काठमाडौं । आँखामा फुलो पर्ने समस्या हामी धेरैले भोगेको हुनसक्छौं । आँखाको नानी (कालो भाग)मा घाउ भएर पिप जमेको अवस्थालाई नै फुलो परेको भनिन्छ । आँखा निकै संवेदनशील अंग भएकाले यसमा साना चोटले पनि ठूलो असर गर्छ । नानीमा घाउ लागेपछि ब्याक्टोरिया, भाइरस र फंगसको कारण संक्रमण हुनु नै फुलो पर्नु हो । फुलो परेको आँखाको नानीमा सेतो टिका देखिन्छ ।
आँखामा चोट लाग्नु, कुनै वस्तुले आँखा पास्नु, आँखा सुख्खा हुनु, लामो समयसम्म आँखामा कन्ट्याक लेन्सको प्रयोग गर्नु, आँखाको एलर्जी औषधी (स्टोरोइड)को गलत प्रयोग गर्नु जस्ता अनेक कारणले आँखामा फुलो पर्छ । फुलो परेको छ वा छैन भन्ने जान्नका लागि यसका लक्षणहरु जान्नु जरुरी हुन्छ । यस्ता लक्षणहरु देखिएमा आँखामा फुलो परेको भन्ने बुझ्नु जरुरी छ ।
- आँखाको नानीमा सेतो टीका देखिनु
- आँखा रातो हुनुको साथै धमिलो हुनु
- घाम लागेको समयमा आँखा हेर्न अप्ठ्यारोे हुनु
- आँखा दुख्ने र आँशु बगिरहनु
- कसैले बत्तिको वरीपरी इन्द्रेणीजस्तो देख्नु
कसरी गर्ने उपचार ?
आँखामा फुलो पर्ने समस्या आम नेपालीका लागि सामान्य जस्तो लाग्न सक्छ । तर यो समस्यालाई डाक्टरहरुले भने जटिलताको रुपमा लिनुपर्ने बताउँछन् । अधिकांश मानिसहरुमा गाई, गोरु वा मान्छेको पिसाब वा दुध आँखामा राख्दा फुलो परेको ठीक हुन्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यस्तो कार्य आँखाका लागि झनै घातक हुनसक्छ । समयमै यसको उपचार गरिएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ । त्यसैले आँखामा बाह्य वस्तु नराखेर डाक्टरको सल्लाहअनुसार जतिसक्दो छिटो यसको उपचार गर्नु नै फइदाजनक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया