भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म (यस्तो छ घटनाको नालीबेली)

लोकपथ
0
Shares

काठमाडौं – बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक गरेको छ । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । प्रहरीले आज (बुधवार) सार्वजनिक गरेको अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् । भागरथी र दिनेश दुवैले कक्षा १ देखि १० सम्म गाउँकै भूमिराज माध्यमिक विद्यालयमा पढेका थिए ।

भागरथी हराएको दिनदेखी अभियुक्त सार्वजनिक भएको दिनसम्म यस्तो छ घटनाको नालीबेली : 

माघ २१ गते बुधवार (घटना भएको दिन) : 

बिहान ९ बजे भागरथी भट्ट सदाझैँ घरबाट करिब १ घण्टाको दुरीमा रहेको स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा अध्ययनका लागि जान्छिन् । उनको घरबाट स्कुल जाँदा बीचमा खोचलेक बजारनजिक लवलेक सामुदायिक वन पर्छ । वन त्यति बाक्लो छैन । सल्लाका पातला रुखहरु अनि स – साना बुट्यान छन् – त्यहाँ । उनी करिब १० बजे विद्यालय पुग्छिन् । दैनिक प्रार्थना सकेर सबै विद्यार्थी आ – आफ्ना कक्षाकोठामा जान्छन् । कक्षा १२ मा व्यवस्थापन संकायमा ऐच्छिक लेखा विषय लिएर पढेकी भागरथीको अपरान्ह पौने २ बजे कक्षा सकिन्छ । कक्षा र विषय नमिलेका कारण उनका गाउँबाट जाने विद्यार्थी उनको समयमा घर फर्किने हुँदैनन् । उनी करिब २ बज्न केहि मिनेट बाँकी हुँदा स्कुलबाट घरतर्फ लाग्छिन् ।

भागरथीको स्कुल नजिकै एक बजार छ – खोचलेक बजार (गाउँपालिकाको केन्द्रसमेत रहेको) । करिब ७ मिनेटको पैदल दुरीमा त्यहाँ उनको घर नजिकैको नातामा भाई पर्ने भानदेव भट्ट, सोही विद्यालयमा पढ्ने अन्य साथीहरु भेटिन्छन् । उनले त्यहाँ चाउचाउ पनि किन्छिन् । त्यहाँ भानदेव, उनका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट (जो अभियुक्त हुन्) लगायतका केही विद्यार्थी कपाल काट्न भन्दै पसलमा छिर्छन् ।

एक जनाले धारामा पानी पनि खान्छन् । भागरथीले घर जाऔँ भन्दा भानदेवले ”तपाईंहरु जानुस्, हामी कपाल काटेर आउछौँ’’ भन्छन् । त्यसबेला सो बजारभन्दा केही परबाट छुट्टीने साथी पनि भागरथीसँगै हुन्छन्। केही केटी साथीहरु बजारबाट छुट्टिन्छन् भने बजारबाट भागरथीको घरतर्फ जाने क्रममा २ जना साथीहरु चप्पल सिलाउन भन्दै पसल जान्छन् । अब बजारबाट करिब १० मिनेटको यात्रापछि पुगिने मन्दिरसम्म भागरथी र चिनेकै साथी ‘ममता’ भट्ट सँगै आएकोमा ममता भट्टको घर जाने बाटो अर्कै भएकोले उनीहरु ‘बाई’ भनेर छुट्टिन्छन् । भागरथी आफ्नो घरतर्फ जाँदै हुन्छिन् । अब आउँछ लवलेक वन (जहाँ उनको हत्या भएको थियो।)

बजारमा कपाल काट्न भनेर रोकिएका किशोरहरुको समूहमा रहेका दिनेश (अभियुक्त) त्यहाँबाट निस्कन्छ । उनी अन्तिम कक्षा नपढी स्कुलबाट हिँडेका थिए । छिटै घर जानुपर्नेछ भन्दै साथीहरुसँग छुट्टिएका दिनेश (अभियुक्त) भागरथी र ममताको पछिपछि लाग्छ । सिल्ल भन्ने स्थानमा तर चलाखी गरेर दिनेश (अभियुक्त) भागरथी र ममता छुट्टिएपछि छिटोछिटो हिँडेर अगाडि जान्छ र लवलेक जङ्गलको खोँचमा (अपराधस्थलमा) भागरथीको बाटो ढुकेर बस्छ । करिब २ बजेर ३० मिनेटको आसपासमा लवलेक जंगलको खोँचजस्तो ठाउँमा पुगेकी भागरथीलाई झम्टिन्छ । जबरजस्ती गर्छ। भागरथी केहि प्रतिकार गर्छिन् ।

यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मुख्य सडकभन्दा करिब २० मिटर तल अपराधीसँग भागरथीले प्रतिकार गरेको अवस्थाको ‘सिन’ यहि हो । जहाँ उनको कपाल बाँध्ने रबर र कपाल भेटिएको तथा जंगलको वनमारा लछारपछार पारिएको थियो । भागरथी दिनेश (अभियुक्त) बाट फुत्केर सडकबाट जंगलको तलतिर ओरालोतर्फ भाग्छिन्। तर दिनेशले भागरथीको कपाल समातेर तान्छ । ओरोलो बाटोमा जबरजस्ती हुनाले भागरथीले मेसो पाउँदिनन् । भागरथीले केहिबेर प्रतिकार भने गर्छिन् । आक्रामक स्वभाव, केहि अग्लो, रिसालु दिनेशले लछारपछार पार्छ । (प्रहरीले ढुंगामा दर्फराएको जस्तो पनि देखियो भनेर प्रारम्भिक निष्कर्ष निकालेको कुरा यहिँनेर पुष्टि हुन्छ । यतिबेला दिनेशसँग प्रतिकार गर्दै भागरथी सडकबाट ५० मिटर तल पुगेकी हुन्छिन् । दिनेशले भागरथीलाई लडाउँछ। भागरथीको चप्पल फुस्कन्छ । थोरै तल दिनेशले वनमारा झाडीको छेको पारेर भागरथीको मुख थुनेर बलात्कार गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर मारिदिन्छ ।

यसैबखत भागरथीको किप्याड मोबाइलको ‘कल लग’ डिलिट गरी फोन एकातिर फालिदिन्छ र ब्याट्री निकालेर केहि पर लगेर फालिदिन्छ । जसका कारण एक सरकारी सेवामा रहेका व्यक्तिमाथि प्रहरीले शंका गरेका थियो ।

घटनापश्चात् खोचलेक बजार हुँदै आएको दिनेश करिब ३ बजे वनमारा झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व नै फर्कन्छ। जुन कुरा प्रहरीको तालिमप्राप्त कुकुरले समेत संकेत गरेको थियो । तर घटना भएको रातभर पानी परेकोले कुकुर त्यसपछि अल्मिलिएको थियो ।

अपराध कर्मपछि दिनेश केही समय वनमा नै अलमल्ल पर्छ । केहिबेरपछि घटनास्थलको बाटो हुँदै घर जान्छ । घटना भएको ठाउँभन्दा माथि खेलमैदान बन्दै गरेको ठाउँमा केही मानिसहरु काम गरिरहेका हुन्छन् । प्रहरीले घटनाको १० औँ दिनतिर मिडियामा भनेको कुरा अर्थात् ‘प्रत्यक्षदर्शी खोजिरहेका छौँ ‘भन्ने कुरा यहाँ मेल खान्छ । घटना भएको दिन (बुधवार) करिब ३ :३० बजे निर्माणाधिन खेल मैदानको ठ्याक्कै तलपट्टी एकजना स्थानीयले दिनेशलाई भेटेका हुन्छन् । (उनले प्रहरीसँगको बयानमा आफूले दिनेशलाई देखेको बताएका छन् ।)

त्यसपछि दिनेश घर जान्छ । त्यो रात त्यसै बित्छ ।

यता दीर्घ रोगले ग्रसित भागरथीका बुवा (५० वर्षीय कृष्णानन्द भट्ट) को डेढ महिनाअघि मृत्यु भएपछि श्रीमान् को किरिया सकेर सेतो लुगामा बरखी बारीरहेकी भागरथीकी आमा द्रोपति पिरमा पर्छिन् । स्कुल गएकी छोरी साँझसम्म घर नफर्केपछि खोजतलास शुरु हुन्छ । आफन्त छरछिमेक स्कुल गएका केटाकेटीसँग सोधपुछ गर्दा उनी घर छिट्टै जानु छ भनेर हिँडेको, खोचलेक बजारमा चाउचाउ किनेको, साथीहरुले देखेको, नातामा भाई पर्ने भानदेवले तपाईंहरु जानुस् कपाल काटेर आउँछौँ भनेको, सबैभन्दा अन्तिममा छुट्टिएकी साथी ममतासँग ‘बाई’ भनेर छुट्टिएको सम्म खबर परिवारमा आउँछ । त्यसपछि कहाँ गईन् भागरथी ?

त्यो रात चडेपानीमा सन्नाटा छाउँछ । किशोरी बेपत्ता भन्ने समाचारहरु आउँछन् । सोधखोजमा नै त्यो रात अन्यौलमा बित्छ ।

माघ २२ गते (घटनाको भोलिपल्ट)

घटनाको भोलिपल्ट अर्थात् माघ २२ गते (बिहिवार) अपरान्ह भागरथीकै साथीहरुले सडकबाट लवलेक जंगलतर्फ वनमारा माडिएको, झारपात लछारपछार भएको देखेर हेर्न जाँदा भागरथीको मृत शरीर विभत्स अवस्थामा भेट्छन् । उनीहरुले गाउँमा खबर गर्छन् । गाउँले घटनास्थल आउछन् । प्रहरीमा खबर हुन्छ । प्रहरी घटनास्थल आउँछ । रातभर पानी पर्छ । भागरथीको शव कुरेर अपराध अनुसन्धान टोलीलाई पर्खेर प्रहरी बस्छन् । विद्यालयबाट घर फर्कँदा भएको यो घटनामा विद्यार्थी, शिक्षक, गाउँले, अभिभावक सबै आक्रोशित हुँदै अपराधीलाई फाँसीसम्मको सजाय माग गर्छन् । अभियुक्त दिनेश पनि त्यही समूहमा हुन्छ । तर धेरै बेर बस्दैन । प्रहरी अधिकारी बताउँछन् ।

माघ २३ गते (घटनाको पर्सिपल्ट)

प्रहरीको तालिमप्राप्त कुकुर लिएर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी आफैँ घटनास्थल आउने, तालिमप्राप्त कुकुर घटनास्थल सुँघेपछि अपराधीलाई समात्ने, घटना छिट्टै किनारा लाग्ने जस्ता खबरले पुरै गाउँ तात्छ । अभियुक्त दिने दिनेश आत्तिन्छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट गएको तालिमप्राप्त कुकुरले पक्रने डरले सबै गएको घटनास्थल नगएर उनी गोरु चराउन भन्दै गोठालो जान्छन् ।

माघ २४ गते देखि फागुन ४ गतेसम्म

प्रहरीले अनुसन्धान निरन्तर अघि बढाउँछ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी, चिकित्सकले विभिन्न कोणबाट अनुसन्धान गरी सबुत तथा प्रमाणहरु संकलन गर्छन् । भेजाईनल स्वाब डिएनए टेष्टका लागि काठमाडौं पठाईन्छ । लुगा कपडा देखि घटनास्थलमा देखिएका भेटिएका फेला परेका हरेक स – साना संकेत बटुल्छ प्रहरी । २ वर्षअघि कञ्चनपुरमा भएको निर्मला बलात्कारपछि हत्या प्रकरणमा भारी अपजस खेपेको प्रहरीले यसपटक निकै संयमित भएर अनुसन्धान गरेको थियो ।

प्रहरीले भागरथीको सम्पर्कमा रहेका मानिस, विद्यालय, विद्यार्थी, छिमेकी, घटना भएको समयमा सो बाटो हुँदै आउजाउ गर्ने मानिस, घटनास्थलको केहि माथि खेलकुल मैदानमा कार्यरत श्रमिक, खोचलेक बजारका मानिस, महिलाप्रति आशक्ति राख्नेदेखि, त्यो गाउँका हरेक घरको विवरणसम्म टिपेर राख्छ । मानिसको आउजाउ, उठबस, पूराना घटनाक्रम अध्ययन गरीसकेपछि प्रहरीले सोधपुछ गर्छ ।

अनुसन्धानलाई विभिन्न चरणमा विभाजन गरेर निष्कर्षमा पुर्‍याएको प्रहरीले कुनैपनि अफवाह फैलने, क्लू, अनावश्यक सूचना मिडियाबाजी, अनुसन्धानका क्रममा भएका उपलब्धी बाहिरीन दिँदैन । यो बिचमा सोधपुछ र प्रमाणसँग भिडाएपछि मिलेका प्रमाणलाई थप पुष्टि गर्दै साँघुरो बनाउँदै लग्छ । मिडिामाएउटै खबर आउँछ अनुसन्धान हुँदैछ । केहि दिन पख्नुहोस् । नभन्दै भिड भड्कने, मिडियाले उचाल्ने अनावश्यक विषयवस्तु्बाट यो घटना गिजोलिन पाउँदैन ।

यसरी क्रमिक रुपमा प्रहरीले प्राप्त उपलब्धी र पुष्टि भएका तथ्यलाई साँघुरो पार्दै लैजान्छ । अन्तत ४ जना व्यक्रिलाई क्लोज रिङमा समेत राख्छ । हिजो मंगलवार मात्रै प्रहरीले एकजना शंकितलाई पक्राउ गरेको खबर मिडियाबाट बाहिरिएको थियो । अन्तत विभत्स घटना भएको १५ औँ दिनपछि अनेकन अन्यौलता, शंका, उपशंका, आशंका, अपराधी पत्ता नलाग्ने संशय, दाबाबदेखि धेरै पाटो र पक्ष चिर्दै नेपाल प्रहरीले अभियुक्त पत्ता लगाई सार्वजनिक गर्दैछ । यो प्रहरीले पाएको सफलता पनि हो ।

भागरथी घटना सम्बन्धी यी सामाग्रीहरु पनि पढ्नुहोस् : 

डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’

भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त ! 

भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर

कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध

भागरथीको बलात्कारपछि हत्या गर्नेले जेल बस्नु पर्दैन ? के छ कानूनमा ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?