भागरथी बलात्कारपछि हत्यामा एक जना पक्राउ, मोबाईलको ब्याट्रि र प्रहरीको कुकुरले दिएको त्यो संकेत !

लोकपथ
0
Shares

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारत जान लागेको अवस्थामा एक जनालाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको स्रोतले बताएको छ । शंकाको घेरामा परेका ती व्यक्ति आज पक्राउ परेका भने होईनन् । उनलाई गत शनिवार पक्राउ गरिएको हो । प्रहरीको टोलीले ती शंकितलाई शनिवार राति कञ्चनपुरको महेन्द्रनगरहुँदै भारत जान लागेको अवस्थामा पक्राउ गरेको हो । अनुसन्धानलाई असर नगरोस् गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी स्पष्ट गरी दिएको छैन ।

खोचलेक बजारमा थिए घटनाको दिन…
भागरथीको बलात्कारपछि हत्या भएको दिन ती व्यक्ति घटनास्थलबाट ३ किलोमिटर वर रहेको खोचलेक बजारमा थिए । घटना भएको केही दिनपछि ती व्यक्ति बैतडीबाट कञ्चनपुर गएका थिए।

‘भागरथी खोचलेक बजारबाट घरतर्फ लागे लगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ।’ प्रहरी स्रोतले भन्यो – ‘उनी नै अभियुक्त हुन सक्छन् भन्ने धेरै प्रमाण प्राप्त भएका छन्, अझ पुष्टि गर्दैछौँ। अरु केही व्यक्तिलाई पनि ‘क्लोज रिङ’मा राखेर अनुसन्धान गरिरहेका छौँ । ‘

जिल्ला अस्पताल बैतडीको पोस्टमार्टम रिपोर्टले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो । उनको शवको केहि पर उनले प्रयोग गर्ने फोन समेत भेटिएको थियो भने त्यसको कल डिटेल (लग) डिलिट गरिएको थियो । मोबाईलको ब्याट्रि ती व्यक्तिको घर नजिकै प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका व्यक्तिको घर नजिकै भागरथीले प्रयोग गर्ने फोनको ब्याट्रि फेला पर्नु , प्रहरीको तालिमप्राप्त कुकुरले समेत तिनै व्यक्ति गएको दिशातर्फ संकेत गर्नु, घटना भएको केही दिनपछि ति व्यक्ति बैतडीबाट कञ्चनपुर जानु, भागरथी खोचलेक बजारमा देखिएको बखत ती व्यक्ति पनि सोही ठाउँमा देखिनु, ति व्यक्तिलाई भागरथीको परिवारबारे थाहा हुनु, भागरथी जंगलतर्फको बाटो जाँदा ति व्यक्ति सोही बाटो जानु लगायतका कारणले ती नै व्यक्तिले अपराध गरेका हुन् कि भन्ने आशंकालाई अझ बलियो पारेको छ । यद्यपी निर्मला प्रकरणमा भारी अपजस खेपेको प्रहरी पूर्ण रुपमा अनुसन्धान किनारा नलगाई मिडियामा बोल्ने पक्षमा छैन । प्रहरीले अनुसन्धान जारी रहेका कारण बोल्न नमिल्ने बतायो ।

भागरथीको बलात्कारपछि हत्या भएको रात पानी परेको कारण कुकुरले केहिबेर अपराधीको पदचाप पच्छ्याएता पनि मोटरबाटोमा पुगेर अलमलिएको थियो । तर खोचलेक बजारतर्फ उसले संकेत गरेको थियो ।

पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

घटनास्थलमा सयौँको संख्यामा प्रहरी खटिएका छन् । दुई वर्षअघि कञ्चनपुर भिमदत्तकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण जसरी नगिजोलियोस् भन्नेमा यस घटनामा प्रहरी निकै संयमित छ । प्रहरी अधिकारी यस सम्बन्धमा केही बोल्न मान्दैनन्। घटनाको अनुसन्धान भइरहेकाले मिडियाबाट जाने सूचनाको कारण हुनसक्ने अप्ठेरो मापन गरेरै यसपटक प्रहरी निकै संयमित भएर प्रस्तुत भएको हो । घटनाको अनुसन्धानमा खटिएका प्रहरी यस घटनामा केहि शंकास्पद व्यक्तिलाई ‘क्लोज रिङमा’ राखेर अनुसन्धान भएको र छिट्टै अपराधी सार्वजनिक गर्ने बताउँछन् । ती अधिकारीले भने ‘हामी अपराधीको नजिक छौँ । अनुसन्धान जारी छ । धेरै कुरा बोल्ने अवस्था छैन। केहि समय पखिदिनुहोस् सबै सत्यतथ्य बाहिर ल्याउँछौँ । ’

स्थानीय सनातम धर्म माविको १२ कक्षामा कमर्श संकाय अध्ययनरत भागरथी भट्टको बलात्कारपछि हत्या भएको आज (मंगलवार) १४ दिन बित्दासमेत अपराधी पत्ता लगाई सार्वजनिक गर्न नसकेको भन्दै प्रहरीमाथि देशभरबाट दबाव बढेको छ।

यसैबीच प्रहरीले लवलेक जङ्गलमा ‘सर्च अपरेशन’ चलाइरहेको छ भने शंकास्पद ४ जना व्यक्तिलाई प्रहरीले ‘क्लोज रिङ’मा राखेर सबुत र प्रमाणसँग ‘क्रस भेरिफाई’ गरिरहेको जनाएको छ । अनुसन्धानका लागि प्रहरीले १० वटाभन्दा बढी टोली गाउँगाउँ परिचालन गरेको छ ।  माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको बलात्कारपछि हत्या भएको थियो । स्कूल गएकी छोरी साँझसम्म पनि घर नफर्केपछि उनकी आमा द्रोपदीले गाउँघर र आफन्तकहाँ खोजी गरेकी थिईन् । भट्टका परिवारले माघ २२ गते (बिहिवार) साँझ ५ बजेतिर भागरथीको साथीहरुले गरेको खबरको आधारमा उनको शव लवलेक जंगलको बाटोभन्दा तलपट्टि करिब ७० मिटर मुनिको बनमाराको झाडीमा फेला पारेका थिए । ”जंगलको वनमारा माडिएको देख्यौँ । भागरथी हराएको भन्ने थाहा पाएका थियौँ । शंका लागेर हेर्न जाँदा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका हौँ ।” उनको शव भेट्ने साथीहरुले प्रहरीलाई बयान दिएका थिए।

त्यसपछि प्रहरीले माघ २२ गते बिहिवार रातभर भागरथीको शव कुरेर अपराध अनुसन्धान टोलीलाई पर्खेको थियो ।

घटनास्थलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, चिकित्सकले विभिन्न कोणबाट अनुसन्धान गरी सबुत तथा प्रमाणहरु संकलन सकेपछि भागरथीको शव उठाइएको थियो । त्यसपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी पठाइएकोमा उनको बलात्कारपछि हत्या भएको रिपोर्ट आईसकेको छ । तर उनको शव जिल्ला अस्पतालमा नै छ । दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ । पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि जिल्लामा मात्रै होईन देशभर प्रदर्शन भएको छ । दोषी पत्ता लगाउन प्रहरीमाथि चर्को दबाव परेको छ ।

Image result for भागरथी

 

संयमित छ प्रहरी
माघ २२ गते (बिहीवार) घटनास्थलमा तालिमप्राप्त कुकुर लिएर गएर प्रहरीको लागि किशोरीको बलात्कारपछि हत्या भएको रात पानी परेका कारण अनुसन्धानमा केहि कठिनाई भयो । तर प्रहरीले शुरु देखि नै यो घटनामा निकै संयम प्रस्तुत गरेको छ । प्रहरीको कुकुरले नै मृतक भागरथीको सामान्य किप्याड मोबाईल शव भएभन्दा केहि पर फेला पारेको थियो । भागरथीको मोबाइलको ब्याट्री एक सरकारी पद धारण गरेका व्यक्तिको घर नजिक फेला परेको थियो । अपराध गराएपछि व्यक्तिले  प्रयोग गरेको बाटो केहि हिँडेको कुकुर पछि रोकिएको थियो । प्रहरीको कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजार (गाउँपालिकाको केन्द्रसमेत रहेको) तर्फ संकेत गरेको थियो । अहिले त्यस बजारमा सयजना भन्दा बढी प्रहरी खटिएका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफैँ माघ २३ गते शुक्रवारदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । करिअर नै दाउमा राखेर डिआईजी सुवेदी आफैँ फिल्डमा गएका कारण पनि प्रमाणका स – साना अंशलाई पनि यतिबेला सुक्ष्म अध्ययन गरिरहेको छ, प्रहरीले । प्रहरीको यतिको सक्रियताका बाबजुत पनि अपराधी पत्ता लाग्न सकेको छैन । तर अनुसन्धानमा निर्मला प्रकरण जस्तो त्रुटी नहोस् भन्नको लागि प्रहरी कटिवद्ध भएर लागेको छ ।

घटनामा फेला परेका केही क्लू…
घटनास्थलमा भेटिएका प्रमाण, प्राप्त जानकारी, सबुत, भेटिएका सामाग्री लगायतको कारण यस घटनामा स्थानीय व्यक्तिकै संलग्नताको आशंका गरिएको छ ।

Image result for भागरथी lokpath

क्राईम सिन : 
भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको घटनास्थल बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडकबाट जान सकिन्छ । पातलो सल्लाका रुखमुनि वनमारा र अन्य स-साना बुट्यान र सल्लेभिर छ – घटनास्थल वरपर । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो । जंगलको केहि खोल्सो परेको स्थानमा मुख्य सडकबाट करिब ७० मिटरको दूरीमा भेटिएको उनको शव शरीरमा कोतरीएको, अर्धनग्न, योनीबाट रगत बगेको, भित्रि बस्त्रमा रगत लागेको, टाउकोमा चोट लागेको अवस्थामा भेटिएको थियो । सँगै उनको झोला समेत भेटिएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा भागरथीलाई कसैले जबरजस्ती गर्न खोजेपछि ओरालो बाटो उनी भाग्न खोजेको देखिन्छ । किनभने उनको कपालको केही अंश बाटोबाट करिब १५ मिटरकै दूरीमा भेटिएको थियो । कपालसँगै उनले प्रयोग गर्दै गरेको कपाल बाँध्ने ‘रबर ब्याण्ड’ पनि फेला परेको थियो । उनको केहि कपालहरु सडकमा पनि झरेको देखिएको छ । प्रहरीका अनुसार भागरथी सडकबाट ओरालो बाटो भाग्ने प्रयत्न गरेका थिए तर उनी सफल भइनन् । अपराधीले उनलाई त्यहाँबाट घिसार्दै करिब ७० मिटर तल पुराएर बलात्कारपछि हत्या गरेको छ । प्रहरीको अनुसन्धानले यहि देखाएको छ । के यो सामुहिक बलात्कार थियो भन्ने धेरैको प्रश्न हामीले प्रहरीसँग राखेका थियौँ  यसको जवाफ दिँदै प्रहरी स्रोतले प्रहरी अनुसन्धानको महत्त्वपूर्ण कडीका रुपमा रहेको ‘भेजाइनल स्वाब’ को रिपोर्ट हेरेपछि मात्रै घटनामा एकै व्यक्ति वा अन्यको पनि संलग्नता थियो भन्ने यकिन हुने जवाफ दियो ।

प्रहरीका अनुसार घटनास्थल हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्यून छ । त्यसकारण घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने र भागरथीलाई ‘टार्गेटमा’ पारेको हुनसक्ने प्रहरीको दाबी छ । ‘जब भागरथीलाई अपराधीले एक्लै देख्यो, त्यसपछि भागरथीसँगै केही समय हिँडेर एकान्त स्थान  (जंगलमा) पुगेपछि आक्रमण गरेको प्रहरीको अनुमान छ । त्यसकारण घटनामा संलग्न अपराधी भागरथीलाई नजिकबाटै चिन्ने व्यक्ति रहेको हुन सक्ने प्रहरीको ठम्याई छ ।

साथीहरूबाट छुट्टिएपछि भागरथी एक्लै जंगलको बाटो हुँदै घर जान लागेको , उनले खोचलेक बजारमा चाउचाउ किनेको,(प्रहरीसँग बयानमा एकजनाले आफूले भागरथीले चाउचाउ खाँदै बसेको देखेको ) पनि जनाएको छन् । बजारबाट केहिबेर उकालो हिँडेपछि बीच जंगल हुँदै जानुपर्ने बाटोमा कोही व्यक्ति उनको पछि लागेको र उसले बलात्कार गरेको बलात्कारपछि घटना सार्वजनिक हुने डरले तुरुन्तै घाँटी थिचेर हत्या गरेको देखिएको छ। तर, पीडितले प्रतिकार गर्न सकेको घटनास्थल मुचुल्काबाट देखिएको छैन ।

प्रहरीले खोज्दैछ पैदल यात्रु
दोगडाकेदार गाउँपालिकाको केन्द्र रहेको खोचलेकदेखि मृतक किशोरीको घर जाने सडक हुँदै त्यस दिन (माघ २१ गते बुधवार) को – को हिँडेका थिए भन्ने कुरा पत्ता लगाउन प्रहरी लागिपरेको छ । प्रहरीले खोलचेक बजारदेखि केहीमाथि सिल्ल भन्ने स्थानसम्म भागरथीलाई देखेको भन्ने मान्छे फेला पारेको छ । ”मैले देख्दा भागरथी चाउचाउ खाँदै बसिरहेकी थिईन् । देख्ने मान्छेले प्रहरीसँग भनेका छन् । बजारबाट केही उकालो जङ्गलको बाटो हिँडेपछि  डाँडामा पुगिन्छ।  केही वर्ष अघिमात्रै खनिएको उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ।

अपराधीसँग कुराकानी भएको थियो ?
अपराधीलाई भागरथी र भागरथीले अपराधीलाई चिनेकै होलान् त ? यो प्रश्नमा प्रहरीले भन्यो, ‘अपराधीसँग भागरथीको कुराकानी भइरहेको सम्भावना भने ज्यादै न्यून छ ।’ भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर) मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन । भागरथीले प्रयोग गर्ने एनसेल र एनटीसीको मोबाइलमा घटना भएको दिन कोही पनि व्यक्तिसँग कुराकानी भएको पाइएको छैन । डिजिटल फरेनसीका ल्याबबाट आएको रिपोर्ट हो यो । तर यस घटनामा धेरै विधी र तरीकाले अध्ययन भइरहेको छ ।” भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट ब्याट्रि झिकेर फालेको अवस्थामा फेला पर्नुले अपराधमा संलग्न व्यक्ति निकै चलाखी गर्नसक्ने हुनुपर्ने प्रहरीको भनाई छ ।

Image result for भागरथी

बजारमा साथीले भने, ”कपाल काट्नु छ”

घटना भएको दिन (बुधवार) दिउँसो २ बजेअगावै स्कूल छुट्टी भयो । कक्षा १२ मा कमर्श विषयमा अध्ययनरत उनको कक्षामा २२ जना विद्यार्थी छन् । आफू पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा साथीहरूसँगको सम्पर्कमै थिइन् – भागरथी । उनका साथीहरूका अनुसार भागरथी केही विद्यार्थीसँगै स्कुलबाट हिँडेकी थिइन्। केहीबेरमा उनी स्कूल तलको (स्कुलभन्दा करिब १ किलोमिटर टाढा ) खोचलेक बजार पुगेकी थिइन्। स्कुलबाट १० मिनेट जति पर रहेको खोचलेक बजारमा पुगेपछि उनकै स्कुलमा कक्षा ११ मा पढ्ने तीन जना (भानदेव,तर्कराज नातामा भाईहरु पर्ने) त्यहाँ भेटेकी थिईन् । ती मध्येका तर्कराज भट्टले दिउँसो २ बजेतिर भागरथीसँग खोचलेक बजारमा भेट भएको प्रहरीसँग बताएका छन् । ‘खोचलेकको धारामा हाम्रो भेट भएको थियो, पहिला उसैले हामीलाई आज यति छिटो स्कूलबाट किन आयौ ? भनेर सोधेकी थिइन् । ‘कपाल काट्न आएको’ भन्ने आफ्नो जवाफपछि भागरथीले ‘ए ल त है’ भनेर हिँडेको तर्कराज भट्टले बताएका छन् ।

भागरथी खोचलेकबाट हिँड्दा बजारमा अरु पनि केही विद्यार्थी थिए। उनीसँगै भने तीन जना साथीहरू थिए। भागरथीको गाउँबाट ‘कमर्स’ पढ्ने  त्यो स्कूलमा उनीमात्रै भएकोले बजारबाट थोरै पर पुगेपछि घर जाने बाटो अलग भएकोले भागरथी र उनका साथीहरु छुट्टिएका थिए । उनका साथीहरूले प्रहरीसँग बताएका छन्।

उनको बुबाको मृत्यु भएकोले उनी स्कूल जान थालेको पनि केही दिन मात्र भएको प्रधानाध्यापक बलदेव नाथले प्रहरीलाई बयान दिएका छन् । उनी नियमित ‘क्लास’मा सहभागी भएको १३ दिन मात्रै भएको थियो,’ उनले भनेका छन् । उनी कहिले साथीसँग, कहिले एक्लै स्कूल जाने आउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा खटिएका प्रहरीले घटना भएको दिन पनि ‘साथीलाई सँगै घर जाउँ’ भनेकोसम्म अनुसन्धानले देखाएको जनाएका छन्।
घटनास्थल भागरथीको घर पुग्नुभन्दा एक किलोमिटर वर छ । त्यो उनको स्कूलभन्दा दुई किलोमिटर टाढा हो। बीचमा खोचलेक बजार छ । भागरथी स्कूलबाट घर फर्कने सो बाटो (लवलेक सामुदायिक वन ) जङ्गल र एकान्त छ।

अपराधीले गरेको छ अनेकन चलाखी..
दिनहुँ दैनिक ६ वटासम्म बलात्कारका घटना नेपालमा सार्वजनिक भइरहेका छन् । तर ति सबैमा यथासक्य नेपाल प्रहरीले अपराधीलाई पक्रिन्छ । कानूनी कठघरामा उभ्याउँछ । ‘यदी राजनीतिक दबाब नहुने हो भने दक्षिण एशियामा नै नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सक्छ’ पनि भनिन्छ । तर निर्मला प्रकरणमा निकै त्रुटी गरेर अपजस खेपेको नेपाल प्रहरीले यो घटनामा कुनैपनि सन्देह नहुने हिसाबले अपराधी पत्ता लगाउन लागि परेको जनाएको छ । प्रहरी एक उच्च अधिकारीले यस घटनाबारे जानकारी दिँदै भने, अपराधीले यसघटनामा केहि ‘क्लू’ मात्रै छोडेको छ । बाँकी निकै चलाखी गरेको छ ।

पहिलो : अपराधीले भागरथीको बलात्कारपछि हत्या गर्न एकान्त स्थल छान्यो ।

दोस्रो : भागरथीको मोबाइलको सम्पूर्ण डाटा (कल लग) मेटाइएको ‘डिलिट’ गरेको पाइएको छ ।

तेस्रो : भागरथीको सामान्य ‘किप्याड’ भएको फोन घटनास्थलमै भेटिएको थियो । तर उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ ।

चौँथो : सवारी साधनको प्रयोग गरेको हुनसक्ने – रातभर परेको पानीका कारण अपराधीको पदचाप पच्छ्याउन नसकेको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटोबारे भने केहि संकेत दिएको थियो । प्रहरीका अनुसार सडकबाट ओरालो बाटो हुँदै घटनास्थलमा झरेको कुकुर केही समय घटनास्थलमा घुम्यो। त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ खोचलेक बजार लाग्यो । ति अधिकारीले थपे, कुकुरले पछ्याएको बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । बुट्यानहरु लछारपछार पारेको र माडिएको जस्तो पनि देखिन्थ्यो । करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि कुकुर कच्ची सडकमा पुग्यो । त्यहाँबाट भने कुकुर अल्मलियो । अपराधी शव भएको स्थानबाट त्यही बाटो भएर कच्ची सडकसम्म पुगेको कुकुरले सङ्केत गरेको थियो । घटनास्थलबाट पुर्वतर्फ अपराधी लागेको संकेत दिएको कुकुरले त्यसपछि पदचाप नपछ्याउनुको कारण अपराधी कुनै सवारीसाधन प्रयोग गरेर त्यहाँबाट उम्केको हुनसक्ने प्रहरीको अनुमान छ ।

बजारमा चाउचाउ किनेर खाँदै सोही जंगल हुँदै घरतर्फ अघि बढेकी भागरथीलाई नियालेको अपराधीले साथीहरुसँग छुटेपछि मोटरसाइकलमा गई कुकुरले पछ्याएको स्थान अर्थात् घटनास्थलभन्दा करिब ८ सय मिटर पूर्व बजारतर्फ नै मोटरसाइल राखी त्यहाँबाट हिँडेरै पिछा गरेको हुनसक्ने र एकान्त स्थान आएपछि बलात्कार गरेको र भागरथीले ओरालो बाटोहुँदै भाग्न खोज्दा घटनाको पोल खुल्ने डरले गोप्तेरो ठाउँमा हत्या गरेको हुनसक्ने पनि प्रहरीको विश्लेषण छ।

प्राप्त प्रमाण, सबुत, कुकुरको संकेत र सम्पूर्ण घटनाक्रमलाई हेर्दा यो घटना, अपराधी र खोचलेक बजार कनेक्सन कुनै न कुनै रुपमा हुनसक्ने प्रहरी अनुमान छ ।

भागरथीको पारिवारिक अवस्था कमजोर रहेका कारण हत्यामा आर्थिक कारण नभएको प्रहरीको बुझाई छ । भागरथीको ठूलो ‘दुश्मनी’ कसैसँग थिएन। त्यसैले यो घटना उनलाई चिनेकै व्यक्तिबाट भएको हुनसक्ने प्रहरीले जनाएको छ । गाउँबाट विद्यालय जान दिनदिनै एक घण्टा जाने बेला र सवा घण्टा आउने बेला पैदल हिड्नुपर्ने कारणले उनका बारेमा कसैले जानकारी राखिरहेको पनि हुनसक्ने उनका साथीहरु बताउँछन् । भागरथी स्कूल जाने समयमा बिहान अरू विद्यार्थी पनि हुने तर फर्किँदा उनको विषय फरक भएकाले अरूभन्दा पौने घण्टा अघि नै उनी घर फर्कनुपर्ने भएकोले भागरथी एक्लै हुन्थिन् ।

अपहरण गरी साँझ हत्याको आशंका…
”घटना माघ २१ गते (भागरथी सम्पर्कविहिन भएकै दिन) दिउँसो २ देखि ३ बजेको समयमा भएको थियो । किनभने उक्त समयमै भागरथीको मोबाइल स्वीच अफ भएको थियो । त्यसकारण अपराधीले भागरथीको बलात्कारपछि हत्या गरेलगत्तै मोबाइलको ब्याट्री निकालेर फालिदिएको हुनसक्छ । प्रविधिबारे जानकार हुनसक्ने र अपराध कसैले चाल नपाओस् भनेर यसो गरिएको हुनसक्छ ।” अनुसन्धानमा संलग्न प्रहरीका बताउँछन् ।

त्यसो त प्रहरीले भनेजस्तै घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको र स – साना बुट्यान र वनमारा भएको उघारो ठाउँमा दिउँसै बलात्कार गरी हत्याको संभावना निकै न्यून छ । त्यसकारण कतै कुनै व्यक्तिले फकाएर /अपहरण गरेर दिनभर कतै राखेको र साँझ वा रातिको समयमा घर पुर्‍याईदिन्छु भनेर बाटोमै बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या गरिएको हुनसक्ने आशंका पनि ‘क्राईम सीन’ ले बलियो पार्छ । जहाँ शव भेटियो, त्यहाँ घिसारिएका संकेतहरु पनि मिलेको प्रहरीले जानकारी दिएको छ। पीडित भागरथीका काका शिवराज भट्ट पनि चिनेजानेकै हुनसक्ने व्यक्तिले यो अपराध गरेको हुनसक्ने शंका गर्छन् । उनलाई यो बाटोमा कत्तिको मानिस आवतजावत गर्छन् भन्ने कुरा थाहा भएका कारण घटनास्थल मानिसहरुको आवतजावत भइरहने स्थान भएकाले दिउँसै बलात्कार र हत्या गर्ने सम्भावना कम नै देखिन्छ । ”जे होस् प्रहरीको अनुसन्धानबाट अपराधी उम्कन सक्दैन ।” उनी क्रुद्ध सुनिन्छन् ।

अनुसन्धानको घेरा साँघुरिसक्यो, केहि दिन पख्नुहोस् : प्रहरी
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानको घेरा साँघुरिएको कारण केहि दिनमा नै अपराधी सार्वजनिक गर्ने बताएका छन् । आफूहरु अपराधीको नजिकै पुगिसकेको दाबी गरेका उनले शुरुमा स्थानीय पनि जानकारी दिन डराएको र पछि अवस्था सामान्यीकरण गर्दै लगेपछि धेरै सूचनाहरु जम्मा गरिएका कारण प्रहरीले ज्यादै सुक्ष्म ढंगले घटनाको अनुसन्धान गरिरहेको बताए।

घटनास्थल सुरक्षादेखि प्रमाण संकलनमा कहीँ कुनै त्रुटी हुन नदिई सुरक्षा दिएर डाक्टर, वकिल, सोको टिम सबै राखेर स्थानीयकै रोहवरमा घटनास्थल प्रकृति मुचुल्का तयार पारिएको र प्रमाण, सबुतका अधारमा केहि दिनमा अपराधी सार्वजनिक गर्ने उनले बताए ।
पातलो बस्ती अनकन्टार ठाउँको पनि जंगलमा एक किशोरीको बलात्कारपछि हत्याको घटना भएको कारण शुरुमा  अनुसन्धानको घेरा धेरै ठूलो भएकोमा अहिले सानो घेरामा प्रहरी सानो घेरामा आइपुगेका छौँ । भागरथी प्रकरणलाई कञ्चनपुरकि निर्मला पन्त घटनासँगै दाँजेर हेरिएकोबारे डिआइजी सुवेदी जानकार छन् ।

‘त्यो प्रकरण दोहोरिन दिँदैनौँ ।’ उनको दाबी छ । अनुसन्धान अहिलेसम्म गलत ‘ट्रयाक’मा गएको छैन। अन्योल छैन। तथ्यले जोड्दै गइरहेको छ। त्यसैले शंका मान्नुपर्दैन ।

सोधपुछ चलिरहेको छ : 
कञ्चनपुर घटना नदोहोरियोस् भन्नको निम्ति  शंकित व्यक्तिहरुलाई तत्कालै पक्रिएर अनुसन्धान शुरु गर्ने पक्षमा प्रहरी छैन । प्रहरीमाथि अविश्वास बढ्नसक्ने दबाव, भीड भड्कने खतरा, मिडियाका कारण व्यक्तिले बनाउने धारणा लगायत अन्य विभिन्न कारणले गर्दा अपराधीले खेल्ने मौका पाउन सक्नेतर्फ गम्भीर भएर प्रहरीले सतर्कका साथ काम गरेको छ ।
यस घटनामा प्रहरीले झण्डै दुई दर्जन व्यक्तिहरुमाथि प्रारम्भिक सोधपुछ गरिरहेको र केहिलाई ‘क्लोज रिङमा’ राखेर ‘अब्जर्भवेसन’ गरिरहेको प्रहरी निरिक्षक जनक बहादुर धामीले बताए ।

डिएसपी नारायण प्रसाद अधिकारीले त्रुटी हुन नदिन निकै गहन तरीकाले अनुसन्धान जारी रहेको बताए । चाँडोभन्दा चाँडो अनुसन्धान टुङ्ग्याउने र निष्कर्ष निकाल्ने गरी काम गरिरहेको उनको भनाई छ ।

तेस्रो चरणको अनुसन्धान 
‘अनुसन्धान तेस्रो चरणमा पुगेको छ। तेस्रो चरणमा व्यक्तिलक्षित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो अनुसन्धान धेरै लामो समय हुँदैन पनि’ सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। ‘क्लोज सर्भिलेन्स’भित्र हुन्छ यो अनुसन्धान । एक अधिकारीले जनाए । भागरथीको हत्या स्थानमा भेटिएका भौतिक प्रमाणहरू विधिविज्ञानबाट प्रयोगशालामा छन्।
‘शंकास्पदहरूको गतिविधि भेरिफाइ गर्ने, सोधपुछ, स्क्रिनिङ गर्ने काम भइरहेको छ। भागरथीको शवसँगै भेटिएको उनले बोक्ने मोबाइलमा घटनाअघि को – को सँग सम्पर्क भएको थियो ? त्यसको आशय, त्यही मोबाइल फोनमा भएको कुराकानी,
‘भागरथीसँग नजिक रहेर सम्बन्ध बिस्तार गर्नखोज्ने, उनीसँग ‘लभ अफेयर्स’का लागि कसैले जोड गरेको थियो कि ? भागरथीले गर्ने व्यवहारबाट कोही चिढिएको थियो कि ? कसैले उनलाई घेरामा पार्न चाहेको थियो कि ? भागरथीसँग फोनमा वा सामाजिक सञ्जालमा सम्पर्क भएका सबै व्यक्तिहरू पनि प्रहरीले निगरानी गरी मिहिन ढंगले हेरिरहेको छ । घटना भएको दिन र त्यसअघिका दिनमा भागरथी तथा उनका साथीभाइहरूबीच मोबाइल र सामाजिक सञ्जालमा गफ भएको देखिएको छ। ती गफहरू अहिले अनुसन्धानका आधारभूत तत्व बनेका छन्। अनुसन्धान अधिकारीले भने।

प्रहरीको टेक्निकल टिमले घटनास्थलमा बीटीएसको आधारमा पनि अनुसन्धान गर्छ। तर, गाउँ भएकाले बीटीएसबाट नै अनुसन्धान गर्न सजिलो भने हुँदैन।

परिवारको सहारा थिईन् भागरथी…
दीर्घ रोगले ग्रसित भागरथीका बुवा (५० वर्षीय कृष्णानन्द भट्ट) को डेढ महिनाअघि (गत पुस ७ गते) मृत्यु भएको थियो। श्रीमानको बरखी बारेर सेतो वस्त्रमा रहेकी द्रोपदी विक्षिप्त अवस्थामा छिन् । श्रीमान्को मृत्युले शोकमा डुबेकी द्रोपदीलाई १७ वर्षीया लाउँलाउँ खाउँखाउँ उमेरकी छोरीको बलात्कारपछि हत्या भएको घटनाले मर्माहत बनाएको छ । सरकारी जागिर खाने धोको थियो – उनको । दुखले टाढा पढ्न गएकी थिई । विक्षिप्त द्रोपदीले भक्कानिँदै सञ्चारकर्मीसँग भनेकी छिन् ।

‘भाउजुले भागरथीका कलम, किताब, कापी र लुगाफाटो समातेर रुने गरेको,  छिनेमै होस हराउने, छिनकै बेसुरका कुरा गर्ने गरेका कारणले भागरथीका सबै सामान माख्लो घरमा सारिएको छ । भाउजुलाई आलो घाउमाथि नसोचेको पिडा थपियो , बज्रपात भयो ।’ भागरथीको काका शिवराजले बताए ।

भागरथीका दुई दिदीको बिहे भइसकेको छ । उनका दाजु (केशवराज भट्ट) भारतमा रोजगारी गर्न गएका थिए । घटनापश्चात् उनी घर आएका छन् । परिवारको जिम्मा सुम्पेर हिँडेका दाजु बहिनीको विभत्स घटनापछि घर आएका छन् । घरमा भेट्न आएका मानिससँग बोल्छन् तर उनको मन स्थिर छैन । आमाको अनुहारमा हेर्न सकेका छैनन् केशवराजले । एक्ली आमाका साथ रहेकी भागरथीको अवस्था जानेर चिनेजानेकैबाट यो घटना भएको हुनसक्ने केशवराजको आशंका छ ।

शोकमाथि शोकमा डुबेको भट्ट परिवारलाई सान्त्वना दिन छिमेकी, आफन्त, ईष्टमित्र, स्थानीय जनप्रतिनीधि, प्रशासनिक व्यक्तिहरू, राजनीतिक दलका नेता /कार्यकर्ता, सञ्चारकर्मी, मानव अधिकारकर्मी लगायतको बाक्लो उपस्थिती भएपनि चडेपानी गाउँमा सन्नाटा छाएको छ । स्कूले केटाकेटी डराएका छन् ।

घटनाको दुई साता पुग्न लाग्दासम्म अपराधी पत्ता नलाग्नुले परिवारमा झनै असह्य पिडा भएको छ । तर प्रहरीको सक्रियता देखेका भागरथीका परिवारले यथासक्य दोषी पक्रिईने भरोसा गरेका छन् ।

घटनाको चौतर्फी विरोध
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै चौतर्फी विरोध प्रदर्शन र दबावमुलक कार्यक्रम भएका छन् । दोषीलाई कानूनबमोजिम कारवाहीको माग गर्दै सेलिब्रेटीहरुले आक्रोश व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?