सुन बजारमा अझै हटेन कोरोना असर : लगन नहुँदा थप प्रभावित !

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौँ – सुनचाँदी बजारमा कोरोना भाइरसको असर अझै हटेको छैन । त्यसैमाथि विवाह व्रतबन्धजस्ता कार्यका लागि लगन हुने महिना माघ र फागुनमा लगन नभएपछि कारोबार थप प्रभावित भएको छ । व्यवसायीका अनुसार पुस महिना अफ सिजन भएकाले त्यसै कारोबारमा उत्साह आएन । माघमा पनि लगन नभएकाले कारोबार भएन । गत चैत्रदेखि भदौसम्म सुन बजार बन्दकै कारण ब्यापार भएन । असोजसम्मको डाटा हेर्दा असोज कार्तिक ताका केही मात्रामा मात्रै कारोबार भएको सुन बजार माघ र फागुनमा विवाहको लगन नहुँदा लगभग एक वर्ष जस्तै कारोबार प्रभावित भएको छ ।
पुस र माघ पछिल्लो दुई महिना निराशाजनक कारोबार गरेका व्यवसायीले वसन्त पञ्चमी र झिकुवा लगनमा विवाह कार्य बढ्ने आशा गरे पनि आशा गरे अनुसारको कारोबार भने हुन सकेन । जसले गर्दा व्यवसायी निराश भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार नयाँ वर्ष नलागेसम्म सुनको कारोबारमा सुधार नआउने देखिएको छ । सामान्यतया चाडपर्व बाहेक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार हुन्छ । तर कोरोना यता खुलेको बजारमा मुस्किलले १० केजीको हाराहारीमा सुन बिक्री हुने गरेको छ । अहिले नयाँ गरगहनाको माग पनि त्यति आएको छैन । त्यसैमाथि विवाहको लगन नहुँदा नयाँ गहनाको माग आउने कुरै भएन । यसले गर्दा यस वर्षको सुन व्यवसाय पूर्ण रुपमा प्रभावित भाएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

यस्तो छ सुनको भाउ
साउनदेखि यता सुनको मूल्य पहिलोपटक ९० हजार भन्दा तल झरेको छ । बुधबार मात्रै सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । महासंघले कोरोना महामारीपछि गत जेठमा सुनको मूल्य ८७ हजार ७ सय रुपैयाँ कायम गरेको थियो । त्यसपछि सुनको मूल्य लगातार बढिरहेको थियो ।

महासंघका अनुसार गत असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो । त्यसपछि लगातार बढेको सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सुन प्रति आकर्षित हुन थालेपछि मूल्य आकासिदै गएको थियो । त्यसताका प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो । तर पछिल्लो समय भने लगानीकर्ता शेयर बजारमा आकर्षित भएकोले सुनको मूल्य क्रमशः ओरालो लाग्दै गएको छ ।

यस्तो छ आजको बजारभाउ : बिहिबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज तोलामा ६ सयले सुनको मूल्य घटेर ८९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ । आज प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ३५ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?