याङ्गुन । म्यानमारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर हिजो (बुधवार) एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो ।
अनलाइनमा सार्वजनिक तस्वीरहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ ।
हिजो (बुधवार)को हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यानमारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
उनले म्यान्मारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यान्मारमा जारी दमन तत्काल रोक्न आग्रह गरेका छन् ।
सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यानमारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताए ।
आज बिहीवार प्रदर्शनकारीहरुले याङ्गुन र मन्डाले शहरका साथसाथै अन्य शहर बजारमा जुलुस निकालेका छन् ।
सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै एक हजार ५०० प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ ।
सेनाले म्यानमारकी नेतृ आङ सान सुकी समेत उनको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो संख्याका नेता एवं कार्यकर्ता नजरबन्दमा राखेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया