काठमाडौं । कोरोना भाइरसको न्युनिकरणका लागि सरकारले लगाएको लकडाउनको कारण ठप्प भएको आयात निर्यात लयमा फर्कन थालेको छ ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार आयात तथा निर्यातले लय समातेको देखाएको हो । तथ्यांक विभागले जारी गरेको माघ मसान्तसम्मको तथ्यांकले आयात–निर्यातको सूचक बढ्न थालेको देखाएको हो । तथ्यांक विभागका अनुसार माघ मसान्तसम्म वस्तु तथा सेवाको आयात पुरानै अवस्थामा फर्किएको छ ।
भन्सार विभागका अनुसार चालू आवमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको आयात भएको थियो । पछिल्ला केही महिनामा आर्थिक गतिविधी चलायमान भएको तथा जनजीवन सामान्य जस्तै भएकाले आयात आयात निर्यात बढेको तथ्यांक विभागले जनाएको छ । यस अवधिमा ७.६२ प्रतिशतले निर्यात बढेको देखिएको छ ।
त्यस्तै, चालू आवको माघ मसान्तसम्ममा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गत वर्ष यस्तो वस्तु तथा सेवा ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएकोे थियो । माघ महिनामा मात्रै १ खर्ब ४२ अर्ब ३९ करोडको वस्तु तथा सेवा आयात भएको छ भने गत वर्षको सोही अवधिमा १ खर्ब ८ अर्ब ९० करोडको आयात भएको थियो । गत वर्षको तुलनमा चालू आवको ७ महिनाको अवधिमा करिब ३१ प्रतिशतले बढी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । यस अवधीमा चालू आवको नेपालले ३९ अर्ब ७० करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ । त्यस्तै, एमएस बिलेट ३८ अर्ब १३ करोड रुपैयाँ, मोबाइल टेलिफोन २४ अर्ब ६ करोड रुपैयाँ, भटमासको तेल कच्चा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, भन्सार विभागका अनुसार तयारी कपडा १७ अर्ब ३६ करोड रुपैयाँ, चामल १७ अर्ब ३० करोड रुपैयाँ, एलपी ग्यास १७ अर्ब २६ करोड रुपैयाँ, पेट्रोल १५ अर्ब ९६ करोड रुपैयाँ, एचआर सिट १५ अर्ब ३६ करोड रुपैयाँ र सुन १५ अर्ब १ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै, यस अवधिमा मोबाइल टेलिफोन ८४.५ प्रतिशत, एमएस बिलेट ३९.८२ प्रतिशत, चिनी ८५९.२१ प्रतिशत, सुन ६३.३५ प्रतिशत, धान ९०.१२ प्रतिशत, कोइला ४२.३ प्रतिशत, चामल ३६.२३ प्रतिशत, भटमासको पिना ७१.७६ प्रतिशत र दलेको वा नदलेको दालहरु ४०.१३ प्रतिशतले बढेको देखिएको छ ।
त्यस्तै, यस अवधीमा डिजेलको आयात ३१.८ प्रतिशतले घटेको छ । त्यसैगरी हवाइजहाज र हेलिकोप्टरका पार्टपुर्जा ८८.८९ प्रतिशत, कच्चा पाम तेल ७४.१ प्रतिशत, एटीएफ ७६.०५ प्रतिशत, पेट्रोल २४.९२ प्रतिशत, निर्माणसम्बन्धी यन्त्रावली ५१.३७ प्रतिशत, चाँदी ५९.५७ प्रतिशत, अन्य सञ्चार उपकरण ६१.३६ प्रतिशत, भटमास गेडा ६३.२९ प्रतिशत तथा तयारी कपडा १३.८७ प्रतिशतले घटेको देखिएको छ ।
राज्यले सो आयातित वस्तु तथा सेवाबाट १४ प्रतिशतले बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आवमा राज्यले २ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ बराबर राजश्व संकलन गरेको छ भने गत वर्षको सोही अवधिमा २ खर्ब ७ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया