काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई टेर्न छाडेका छन् ।
लामो समयदेखि केही वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नियम पालना नगरेपछि राष्ट्र बैंक कारबाहीमा उत्रिएको हो । राष्ट्र बैंकले नियम पालना नगर्ने चार वटा बैंकलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले गत असार मसान्तदेखि पुस मसान्तसम्म बैंकलाई बैंकिङ कारोबार गर्न दिएको निर्देशन पालना नगर्ने बैंकलाई कारवाही गरेको हो । त्यस्तो कारबाहीमा पर्ने राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । राष्ट्र बैंकले लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले जरिवाना समेत गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलाई पत्रमार्फत् सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
साथै सम्बन्धीत बैंकका प्रमुख कार्यकारी निर्देशकलाई बोलाएर सचेत समेत गराएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई निर्देशन नमानेको भन्दै २ पटकसम्म कारबाही गरिसकेको छ । स्ट्यान्डर्ड चाटर्डले पुस मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेका कारण ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना तिरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले सरकारको खातामा पठाउनु पर्ने पैसा समयमा नै नपाठाएर राष्ट्र बैंकको निर्देशन उलंघन गरेको छ ।
त्यस्तै,लक्ष्मी बैंकले सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरे वापत चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवाना तिरेको छ । त्यस्तै,ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको लेखिएकोले कारबाहीमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया