‘श्वास फेर्न गाह्रो हुन्छ ।’

केहीले भने मास्क लाउन झन्झटिलो हुने, दिनभरि मास्क लाउँदा नाक तथा कान दुख्ने जस्ता कारणहरु पनि खुलाए । केहीले चाहिँ मास्क लगाउँदा एलर्जी हुने सुनाए ।

तर, विश्वमा अहिले पनि दिनहुँजसो हजारौंको सङ्ख्यामा कोरोना संक्रमणबाट मान्छेको मृत्यु भइरहेको छ । कैयौं देशमा कोरोनाको नयाँ स्ट्रेनले नयाँ आतंक मच्चाइरहेको छ । यस्तो अवस्थामा मास्क नलगाइ हिँड्नु कतिको उचित हो ?

ग्रान्डी अस्पतालमा कार्यरत संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘मास्कको प्रयोगले कोरोना मात्र नभएर अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरुबाट पनि बचाउने भएकाले यसको प्रयोग गर्नु नै उचित हुन्छ ।’

उनका अनुसार यसपालि कोरोनाकै त्रासमा भएपनि अधिकांशले मास्कको अनिवार्य प्रयोग गरेकाले अरु वर्ष भन्दा श्वासप्रश्वास सम्बन्धी रोग, धुवाँधुलोले लाग्ने रोगहरुमा निकै कमी आएको छ । ‘मास्कको प्रयोगले धुलोका कणहरु हाम्रो नाक र मुखमा प्रवेश गर्न पाउँदैनन्, अन्य व्यक्तिको थुक, सिँगान आदिको बाछिटा पनि पर्दैन,’ डा.अधिकारी मास्कको फाइदाका बारेमा अगाडि थप्छन्, ‘हाम्रो हातले दिनभरिमा धेरै फोहोर छोएको हुन्छ अनि त्यही हातले हामी नाक वा मुख छुन्छौं, यसरी प्रवेश गर्ने कीटाणुबाट पनि मास्कले जोगाउँछ ।’

आफू जोगिन मात्र नभएर अन्य व्यक्तिमा आफ्नो कारणले कुनै संक्रमण नहोस् भन्ने सामाजिक दायित्वको हिसाबले पनि मास्कको प्रयोग गर्ने सल्लाह दिन्छन् डा.अधिकारी ।

बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ?

जनमानसमा जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी हुन्छ भन्ने गलत अवधारणा भएको बताउँछन् संक्रामक रोग विशेषज्ञ डा. अधिकारी ।

कपडाका मास्कले धुवाँधुलोबाट मात्र बचाउने बताउँदै उनले सर्जिकल र एन ९५ वा एन ९९ मास्क प्रयोग गर्न सुझाएका छन् । ‘सर्जिकल मास्कमा ३ वटा पत्र हुन्छ जसको बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । यसले बाहिरबाट आउने संक्रमित थुक, -याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ,’ मास्कको बारेमा थप जानकारी दिँदै उनले भने, ‘त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्ररबाहिर पठाउने काम गर्छ ।’

एन ९५ रेस्पिरेटर चाहिँ चिकित्सक, स्वास्थ्यकर्मी तथा जोखिममा रहेर काम गर्नेहरुले प्रयोग गर्नुपर्ने उनले बताए ।

एन ९५ मास्कले पूर्णरुपमा सुरक्षित राख्छ भन्ने भ्रम कि यथार्थ ?

अहिले बजारमा विभिन्न किसिमका मास्कहरु उपलब्ध छन् । कोरोनाले मास्कलाई अनिवार्य जस्तो बनाएपछि मानिसहरुले आफ्नो सुविधा र चाहनाअनुसार विभिन्न डिजाइनका मास्कहरु लगाउन थालेका छन् । विशेष गरेर सेलिब्रेटीहरुले आफ्नो पहिरनसँग मिलाएर मास्क लगाएको देखेपछि फ्यानहरुले पनि त्यही ‘ट्रेण्ड’लाई अनुसरण गर्दै आएका छन् । मास्कलाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणले भन्दा पनि सौन्दर्यको हिसाबले लगाउने चलन भित्रिएपछि एउटा महत्वपूर्ण सवाल उठेको छ, के बजारमा पाइने सबै मास्क उत्तिकै प्रभावकारी हुन्छन् त ?

कस्तो मास्क लाउने भन्ने कुरा आफू कस्तो ठाउँमा जाने हो भन्ने कुराले निर्धारण गर्ने बताउँछन् त्रिवि शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा. निरज बम ।

‘जोखिमयुक्त ठाउँमा जाने व्यक्ति जस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले एन–९५, एन–९९ मास्क प्रयोग गर्नुपर्छ । भिडभाडमा जाने, दीर्घ रोगी तथा लक्षण देखिएका व्यक्तिहरुले पनि त्यस्तै मास्क प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई भने त्यस्तो मास्कको आवश्यकता पर्दैन, उनीहरुले सर्जिकल मास्क प्रयोग गर्दा हुन्छ ।’

डा. बम फिल्टर भएको मास्क प्रयोग नगर्ने सल्लाह दिँदै भन्छन्, ‘त्यो भन्दा बरु सर्जिकल मास्क नै प्रयोग गर्नु उचित हुन्छ ।’
एन ९५ र सर्जिकल मास्कहरु ‘यूज एण्ड थ्रो’ किसिमका हुन्छन् अर्थात् एकपटक प्रयोग गरेपछि धोएर पटकपटक प्रयोगमा ल्याउन मिल्दैन । यस्तो अवस्थामा एउटा मास्कको आयू कति ?

डा. बम भन्छन्, ‘सर्जिकल मास्क ५ देखि ६ घण्टासम्म प्रयोग गर्नुपर्दछ भने एन–९५ मास्क २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।’

सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।

यसलेः

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।
ससाना कणहरुबाट बचाउन सक्दैन ।
यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।
हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।
यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?