के हो ब्याजदर कोरिडोर ? कसरी गर्छ काम ?

लोकपथ
483
Shares

काठमाडौं । बैंकिंङ क्षेत्रको दीर्घकालीन ब्याजदरलाई वान्छित सीमा भित्र राख्नका लागि केन्द्रीय बैंकले उपयोगमा ल्याउने उपकरणलाई ब्याजदर कोरिडोर भनिन्छ । यसमा केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरलाई निश्चित दायराभित्र राखी कर्जा तथा लगानीको ब्याजदरलाई वाञ्छित स्तरमा राख्ने तथा त्यस्ता ब्याजदरहरुमा हुने उतार चढाव नियन्त्रण गर्ने उदेश्य राखेको हुन्छ ।

केन्द्रीय बैंकले अल्पकालीन ब्याजदर कसरी नियन्त्रण गर्दछ ?

बैंक तथा वित्तिय संस्थाहरुलाई छोटो अवधिको लागि तरलता-लगानी योग्य रकमको आवश्यकता भएमा अन्तर बैंक बजारबाट ऋण लिएर वा केन्द्रीय बैंकले संचालन गर्ने खुला बजार कारोबारमा सहभागी भएर उक्त आवश्यकता पुरा गर्दछन । एउटा बैंकले अर्को बैंकबाट अल्पकालीन ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई अन्तर बैंक ब्याजदर भनिन्छ ।

यदि बैंकहरुसंग तरलता अभाव छ भने यस्तो ब्याजदर बढ्दै जाने सम्भावना हुन्छ भने अधिक तरलताको समयमा यस्तो दर ज्यादै न्युन हुने सम्भावना हुन्छ । अन्तर बैंक ब्याजदरमा वृद्धि हुदै जादा बचत तथा कर्जाको ब्याजदर बढ्दै जाने तथा अन्तर बैंक ब्याजदर घट्दै गएमा बचत तथा कर्जाका ब्याजदरहरु समेत घट्दै जाने सम्भावना हुन्छ । ब्याजदरमा हुने उतारचढावले लगानीलाई हतोत्साहित गर्ने तथा वितीय क्षेत्रको स्थायित्वमा समेत चुनौती खडा गर्ने भएकाले अल्पकालीन ब्याजदरको उतारचढाव नियन्त्रण गरी ब्याजदर स्थायित्व प्रदान गर्नु केन्द्रीय बैंकको एक प्रमुख उदेश्य हो ।

ब्याजदर करिडोरले कसरी कार्य गर्दछ ?

ब्याजदर कोरिडोरमा अन्तर बैंक ब्याजदर तोकिएको दायरा बाहिर जाने सम्भावना भएमा केन्द्रीय बैंकले आवश्यकता अनुसार बैंकिंग प्रणालीमा तरलता प्रबाह गर्ने तथा उक्त प्रणालीबाट तरलता प्रसोचन गर्ने कार्य गर्दछ ।

नेपालको सन्दर्भमा हाल ब्याजदर करिडोरको माथिल्लो सीमा ५ प्रतिशत तोकिएको छ भने तल्लो सीमा १ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकको नीतिगत दर भने ३.० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको मुख्य ध्येय अल्पकालीन ब्याजदरलाई आफ्नो नीतिगत दर ३ प्रतिशतको वरिपरि अङ्कुशित गरेर राख्ने तथा अल्पकालीन ब्याजदर लाई १–५ प्रतिशतको दायरा भन्दा बाहिर जान नदिने रहेको हुन्छ ।

यदि बैंकिंग प्रणालीमा तरलताको अभाव भएमा अन्तर बैंक ब्याजदर ५ भन्दा माथि जाने सम्भावना हुन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले नितिगत् दरमा रिपो जारी गरी बैंकिंग प्रणालीमा तरलता प्रवाह गर्ने गर्दछ । यसले गर्दा अल्पकालीन ब्याजदर तोकिएकै सीमा भित्र रहन जान्छ ।

के अल्पकालीन ब्याजदरले दीर्घकालीन ब्याजदरलाई वान्छित मार्गमा डोर्याउन सक्दछ ?

अर्थतन्त्रमा मुद्रा बजार तथा पूँजी बजार विकशित तथा कुसल भएको अवस्थामा अल्पकालीन ब्याजदर तथा दिर्घकालीन ब्याजदरहरु एउटै दिशामा परिवर्तन हुन्छन् । जसले गर्दा अल्पकालीन ब्याजदरमा आउने परिवर्तनले दिर्घकालिन ब्याजदरलाई समेत सोही दिशामा डोर्याउने काम गर्दछ ।

नेपालमा करिडोर प्रभावकारी हुन नसक्नुको कारण के हो ?

अर्थतन्त्रमा मुद्रा बजार विकशित नभैसकेको हुँदा अल्पकालीन ब्याजदर तथा दिर्घकालीन ब्याजदरबीचको सम्बन्ध कमजोर छ । अर्थतन्त्रको वित्तीय संरचना बिकसित नभैसकेका कारण मुद्राको ब्याजदर प्रसारण संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन । ब्याजदर करिडोरको लागि ‘ओभरनाइट डिपोजिट फ्यासिलिटी’ को व्यवस्था गर्न सकिएको छैन । बाहय निर्भरता,सरकारी खर्च समयमा हुन नसक्ने समस्या तथा अन्य संरचनागत कारणले तरलताको प्रक्षेपण गर्ने कार्य चुनौतीपूर्ण छ ।

  • सिद्दराज भट्टको पेजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?