एजेन्सी । के तपाईँ मध्यरात सम्म निद्रा मारेर बस्नु हुन्छ ? पछिल्लो समयमा वयस्क र युवायुवती मात्र होइन बालबालिका पनि विभिन्न बहानामा कम सुत्ने गरेका छन् । कोही फिल्म हेर्ने बानिले त कोहि मोवाइल गेम खेल्ने बानिले । यदि तपाईँ दैनिक आठ घण्टाभन्दा कम सुत्नुहुन्छ भने सावधान । दैनिक आठ घण्टाभन्दा कम सुत्ने अधिकांश मानिसमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्कस्थित विघम्टन विश्वविद्यालयलको एक अध्ययनले सो तथ्य पत्ता लगाएको हो ।
सुत्ने समयावधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने व्यक्तिमा बढी मानसिक समस्या र चिन्ता देखिएको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई आउने पाइएको उल्लेख गरिएको छ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै हुने अध्ययनले देखाएको छ । त्यसैगरी सो अध्ययनले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पनि पत्ता लगाएको छ । अनियमित सुताई भएकाहरुमा नकारात्मक सोचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर समेत पर्ने गरेको अध्ययनले देखाएको छ ।
अनुसन्धान टोलीका एकजना सदस्यले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए । अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टा सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया