बालुवाटारको संकेत : प्रधानमन्त्री ओलीले राजीनामा नदिने, स्थायी कमिटी बैठकमा के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजीनामा नदिने भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र झाँगिएको किचलोका कारण प्रधानमन्त्रीले गत पुस ५ गते संसद विघटन गरेका थिए ।

त्यसपछि नेकपामा कित्ताकाट भई ओली पक्षसँग चिढिँदै अलग्गीएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, घनश्याम भुषाल, भिम रावल लगायतका नेकपा नेताहरु एक समूह बनाई निरन्तर प्रतिनिधिसभा पुनर्स्थापनाको लागि सडकबाट आन्दोलन गरिरहेका थिए ।

यसैबीच संसद विघटनको ६५ दिनपछि सर्वोच्च अदालतले हिजो मंगलवार प्रतिनिधिसभा विघटन बदर गर्दै पुनर्स्थापनाको फैसला गरेसँगै बालुवाटारमा ओली पक्षीय नेताहरुबीच छलफल चलेको थियो । सोही छलफलपछि जानकारी दिँदै ओली पक्षीय नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल प्रधानमन्त्री राजीनामा दिने मुडमा नभएको संकेत गरेका हुन् ।

उनले पत्रकारसँग कुराकानी गर्दै भने, ‘प्रधानमन्त्री मुलुकलाई अन्यौलमा राख्नुहुँदैन भन्ने पक्षमा हुनुहुन्छ । आजको निर्णयले भोलीका दिनमा के असर गर्नसक्छ भन्ने उहाँले बुझ्नुहुन्छ।’ यसकारण पार्टी एकतालाई ध्यानमा राखेर दुई पक्षबीच गम्भीर मतभिन्नता भएको स्विकार्दै उनले अझै पनि प्रयास जारी रहेको बताए । उनले थपे, ‘पार्टी एकताबद्ध रहने सन्देश जानेगरी कसैलाई पनि कारवाही नगरेको हो । उहाँको राजीनामाबारे पनि छलफल गरिरहेका छौँ । मुलुकलाई राजनीतिक निकास दिनुपर्छ भन्ने नै हाम्रो भनाई हो । यसपछाडीको परिदृश्य के भन्ने स्पष्टता भएपछि परामर्श गरेर छलफलपछि संस्थागत ढंगका निर्णय आधार तयार पारी हामी नयाँ ढंगले अघि बढ्छौँ ।’

दुईपक्षबीच केहि कुराकानी भएको छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘औपचारिक छलफल भएका छैनन् ।’

आजको बैठकमा हिजो (मंगलवार ) सर्वोच्च अदालतले फैसला भएपछि दुईतिर विभाजित माहोल, पछिल्लो घटनाक्रमका असर र प्रभाव, राजीनामा, अबको राजनीति कसरी अघि बढ्ने, सर्वोच्चको निर्णयको प्रभाव र कार्यान्वयनको विषय, सो फैसलालाई मान्नुपर्छ भन्ने मत, केन्द्रिय कमिटी बैठक बोलाउने विषय, पूर्वघोषित शक्ति प्रदर्शनका कार्यक्रम परिमार्जन गरेर मात्रै गरिने, संससदको अधिवेशन निर्धारित समयमा गराउने, त्यसपछिको माहौल कसरी अघि बढ्छ भन्ने चासो लगायतका विषयमा छलफल भएको छ ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्रीले आफूनिकट नेताहरुसँग व्यापक छलफल गरेका थिए । भने आजको बैठकअघि पनि भेटघाट गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हिजो नै दिएको एक प्रतिक्रियामा प्रधानमन्त्रीले राजीनामा नदिने बरु संसदको सामना गर्ने बताएका कारण प्रधानमन्त्री तत्काल राजीनामा दिने मुडमा देखिँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?