कति छ नेपालसँग विदेशी सञ्चिति ? यस्तो छ राष्ट्र बैंकको तथ्यांक

काठमाडौं । कुनै पनि मुलुकसँग भएको विदेशी सञ्चितिले त्यो देशमा आयात गरिने वस्तु तथा सेवाको भुक्तानी गरिन्छ ।

मुलुकको आयातलाई धान्ने सञ्चिति हुँदा मुलुकलाई आयात गर्न सहज हुन्छ । अहिले नेपालसँग कुल विदेशी विनिमय सञ्चिति १४९३ अर्ब ७५ करोड रहेको छ । यो सञ्चिति चालू आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको हो ।

विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असार महिनासम्ममा यस्तो सञ्चिति १४०१ अर्ब ८४ करोड बराबर थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३१८ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ पुस मसान्तमा ०.४ प्रतिशतले कमी आई १७५ अर्ब ९ करोड कायम भएको छ । २०७७ पुसमसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ ।

यस्ता छन् सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, १०५.२ प्रतिशत र ३२.२ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत,१०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

के हो विदेशी विनिमय सञ्चिति ?

विदेशी विनिमय ऐन २०१९ अनुसार ‘विदेशी विनिमय’ भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिटकार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्झनुपर्छ र सो शब्दले बैड्ढले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ । त्यस्तै, विदेशी विनिमय कारोबार भन्नाले विदेशी विनिमय खरिद बिक्री गर्ने, ऋण लिने, दिने वा अन्य कुनै तरिकाले विदेशी विनिमय लिने, दिने कार्य सम्झनु पर्छ र सो शब्दले बैड्ढले विदेशी विनिमय सटही स्वीकृति दिने कार्य समेतलाई जनाउँछ ।

ध्यान दिनुपर्ने कुराहरू

राष्ट्र बैंकको स्वीकृति नलिई कसैले पनि विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । मुलुकभित्र विदेशी मुद्राको चलन गर्न अर्थात् कारोबार गर्न पनि पाइँदैन । भारु लगायत सम्पूर्ण विदेशी मुद्रा साँटेर नेपाली मुद्रामा मात्र कारोबार गर्न पाइने व्यवस्था छ । विदेशी मुद्रा सटही गर्दा स्वीकृति प्राप्त कम्पनीबाट मात्र कारोबार गर्नु पर्दछ । अन्यथा राष्ट्र बैंकले दन्डित गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?