प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीको उपाधि मुनस्टोनको पोल्टामा

लोकपथ
0
Shares

काठमाडौं-  माघ २७ गतेदेखि शुरु भएको १७ औँ संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी – २०७७ को उपाधि मुनस्टोन क्रिकेट क्लबले उचालेको छ । उपाधिसँगै मुनस्टोनले नगद २० हजार र ट्रफी उचाल्यो । उपविजेतामा चित्त बुझाएको इस्र्टनले नगद १० हजार र ट्रफी प्राप्त ग-यो ।

विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका अध्यक्ष राजु बस्न्यात, विशिष्ट अतिथि प्रेम सुपर मार्केटका प्रमुख एवम् समाजसेवी प्रेम कुमार श्रेष्ठ, धुर्मुस – सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’, र चितवन क्रिकेट संघका पदाधिकारीहरुले पुरस्कार प्रदान गरेका थिए ।

धुर्मुस- सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा ग्लोबल इन्टरफेस इस्र्टन क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै मुनस्टोनले उपाधि उचालेको हो । इस्र्टनले दिएको २६४ रनको लक्ष्य पछ्याएको मुनस्टोनले ४१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । मुनस्टोनका लागि योगेन्द्र सिंह कार्कीले ६० बलमा ५२, भिम सार्कीले ३४ बलमा ४६ र लोकेश बमले १८ बलमा ३९ रन बनाए ।

इस्टर्नका लागि सुमित महर्जनले ९ ओभरमा एक मेडनसहित ४८ रन खर्चिदै ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको इस्र्टनले निर्धारित ४५ ओभरमा ७ विकेट गुमाउँदै २६३ रन जोडेको थियो । उसका लागि नन्दन यादवले अविजित ३५ बलमा ८३, सुमित महर्जनले ३१ बलमा ५१ र कप्तान आकाश थापाले ३६ रन बनाए ।
मुनस्टोनका लागि भीम सार्की र हरिबहादुर चौहानले समान २ विकेट र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए ।

फाइनल खेलमा मुनस्टोनका योगेन्द्र सिंह कार्की म्यान अफ दि म्याच घोषित भए ।

यस्तै तीन वटै खेलमा म्यान अफ दि म्याच घोषित भएका योगेन्द्र म्यान अफ दि सिरिज समेत घोषित भएको संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट बलर विपिन खत्री र उत्कृष्ट व्याट्सम्यान सुमित महर्जन घोषित भए ।

चितवन क्रिकेट संघको आयोजनामा सो प्रतियोगिता थियो । प्रतियोगिताका संयोजक उमेश पियाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

समापन समारोह संघका अध्यक्ष कैलाश प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?