काठमाडौं – नेपाली कांग्रेसले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका- ३ कि १७ वर्षीय किशोरी भागरथी भट्ट हत्या घटनाको अनुसन्धान तिव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न सरकारसँग माग गरेको छ ।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले बलात्कार र हत्या भएकि किशोरी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको भएको ९ दिन पूरा हुँदासम्म पक्राउ नपरेका कारण यस घटनालाई गम्भिर रूपमा लिएको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा अहिलेसम्म भट्टको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई पनि दुःखद र गम्भिर रूपमा लिएको उल्लेख छ ।
कांग्रेसले अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।
विज्ञप्तिमा अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको भन्दै जघन्य अपराधका घटनामा न्यायका लागि र घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि सबैमा अपिल समेत गरेको छ ।
यसैबीच बैतडी घटनास्थलमा अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवम् स्थानीयवासी र परिवारजनसँग भेट गर्न कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज (शुक्रबार) बैतडी पुग्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया